+
+
Shares

मूल्य वृद्धिविरुद्ध आक्रोशित प्रदर्शनकारीले इक्वेडरका राष्ट्रपतिमाथि गरे आक्रमण

राष्ट्रपति नोबोआ मध्य इक्वेडरमा पानी प्रशोधन संयन्त्रको उद्घाटन कार्यक्रममा सहभागी भएको बेला करिब पाँच सय प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै ढुङ्गा प्रहार गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इक्वेडरका राष्ट्रपति डेनियल नोबोआमाथि मङ्गलबार प्रदर्शनकारीले ढुङ्गामुडा र गोली प्रहार गरेको आशंका गरिएको छ।
  • राष्ट्रपति नोबोआले डिजेल अनुदान कटौती गरी करिब एक अर्ब डलर सरकारी खर्चमा बचत गरेका छन्।
  • प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै १६ जना सैनिक अपहरण गरेका थिए र अहिले उनीहरू सकुशल रिहा भएका छन्।

२२ असोज, क्विटो। इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ आफ्नो मोटरकाडमाथि ढुङ्गामुडा प्रहार भएको छ । उनलाई गोली पनि प्रहार गरेको आशंका गरिएको छ ।

भिडको आक्रमणबाट बचेर उनी सुरक्षित स्थानमा पुगेका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शनकारीहरूले मङ्गलबार उनको सवारीमाथि आक्रमण गरेका थिए ।

राष्ट्रपति नोबोआ मध्य इक्वेडरमा पानी प्रशोधन संयन्त्रको उद्घाटन कार्यक्रममा सहभागी भएको बेला करिब पाँच सय प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै ढुङ्गा प्रहार गरेका थिए ।

वातावरण मन्त्री इनेस मन्जानोका अनुसार राष्ट्रपतिको गाडीमा गोलीका निशानहरू भेटिएका छन् । उनले पाँच जनालाई पक्राउ गरिएको र तिनीहरूलाई आतङ्कवादको मुद्दामा कारबाही हुने बताए । यस्तो कारबाही भएमा प्रदर्शनकारीहरूलाई ३० वर्षसम्म जेल सजाय हुनसक्छ ।

मन्त्री मन्जानोले भने, ‘यस प्रकारका हिंसात्मक प्रदर्शनहरू स्वीकार्य होइनन् । हामीलाई शान्तिपूर्ण विरोध चाहिएको हो ।’

सरकारद्वारा जारी गरिएको भिडियोमा प्रदर्शनकारीहरू सडकमा झण्डा बोकेर ढुङ्गा र इँटा सङ्कलन गर्दै राष्ट्रपतिको गाडीमा प्रहार गरिरहेको देखिन्छ । भिडियोमा ‘तल झर !’ भन्ने आवाजसँगै मोटरकाड तीव्र गतिमा अघि बढेको सुन्न सकिन्छ ।

अधिकारीहरूले राष्ट्रपति सवार बख्तरबन्द शेभ्रोलेट उपनगरीयमा लागेको केही निशान गोलीका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएका छन् ।

यो आक्रमण डिजेलको मूल्यवृद्धिविरुद्ध बढ्दै गएको आन्दोलनका बीच भएको हो । प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै १६ जना सैनिकलाई अपहरण गरेका थिए । उनीहरूलाई पछि सकुशल रिहा गरिएको छ ।

इक्वेडरको सबैभन्दा ठूलो आदिवासी सङ्गठनले हालैको र्‍यालीमा सुरक्षा निकायको गोलीबाट एक प्रदर्शनकारीको मृत्यु भएको दाबी गरेको छ । हालसम्म प्रदर्शनमा एक सयभन्दा बढी घाइते भएका छन् ।

राष्ट्रपति नोबोआले हिंसात्मक परिस्थितिलाई नियन्त्रणमा लिन विभिन्न प्रान्तमा आपत्काल घोषणा गरेका छन् ।

आदिवासी सङ्घ–कन्फेडेरेसन अफ इन्डिजिनियस नेसनालिटीज अफ इक्वेडर–ले भने राष्ट्रपतिको सवारी ‘प्रतिरोध क्षेत्रमा प्रवेश गरेर’ झडप उत्पन्न भएको र सरकार ‘युद्ध नीति’ लाई औचित्य दिने प्रयासमा रहेको आरोप लगाएको छ ।

सङ्गठनले ‘न्याय र सम्मानका साथ सङ्कट समाधान गर्न’ आग्रह गरेको छ ।

नोबोआको कार्यालयले सामाजिक सञ्जालमा आक्रमणपछि ‘कायरतापूर्ण कार्यहरूले राष्ट्रपतिलाई रोक्न नसक्ने’ बताउँदै वक्तव्य जारी गरेको छ । उनले पनामा, कोस्टा रिका, पेरु र बोलिभियालगायत छिमेकी मुलुकहरूबाट प्राप्त समर्थन र एकताको सन्देशको कदर गरेका छन् ।

हालै पुनः निर्वाचित राष्ट्रपति नोबोआले सरकारी खर्चमा करिब एक अर्ब डलर बचत गर्न डिजेल अनुदान कटौती गरेका छन् । यसको ठूलो भाग राष्ट्रिय सुरक्षा कोषमा विनियोजन गर्न लागिएको छ ।

कुनै समय ल्याटिन अमेरिकाको सबैभन्दा सुरक्षित देश मानिने इक्वेडर पछिल्ला वर्षहरूमा हिंसाको भयानक वृद्धिले त्रसित बनेको छ । कोलम्बिया र पेरु दुवै प्रमुख कोकेन उत्पादक राष्ट्रबीचको भौगोलिक अवस्थाका कारण इक्वेडर हाल लागुऔषध तस्करीको प्रमुख मार्ग बनेको छ ।

अधिकारीहरूले अपराधी गिरोहहरूले विरोध प्रदर्शनलाई अस्थिरता फैलाउने साधनका रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

अनुमान अनुसार, विश्वको करिब ७० प्रतिशत कोकेन आपूर्ति इक्वेडर हुँदै जान्छ । यसको ठूलो हिस्सा संयुक्त राज्य अमेरिकातर्फ पठाइन्छ । यस अवैध व्यापारमा मेक्सिकोको सिनालोआ कार्टेल, इटालीको न्ड्राङ्गेटा र अल्बानियाको माफियासहितका अन्तर्राष्ट्रिय आपराधिक सञ्जालहरू संलग्न छ

न् । तस्करी मार्गमा नियन्त्रणका लागि भइरहेको तीव्र प्रतिस्पर्धाले इक्वेडरलाई अहिले क्षेत्रको सबैभन्दा खतरनाक देशमध्ये एक बनाइदिएको छ ।

राष्ट्रपति नोबोआले सन् २००९ मा लगाइएको विदेशी सैन्य आधार प्रतिबन्ध हटाउने र अमेरिकी सेनालाई पुनः देशमा फिर्ता ल्याउने प्रस्तावसहित जनमत सङ्ग्रहको आह्वान गरेका छन् । एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?