+
+
Shares

बीपी राजमार्ग हुँदै गन्तव्यमा हिँडेका ९५४ यात्रु रोकिए, उद्धारमा प्रहरी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते २१:४६

१८ असोज, हेटौंडा । निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले बीपी राजमार्ग अवरुद्ध बनेसँगै गन्तव्यमा हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार साँझसम्म बीपी राजमार्ग हुँदै गन्तव्यमा हिँडेका ४ सय ५२ महिला र ५ सय २ पुरुष गरी ९५४ जना यात्रु रोकिएका हुन् । बीपी राजमार्गअन्तर्गत् काभ्रेतर्फ १२ जना महिला र २७ जना पुरुष गरी ३९ जना यात्रु इलाका प्रहरी कार्यालय मंगलटार, काभ्रेमा रोकिएका हुन् । ३९ जना सबै साना सवारीसाधनमा यात्रारत रहेको प्रहरीले उल्लेख गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सिन्धुलीमा ठूलो संख्यामा यात्रुहरु रोकिन पुगेका छन् । सिन्धुलीको ढुंगेबासदेखि दुम्जासम्म गरेर ९१५ जना यात्रुहरु रोकिएका हुन् । बसमा यात्रा गर्ने ५०० जना, सानो सवारीमा यात्रा गर्ने ३ सय र दुई पांग्रे सवारीमा यात्रा गर्ने १ सय २५ जना यात्रु रोकिएको प्रहरीले जनाएको छ ।

वर्षाका कारण बाढीले बीपी राजमार्ग अवरुद्ध बनेको छ । गत १०–१२ असोजमा भएको बाढीले सडक बगाएपछि बनाइएको डाइभर्सनहरु पुन: बगाएसँगै गन्तव्यमा हिँडेका यात्रुहरु बिखलबन्दमा परेका हुन् । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ स्थान भन्दा बढी ठाउँमा रोशी खोलाले राजमार्गले बगाएको छ ।

उनका अनुसार रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी–७ को घुमाउने, रोशी–८ को चारसयबेशी मुनिको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी–९ को नार्के र बोक्सीकुना, रोशी–११ को डालाबेशी, पिप्ले र डालावेशीको बिचको भाग बुलढुंगा, रोशी–११ पिप्ले, रोशी–१२ माम्तीमा बीपी राजमार्ग कटान भएको प्रहरी निरीक्षक कार्कीले जनाए ।

यसैगरी, बागमती प्रदेशको १३ वटै जिल्लामा वर्षा भएको छ । वर्षाका कारण मकवानपुर, चितवन र धादिङमा गरेर ६ ठाउँमा पहिरो गएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकमा जमिन भासिएको र काभ्रेमा बाढीले सडक बटान गरेको छ ।

प्रदेश प्रहरीका अनुसार सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र काभ्रेको १–१ ठाउँमा र मकवानपुरको २ ठाउँमा दुवैतर्फबाट सडक अवरुद्ध भएको छ । वर्षाका कारण आएको बाढी र पहिरोले आज साँझसम्म कुनै मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

बागमती प्रदेशभर १ सय १२ वटा स्थानमा ९ सय ९२ जना प्रहरी विपद् उद्दारका लागि खटाइएको प्रहरी कार्यालयले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?