+
+
Shares

इरानी संसद्‌बाट मुद्रा पुनर्मूल्यांकन अनुमोदन, बैंक नोटबाट चार शून्य हटाइने

अहिले खुला बजारमा १ अमेरिकी डलर किन्न ११ लाख ५० हजार इरानी रियाल खर्च गर्नुपर्छ । यो समस्याका कारण इरानी जनतालाई आफ्ना हिसाबकिताब राख्न र वित्तीय विवरण सम्झिन धेरै नै समस्या हुँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते २०:४२

१९ असोज, काठमाडौं । वर्षौंदेखिको उच्च महँगीबाट त्राण पाउन इरानको संसद्ले मुद्रा पनुर्मूल्यांकन गर्न सरकारलाई अनुमति दिएको छ ।

संसद्ले इरानको राष्ट्रिय मुद्रा रियालबाट चार वटा शून्य हटाउन अनुमति दिएसँगै पुनर्मूल्यांकनको बाटो खुलेको बेलायती समाचार संस्था रोयटर्सले समाचार लेखेको छ ।

दशकौंदेखिको चरम महँगीबाट राहत हुने गरी कारोबार सहज बनाउने उद्देश्यले मौद्रिक सुधारका लागि संसद्ले आगामी केही वर्षसम्म रियालबाट चार शून्य हटाउन स्वीकृति दिएको हो ।

इरानमा वर्षौंदेखि ३५ प्रतिशतभन्दा बढी दरको महँगी छ । यो महँगी दरका कारण इरानी मुद्रा रियालको भाउ अमेरिकी डलरको तुलनामा गम्भीर हिसाबले कमजोर बनेको छ ।

अहिले खुला बजारमा १ अमेरिकी डलर किन्न ११ लाख ५० हजार इरानी रियाल खर्च गर्नुपर्छ । यो समस्याका कारण इरानी जनतालाई आफ्ना हिसाबकिताब राख्न र वित्तीय विवरण सम्झिन धेरै नै समस्या हुँदै आएको छ ।

मुद्रा पुनर्मूल्यांकनका लागि वर्षौंदेखि काम भइरहेको विधेयकबारे संरक्षक परिषद्का प्रश्नहरूको समाधान संसद्ले गरेपछि यो विधेयक अनुमोदन भएको खबर सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेका थिए ।

‘इरानी मुद्रा रियाल नै रहिरहन्छ तर यो परिवर्तन रातारात भने हुँदैन,’ इरानी संसद्को आर्थिक आयोग प्रमुख समसोल्दिन होसेनले सरकारी टेलिभिजनसँग भने, ‘केन्द्रीय बैंकसँग मुद्रा पुनर्मूल्यांकनका लागि आधार तयार गर्न दुई वर्षको समयसीमा छ, त्यसपछि अर्को तीन वर्षको संक्रमणकालीन अवधि हुनेछ र त्यसबेला दुवै मूल्य प्रयोग हुनेछन् ।’

संसद्को यो कदमले कारोबार र गणनामा रियाल प्रयोग गर्न धेरै नै सजिलो बनाउने आयोग प्रमुख होसेनको भनाइ छ । चरम महँगीका कारण बैंक नोटको उपयोगितामा गम्भीर किसिमले ह्रास आएको उनले बताए । यद्यपि, संसद्को यो कदम विवादास्पद रहेको छ ।

‘बैंक नोटबाट चार शून्य हटाएर रियालको प्रतिष्ठा पुनर्जीवित हुँदैन, बरु मुद्राको वास्तविक मूल्य बलियो बनाएर मात्र त्यो काम गर्न सकिन्छ,’ इरानी सांसद होसेन सामसामीलाई उद्धृत गर्दै आइतबार इरानी विद्यार्थी समाचार एजेन्सीले भनेको छ ।

इरानले वर्षौंदेखि ५०, १ सय, २ सय ५०, ५ सय, १ हजार, २ हजार र ५ हजार दरका सिक्का टंकण गर्दै आएको छ भने १ सय, २ सय, ५ सय, १ हजार, २ हजार, ५ हजार, १० हजार, २० हजार, ५० हजार र १ लाख दरका बैंक नोट छाप्दै आएको छ ।

चरम महँगी सामना गर्नुपर्दा धेरै देशले आफ्ना राष्ट्रिय मुद्राबाट शून्य हटाउन खोजेका छन् । भेनेजुएलाले पछिल्ला वर्षहरूमा धेरै मौद्रिक सुधार गरे पनि उच्च दरको महँगीबाट पार पाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?