
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथामा आधारित रहेको बताउनुभयो।
- फिल्ममा दयाहाङ established पात्र र विजय बरालले चुनौती दिने रोल निभाएका छन् भने समृद्धी अर्यालले प्रभावशाली भूमिका रहेको बताउनुभयो।
- ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीकामा रिलिज हुने र सुरेन्द्र पौडेलले निर्देशन गरेको छ।
काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथामा आधारित रहेको बताएका छन् ।
फिल्मबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । इज्जत बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा यसमा हुने उनले बताए ।
फिल्ममा अभिनेता राईले स्थापित भइसकेको पात्रको भूमिका निर्वाह गरेका छन् भने अभिनेता विजय बरालले उनलाई चुनौती दिने रोल गरेका छन् ।
भित्री रुप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने दयाहाङ बताउँछन् । ‘मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो’ उनी भन्छन्, ‘यो चलचित्रमा यही कुरा छ । मेरो चरित्र पनि त्यही हो ।”
अभिनेता बरालले यो फिल्म सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको बताउँछन् । व्यक्तिमा रहेको सोचबीचको टकराब फिल्मको मूल कथा रहेको उनले बताए ।
‘पात्र कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने सिनेमा रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही कुरा थाहा होला’ विजय भन्छन्, ‘तर, चलचित्रमा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ ।’
उनले सिनियर कलाकार दयाहाङसँग सिनेमामै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाए । ‘अग्रज र मैले मान्ने भएकाले दाई के गरौँ, कसरी गरौँ भन्थेँ । दाइले अप्ठ्यारो नमान, यसरी गर भनेपछि, म गर्थें,” विजय भन्छन्, “अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुनेरहेछ ।”
दयाहाङले भने सेटमा व्यक्ति भन्दा पनि चरित्र हुने भएकाले को सिनियर र जुनियर भन्न नहुने बताउँछन् । आफूले पनि ‘दासढुंगा’मा गुरु अनुप बरालसँग यस्तै रोलमा काम गरेको उनले स्मरण गरे ।
‘उहाँले चरित्रमा गुरुचेला हुँदैन, भडाँस पोख्ने मौका पनि यही हो भन्नुभयो’ दयाहाङ भन्छन्, ‘भडाँस पोख्ने भनेर चरित्रभन्दा माथि चाहिँ जानु भएन । चरित्र निभाउन हिचकिचाहट मान्नु हुँदैन ।’
अभिनेत्री समृद्धी अर्याललले आफू फिल्ममा देखावटी उपस्थिती मात्र नरहेको बताउँछिन् । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ ।
‘म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धी भन्छिन्, ‘दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ ।’ ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले आफ्नो फिल्म करिअरमा सहयोग गर्ने उनको भनाइ छ ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । फिल्ममा पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप चौधरीको अभिनय छ ।
पटकथा महेश दवाडीले लेखेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।
प्रतिक्रिया 4