+
+
Shares

विपद् व्यवस्थापनका लागि बागमती प्रदेश ‘युनिफाइड कमान्ड टिम’ गठन

शनिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा प्रदेशका सबै सुरक्षा निकाय, मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए । बैठकको मुख्य उद्देश्य विपद्को समयमा तत्काल उद्धार, राहत र समन्वयका लागि एकीकृत संयन्त्र तयार पार्नु रहेको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १७:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेश सरकारले अविरल वर्षाका कारण बढेको विपद्को जोखिमलाई मध्यनजर गर्दै ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको छ।
  • मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आकस्मिक बैठकले विपद्को समयमा उद्धार र राहतका लागि द्रुत प्रतिकार्य टोली गठन गरेको छ।
  • प्रदेश सरकारले जोखिममा रहेका विद्यालय र स्वास्थ्य चौकी वरिपरि माटो कटान नियन्त्रण र सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

१८ असोज, हेटौंडा। शुक्रबारदेखि परेको अविरल वर्षाले बागमती प्रदेशका पहाडी जिल्लाहरूमा बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढाएको छ। यस परिस्थितिमा प्रदेश सरकारले उच्च सतर्कता अपनाउँदै ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको छ ।

शनिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको आकस्मिक बैठकमा प्रदेशका सबै सुरक्षा निकाय, मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीहरू सहभागी थिए । बैठकको मुख्य उद्देश्य विपद्को समयमा तत्काल उद्धार, राहत र समन्वयका लागि एकीकृत संयन्त्र तयार पार्नु रहेको थियो।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री शिवराम अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार, आर्थिक मामिला, खानेपानी–सिँचाइ र वन तथा वातावरण मन्त्रीहरूलाई समावेश गर्दै द्रुत प्रतिकार्य टोली गठन गरेको छ।

मुख्यमन्त्री बानियाँले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय गरी ‘युनिफाइड कमान्ड टिम’ बनाएको जानकारी दिँदै कुनै पनि बेला विपद् परे तत्काल उद्धार र राहतका काम सुरु बताए ।

यस टोलीलाई विपद्को समयमा स्रोत–साधन परिचालन, उद्धार कार्यमा समन्वय र तत्काल निर्णय लिन जिम्मेवारी दिइएको उनको भनाइ छ । मुख्यमन्त्री बानियाँले सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, ललितपुर, दोलखा र रामेछाप जिल्लामा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। ‘विपद् कुनै बेला आउँछ भनेर थाहा हुँदैन । त्यसैले अग्रिम तयारीका सबै संयन्त्र सक्रिय बनाइएका छन् । हामी सधैं नागरिकको सुरक्षामा खटिनेछौं, उनले भने ।

बैठकले जोखिममा रहेका विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवन वरिपरिको जमिनमा माटो कटान नियन्त्रण गर्ने कार्य अघि बढाउने निर्णय पनि गरेको छ। विद्यालय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि शिक्षक र विद्यार्थीमार्फत सचेतना अभियान चलाउने तयारी भइरहेको जानकारी दिइएको थियो ।

यस्तै प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘जिल्ला विपद् व्यवस्थापन समिति’ सक्रिय बनाउने निर्णय गरिएको छ भने समितिहरू अन्तर्गत सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवक परिचालन गरिनेछ ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री अधिकारीले विपद् व्यवस्थापन कोषबाट तत्काल रकम प्रयोग गर्न सकिने जानकारी दिए । साथै, जिल्लास्तरीय सुरक्षा संयन्त्रसँग प्रत्यक्ष समन्वय गरी जनजीवन र सम्पत्तिको क्षति हुन नदिन निर्देशन जारी गरिएको उनको भनाई थियो ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आवश्यक परे थप स्रोत परिचालन गर्न तयार रहेको उल्लेख गर्दै राहत सामग्री खरिद र ढुवानीका लागि तत्काल बजेट विनियोजन गर्न सकिने बताए ।

यता भौतिक पूर्वाधार मन्त्री डा. देवकोटाले प्रदेश अन्तर्गतका प्रमुख राजमार्ग र ग्रामीण सडकमा पहिरो हटाउन हेभी इक्विपमेन्ट तयारी अवस्थामा राखिएको जानकारी दिए । उनका अनुसार बिशेष गरि हेटौँडा–काठमाडौँ, हेटौँडा–भीमफेदी–कुलेखानी र सिंक्ले–काभ्रे सडकखण्डलाई ध्यान दिइएको छ ।

मुख्यमन्त्री बानियाँले बैठकको अन्तिममा प्रदेश बासीलाई अपिल गर्दै उच्च सतकर्ता अपनाउन आग्रह गरेका छन् । ‘प्रदेश सरकार प्रदेशवासीको सुरक्षाको लागि चौबिसै घण्टा सक्रिय छ । विपद्को बेला हामी तपाईंहरूसँगै छौं । सुरक्षा र राहतका काममा कुनै सम्झौता हुँदैन । तपाईंहरू सतर्क रहनुहोस् र अत्यावश्यक कामबाहेक यात्रा नगर्नुहोस्’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?