
२२ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेको गएको बताएका छन् । उनका अनुसार राष्ट्रसामु नयाँ चुनौती थपिएको छ, तर त्यसको सामना गर्नुको विकल्प छैन ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन ।’
एमालेले दुई दलीय शासन व्यवस्थाको वकालत गर्दै आएको छ । विषेशगरी एमालेका महासचिव पोख्रेलले दुई दलीय प्रणाली स्थापित गर्नुपर्ने बताउने गरेका छन् ।
कार्यकर्तामाझ उनले निर्णायक राष्ट्रिय शक्ति निर्माण अन्तर्गत ‘दुई दलीय प्रणाली एमालेको अबको बाटो’ भन्ने गरेका छन् ।
८ असार २०८१ मा गृह जिल्ला दाङ पुगेर महासचिव पोखरेलले दुई वटा ठूला दलको पक्षमै बोलेका थिए ।
यो विषयलाई एमालेले २०७९ को आम चुनावमै समेत उठाएको थियो । १५ फागुन २०७८ मा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताएका थिए ।
‘जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा’, उनले भनेका थिए, ‘यसलाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणाली टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ ।’
जेनजीको आन्दोलनपछि बदलिएको परिस्थितिमा पनि महासचिव पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताएका हुन् ।
प्रतिक्रिया 4