+
+
Shares

भूमि पेडनेकरलाई सताएको छालासम्बन्धी समस्या ‘एक्जिमा’ के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री भूमि पेडनेकरले आफ्नो छालासम्बन्धी समस्या एक्जिमा अनुभव गरेको इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छिन्।
  • एक्जिमा छाला सुख्खा हुने, चिलाउने र फाट्ने समस्या हो जसका विभिन्न प्रकार छन् र उपचारमा स्टेरोइड औषधि र मोइस्चराइजेशन आवश्यक छ।

बलिउड अभिनेत्री भूमि पेडनेकरले केही समयअगाडि आफ्नो छालासम्बन्धी समस्या ‘एक्जिमा’ को अनुभव सार्वजनिक गरेकी थिइन् । उनले इन्स्टाग्राम स्टोरीमार्फत यो रोगले आफूलाई निकै असुविधा पुर्‍याउने गरेको बताएकी थिइन्।

भूमिले इन्स्टाग्राममा लेखेकी थिइन् ‘जब म यात्रा गर्छु, खानपान बिग्रन्छ वा तनावमा पर्छु , तब मेरो एक्जिमा बढ्छ । यसले धेरै पीडा र असुविधा दिन्छ।’

उनले चाँडै नै यसबारे विस्तृत रूपमा बोल्ने प्रतिबद्धता पनि गरेकी थिइन्।

एक्जिमा के हो ?

यूकेको नेशनल हेल्थ सर्भिस (एनएचएस) का अनुसार, एक्जिमा एउटा छालाको समस्या हो जसमा छाला सुख्खा हुने, चिलाउने र कहिलेकाहीँ फाट्ने गर्छ।

छाला रोग विशेषज्ञका अनुसार, यसका विभिन्न प्रकार हुन्छन् । यो समस्या वंशाणुगत कारणले वा शरीरमा आवश्यक भिटामिनको कमीका कारण देखिन सक्छ। त्यस्तै, एक्जिमामा छाला सुख्खा हुने, कहिलेकाहीँ रगत आउन सक्ने अवस्था पनि हुन्छ । साथै, कपडा, जुत्ता वा अरू वस्तुको सम्पर्कबाट पनि एक्जिमा हुने सम्भावना हुन्छ।

एक्जिमाका प्रकार

एनएचएसका अनुसार, एक्जिमाका मुख्य प्रकार यस्ता छन्:

एटोपिक एक्जिमा : यो प्रायः बच्चामा देखिन्छ । छाला सुख्खा र चिलाउने समस्या हुन्छ । पूर्णरूपमा निको नभए पनि औषधि र हेरचाहले नियन्त्रण गर्न सकिन्छ।

भरिकोज एक्जिमा : यो खुट्टाको तल्लो भागमा हुन्छ र लामो समयसम्म रहिरहन्छ । यसले छाला सुकेर फुस्रो पार्छ र रङ परिवर्तन गर्न सक्छ।

डिस्कोइड एक्जिमा : छाला गोल वा अण्डा आकारमा फाट्ने हुन्छ । सुन्निने र चिलाउने लक्षण देखिन्छ ।

कन्ट्याक्ट एक्जिमा : कुनै वस्तुको सम्पर्कबाट हुन्छ । यसमा छालामा चिलाउने, फाट्ने र फोका आउन सक्ने हुन्छ ।

लक्षण र उपचार

एक्जिमा कुनै पनि उमेरमा सुरू हुन सक्छ, तर प्रायः बालबालिकामा देखिने र उमेरसँगै सुधार हुने गर्छ । यसको लक्षणमा छाला सुख्खा हुनु, चिलाउनु, फाट्नु, फुस्रो हुनु, रङ परिवर्तन हुनु, फोका आउनु वा रगत आउनु हो ।

छाला रोग विशेषज्ञहरूका अनुसार, उपचारमा आवश्यकताअनुसार स्टेरोइड औषधि प्रयोग गरिन्छ । तर, सबैभन्दा महत्वपूर्ण भनेको निरन्तर मोइस्चराइजेशन हो । शरीरमा कमी भएको तत्वलाई पूरा गर्नु पनि जरुरी हुन्छ।

त्यस्तै, एक पटक यो समस्या भएपछि यसको कारण पत्ता लगाएर सावधानी अपनाउनुपर्छ । साथै बिरामीसँग अरू गम्भीर समस्या त छैन भनेर पनि जाँच्नुपर्ने हुन्छ।

भूमि पेडनेकरको फिल्मी यात्रा

भूमिले आफ्नो फिल्मी करियरको सुरुवात सन् २०१५ मा आयुष्मान खुरानासँगको फिल्म ‘दम लगा के हईशा’ बाट गरेकी थिइन्। यस फिल्मका लागि उनले तौल बढाउनुपरेको थियो, जसका कारण पनि उनी धेरै चर्चामा आएकी थिइन्।

त्यसपछि उनले ‘ट्वाइलेट : एक प्रेम कथा’, ‘शुभ मंगल सावधान’, ‘सोनचिड़िया’, ‘साण्डकी आँख’, ‘भीड़’, ‘भक्षक’ लगायतका फिल्ममा अभिनय गरिन्। हालै उनी नेटफ्लिक्समा आएको सिरिज ‘द रॉयल्स’ मा देखिएकी थिइन्।

भूमि प्रायः सामाजिक सन्देश दिने खालका फिल्ममा देखिने गर्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?