+
+
Shares
विश्व हुलाक दिवस :

नेपालको हुलाक सेवा सुधारका ९ आधार

अझै पनि धेरै मानिसहरूलाई थाहा छैन होला हुलाकले चिठ्ठीपत्रमात्र होइन सामान पनि आदानप्रदान गर्दछ ।

चिन्तामणि रेग्मी चिन्तामणि रेग्मी
२०८२ असोज २३ गते १७:०९

आज १५१ औँ विश्व हुलाक दिवस हो । केही वर्षअघिसम्म पनि सूचना आदानप्रदानको मुख्य आधार हुलाक नै थियो । प्रियजनका सन्देशका लागि व्यग्रताका साथ हुलाकी पर्खिरहेका दृष्य हाम्रो स्मृति पटलमा अझै ताजै छन् ।

समयसँगै एकातिर प्रविधिको विकास भयो, अर्कोतिर नेपालको हुलाक सेवालाई समयानुकुल प्रविधिमैत्री बनाउनेतर्फ ध्यान गएन। जसका कारण आज नेपालको हुलाक सेवा डेट एक्सपायर बनिसकेको चर्चा हुन थाल्यो। तर, यसको सान्दर्भिकता सकिएको छैन ।

नेपालको हुलाक सेवा ऐतिहासिक र आवश्यक सार्वजनिक सेवा हो, जसले देशका दुर्गम र शहरी दुवै क्षेत्रमा सञ्चार तथा सामान ढुवानीको माध्यमको रूपमा भूमिका खेलेको छ। वि।स। १९३५ मा नेपाल हुलाक घरको नामबाट शुरु भएको हुलाक सेवा १४७ वर्षमा प्रवेश गरेको छ ।

हुलाक सेवाको इतिहास हेर्दा नेपालले वि.सं २०१३ असोज २६ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेको थियो भने २०२८ सालमा हुलाक सेवा विभागको स्थापना भई नेपालमा हुलाक सेवाको सञ्चालन र व्यवस्थापन गर्दै आइराखेको छ ।

तर, पछिल्लो समय निजी कुरियर सेवा र डिजिटल सञ्चारका विकल्पहरू बढेसँगै सरकारी हुलाक सेवा प्रतिस्पर्धात्मक क्षमतामा कमजोर हुँदै गएको देखिन्छ। यसका पछाडी निम्न कारणहरू जिम्मेवार छन् :

· ढिलो डेलिभरी, सेवाप्रतिको विश्वसनीयता कमजोर

· प्रविधिको प्रयोग कमजोर

· ग्रामिण क्षेत्रमा कमजोर पहुँच

· निजी कुरियरसँग प्रतिस्पर्धा गर्न नसक्नु

· पार्सल गुम्ने, क्षति पुग्ने गुनासो

· कर्मचारीमा दक्षताको अभाव

· कमजोर ग्राहक सेवा

· पुराना ऐन कानुन समयानुकुल परिवर्तन हुन नसक्नु

· अन्तरनिकाय सहयोग र समन्वय कमजोर आदि ।

माथि उल्लेखित समस्याहरूको परिप्रेक्ष्यमा रहेर हुलाक सेवालाई छिटोछरितो, गुणस्तरीय, पारदर्शी, प्रतिस्पर्धि र डिजिटल पहुँचसहितको भरपर्दो र विश्वसनीय सेवाको रूपमा रुपान्तरण गर्न निम्न कामहरू गर्नैपर्ने देखिन्छ।

१. हुलाक वस्तु बोक्ने आफ्नै गाडीः हुलाक सेवाको सुधारका लागि पहिलो खुड्किलो भनेको समयमै डेलिभरीको सुनिश्चितता हो अन्यथा हुलाकप्रतिको विश्वसनियता कायम रहँदैन ।

हामीले अहिले पनि नेपालमा ४५ जिल्लामा मात्र द्रुत डाँक सेवा सञ्चालन गर्न सकेका छौं। निजी कुरियरभन्दा अब्बल रहन र नागरिकको विश्वास जित्दै समयसापेक्ष हुलाकको रुपान्तरण गर्नका लागि हामीले देशभर आफ्नै गाडी सञ्चालन गर्नुपर्ने जरुरी देखिन्छ, जसले हुलाक वस्तुमात्र बोकोस ।

यसका लागि २०र२२ ओटा गाडी भए पुग्छ। जहाँ एउटा गाडीले २४ घण्टाको दुरीभित्रका समग्र जिल्लाहरूलाई समेटी हुलाक वस्तु आदानप्रदान गरोस्।

जस्तै- चितवनदेखि पूर्वका जिल्लाका लागि एउटा गाडी, चितवनदेखि नेपालगञ्जसम्म एउटा गाडी, नेपालगञ्जदेखि कञ्चनपुरसम्मका लागि एउटा गाडी ।

यी ३ वटा गाडीले लगभग तराईका सबै जिल्ला समेट्ने भए अनि ती गाडीले ल्याउने हुलाक वस्तु चितवनमा संकलन गरी चितवनबाट काठमाडौं पुर्याउने व्यवस्था मिलाउने ।

यसरी अधिकतम ३ दिनमा हुलाक वस्तु काठमाडौं पुर्याउन सकिन्छ । त्यसैगरी उक्त रुटमा हुलाक वस्तु २४ घण्टाभित्र पुर्याउने गरी पहाडी हुँदै हिमाली जिल्लासम्म आवश्यकता अनुरूप २-३ वा अझ बढी जिल्ला समेट्ने गरी डाँक बोक्ने गाडी सञ्चालन गर्ने । एउटा उदाहरणको रूपमा दाङको लमहीदेखि सल्यान, रुकुम-पश्चिम हुँदै रुकुम-पूर्वसम्म एउटा गाडी सञ्चालन गर्न सकियो ।

२. सामान आदानप्रदानमा जोड तथा प्रचारप्रसारः अझै पनि धेरै मानिसहरूलाई थाहा छैन कि हुलाकले चिठ्ठीपत्रमात्र होइन सामान पनि आदानप्रदान गर्दछ ।

नेपालमा हुलाकले पार्सलरपुलिन्दाको नामबाट २० केजीसम्मको कानुनले निषेध गरेवाहेकका जुनसुकै सामान देश तथा विदेशका कुनाकुनामा पठाइराखेको छ, त्यो पनि सर्वसुलभ दरमा । अझ एउटा रोचक कुरा यहाँहरू माझ अवगत गराउन चाहन्छु ।

हाल विदेश पठाउने कतिपय सामान पठाउन यहाँहरू आफ्नो पायक पर्ने स्थानका निजी कुरियरमा गएर दर्ता गर्नुहुन्छ ती कुरियरले काठमाडौंबाट गोश्वारा हुलाक कार्यालयमार्फत विदेश सामान पठाइराखेका हुन्छन् ।

नेपालको हुलाक सेवा डिजिटल युगमा पनि जनमैत्री, दक्ष र विश्वसनीय बनाउनु आजको आवश्यककता हो । विश्वका सफल हुलाक सेवाबाट सिकेर नेपाली सन्दर्भ अनुसार अनुकुल सुधारहरू लागू गरिए यो सेवा पुनः गौरवशाली बनाउन सकिन्छ ।

हाम्रो देशमा हुलाक सेवाको सञ्जाल वडातहसम्मै फैलिएको छ । यस्तो अवस्थामा हामीले घरदैलो सेवा प्रदान गरेर मानिसले पठाउने सामान संकलन तथा वितरण गर्न सक्यौ भने हुलाक सेवाको विश्वसनियतासँगै व्यावसायिकता समेत बृद्धि हुने थियो ।

यहाँनेर एउटा गाठो फुकाउनुपर्ने कुरा चाही के छ भने पार्सलरपुलिन्दा पठाउदा भन्सार एजेन्टको सामानको चेकजाँच तथा महसुल निर्धारण गर्ने अधिकार हुलाक अधिकृतलाई प्रत्यायोजन गर्नेगरी कानुनमा संशोधन गर्न सकेमा नागरिकले छिटो छरितो र आरामदायी सेवा पाउने अवस्था देखिन्छ ।

३. चिठ्ठी लेखन संस्कृतिको विकासः हराउँछ फोनको आवाज छिनभरमै अनि म्यासेज मेटिन्छ, अविश्मरणीय मायाका कोशेली चिठ्ठीपत्रमै भेटिन्छू भन्ने नाराका साथ चिठ्ठी लेख्ने संस्कृतिको विकास गर्न आवश्यक छ ।

हाम्रो छिमेकी देश भारतमा हुलाक सेवाले सयौं वर्षदेखि पत्र आदानप्रदान गरी मानिसहरूलाई परिवारसँग जोड्ने काम गरिरहेको छ भने युक्रेनी हुलाक सेवाले युद्धको बीचमा पनि सेना र परिवारबीच सन्देश आदानप्रदानको व्यवस्था गरेको पाइन्छ ।

पत्रमार्फत भावनात्मक गहिराइमा पुगेर मनभित्र कुण्ठित माया, ममता, स्नेह, खुसी, विश्वास, रोदन पोख्न सकिन्छ जुन फोनमार्फत पोख्न नसकिन सक्छ ।

पत्रव्यवहारले दीर्घकालीन स्मृति गराउनुका साथै पारिवारीक बिखण्डनलाई रोक्न समेत मद्दत गर्दछ। पत्रमार्फत प्रत्यक्ष भेटेर भन्न नसकेका कुराहरू समेत सहजै अभिव्यक्त गर्न सकिन्छ ।

पत्रमार्फत एउटा विद्यार्थीले आफ्नो गुरुलाई, एउटा नागरिकले आफ्नो प्रतिनिधिलाई, एउटा सेवाग्राहीले आफ्नो सेवा प्रदायक निकायको कर्मचारीलाई प्रत्यक्ष रूपमा भन्न नसकेका उपयोगी सल्लाह, सुझाव, बधाई, धन्यवाद, आलोचना सजिलै अभिव्यक्त गर्न सक्दछन । त्यस्तै, चिठ्ठी लेखनले हाम्रो सिर्जनशिलता तथा पठन संस्कृतिको विकासमा पनि उल्लेखनीय भूमिका खेल्दछ ।

यसकारण चिठ्ठी लेखनलाई विद्यालयस्तरको पाठयक्रममा समावेश गरी एकपटक हुलाक मार्फत चिठ्ठी पठाउने कार्यलाई प्रयोगात्मक अभ्यासको रूपमा राखेर लागू गर्न सकेमा विद्याथीहरूलाई हुलाक सेवाको महत्वबारेमा बुझाउन सकिन्छ । किनकि, भोलिका हुलाक सेवाको सफलताका निर्धारक आजका विद्यार्थीहरू नै हुनेछन् ।

४. हुलाक सेवाको विविधीकरणः समय गतिशील छ, परिवर्तनशील छ। समयक्रमसँगै आफूलाई अनुकुलन गर्न नसक्ने सबैको अस्तित्व लोप भएर जान्छ, चाहे त्यो कुनै प्राणी होस् वा कुनै संस्था । हाल हुलाक सेवा पनि गम्भीर अवस्थामा छ ।

अबको यसको यात्रा भनेको या त व्यावसायिता वा विलयमध्ये एक हो। यसको व्यावसायिक यात्राको एकमात्र उपाय भनेको सेवाको विविधीकरण नै हो । सूचना प्रविधिको तीब्र विकास र विस्तार सँगसँगै चिठ्ठीको भोलुम निकै कम भएको र हिजो सञ्चालित हुलाक बचत बैंक खारेज भएसँगै अब हुलाकले आफ्नो अस्तित्व रक्षाका लागि सेवा विस्तार गर्नु अहिलेको टड्कारो आवश्यकता हो।

विदेशतिर पोष्टल सर्भिसले नगरेको काम सायदै होला । अमेरिकामा ूबुक्स बाई मेलू कार्यक्रम अन्तर्गत ग्रामिण क्षेत्रमा बस्ने बालबालिकालाई पुस्तक पठाउने काम युनाइटेड स्टेट्स पोष्टल सर्भिसले गरेको छ ।

जापान पोष्टलले जापानमा वृद्ध र अपाङ्ग व्यक्तिलाई घरमै औषधी पुर्याउने तथा घानामा जिपलाइन कम्पनीले डाक सेवासँग सहकार्य गरी ड्रोनमार्फत रगतको बोतल र औषधि वितरण गर्ने गरेको पाइन्छ ।

यसका साथै केन्यामा पोष्टल बैंक नामक संस्था मार्फत ग्रामिण जनतालाई बैकिङ सेवा दिएको छ ।

चाइना पोष्ट देशको ठूलो रोजगारदातामध्ये एक हो भने जर्मनीको हुलाकले गोग्रीन नामक पहल सुरु गरेको छ, जसले विद्युतीय डेलिभरी भ्यानहरू प्रयोग गरेर कार्वन उत्सर्जन घटाउने काम गर्दछ ।

प्रविधिमा आधारित हुलाकको कुरा गर्दा एस्टोनियामा डिजिटल हुलाक प्रणालीमार्फत सरकारी कागजातहरू नागरिकको डिजिटल खातामा पठाउने सेवा उपलब्ध छ ।

हामीले त्यसबाट सिकेर हाम्रो भूगोल सुहाउँदो सेवाहरू जोड्दै जानुपर्ने हुन्छ। अहिलेको लागि शुरुवातमा सरकारी निकायहरूसँगै जोडिएर धेरै काम गर्न सकिने सम्भावना छ ।

उदाहरणको लागि मन्त्रालयगतरूपमा सम्झौता गरी सरकारी निकायबाट जारी गरिने राहदानी, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमति पत्र, विश्वविद्यालयका सर्टिफिकेट हुलाक मार्फत सेवाग्राहीको घरघरमै पुर्याउन सकिन्छ ।

साथै भोलिका दिनमा सेवाको विस्तार गर्दै हुलाक सेवालाई ई(कमर्शमा रुपान्तरण गर्दै जान सकिन्छ। यसबाट हुलाकको सेवा विस्तार हुँदै जानुका साथै सरकारी निकायप्रतिको नागरिकको विश्वास समेत अभिबृद्धि हुँदै जान्छ ।

५. सामान डेलिभरीको जानकारी मोबाइलमाः अहिलेको सूचना प्रविधिको युगमा हुलाक सेवालाई प्रविधिमैत्री पनि बनाउन जरुरी छ। नेपालमा पनि हुलाक सेवालाई सूचना प्रविधिमा आवद्ध गर्नका लागि विभिन्न प्रयासहरू पनि भइराखेकै छन् ।

जस्तो पीआईटीएस मार्फत पठाएको र पाउने सामान कहाँ पुग्यो भनेर नागरिकले घरमै बसेर ट्र्याकिङ गरेर हेर्न सक्छन। यस्तै, टिकटको समग्र व्यवस्थापनका लागि पीटीएमएस, यसका साथै सीडीएस डट पोष्ट, आईपीएस डट पोष्ट, पीआईएस लगायतका व्यवस्था तथा तिनको निरन्तर सुधार गर्दै लगिएको छ ।

यिनीहरूमा अझै सुधार गर्दै पीआईटीएसमा नयाँ फिचर थप गरेर सामान दर्ता तथा गन्तब्य स्थानमा पुगेको जानकारी सामान पाउने व्यक्तिको मोबाइलमा र सामान डेलिभरी भएपश्चात इलेक्ट्रोनिक डेलिभरी प्रमाणपत्र सामान पठाउने व्यक्तिको इमेलमा पठाउन सकेमा प्रेषकलाई आफ्नो सामान पुगेको सुनिश्चित गराउनुका साथै हुलाक सेवाप्रतिको विश्वास अभिबृद्धि गर्न सकिने थियो ।

६. निमन्त्रणा तथा उपहार सेवाः मानिसको दैनिकी पहिलेजस्तो फुर्सदिलो छैन । पेशा, व्यवसायको सिलसिलामा मानिस विभिन्न ठाउँमा आवद्ध हुने हुँदा व्यस्त हुने गर्छन्। यस्तोमा कुनै विशेष पर्व, उत्सवहरूमा निमन्त्रणा गर्न तथा उपहार पठाउन प्रत्येक व्यक्तिकहाँ पुग्न सम्भव हुँदैन ।

यी कामहरू पनि हुलाक मार्फत गर्न सकिन्छ। यसरी हुलाक मार्फत निमन्त्रणा कार्ड लिएर हुलाकको कर्मचारी घरमै गएर निमन्त्रणा कार्ड बुझाउँदा निमन्त्रणा पाउने व्यक्तिलाई पनि विशेष खालको अनुभूति दिलाउँछ ।

निमन्त्रणाका साथै विशेष दिन जस्तै आमा बुवाको मुख हेर्ने दिन, जन्मदिन, ब्रतबन्ध, विवाह आदिमा उपहार समेत पठाउन सकिन्छ। यसका लागि सहुलियत महशुल तोकेर व्यापक प्रचारप्रसार गर्न सकियो भने यसले हुलाकको बजार विस्तार गर्नसक्छ।

७. निजी क्षेत्रसँग सहकार्यः सरकार एक्लैले सबै काम गर्न सक्दैन । सरकारले निजी क्षेत्रसँग साझेदारी गरेर पनि विभिन्न काम गर्न सक्छ ।

विभिन्न देशमा साझेदारी मार्फत नमूना कामहरू भइराखेको र नेपाल सरकारले पनि निजी क्षेत्रहरूसँग साझेदारी मार्फत विकास निर्माण र सेवा प्रवाह गर्न सकिने नीति लिएको सन्दर्भमा हुलाक सेवामा समेत सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरूप काम गर्न सकिन्छ ।

जसअन्तर्गत निजी क्षेत्रसँग सहकार्य गरी हुलाक कार्यालयहरूले आफ्नो क्षेत्रमा उत्पादन हुने वस्तु संकलन गरी निजी क्षेत्रसंग सहकार्य गरेर त्यसलाई आवस्यक ठाउमा पुर्याउने व्यवस्था गर्न सकिन्छ ।

उदाहरणका लागि जुम्लाको स्याउ काठमाडौं पुर्याउनुछ भने जिल्ला हुलाक कार्यालय जुम्लाले किसानसँग स्याउ संकलन गरी हुलाककै गाडीमा काठमाडौंमा रहेको सम्बन्धित व्यापारीकहाँ उपलब्ध गराउँछ ।

जसवापत हुलाकले निश्चित राजस्व प्राप्त गर्दछ। यसरी विभिन्न निजी संघ, संस्था, उद्योगी, व्यापारीसँग सम्झौता गरी आवश्यक परेमा केही रकम धरौटी समेत राखी हरेक खालका चिजवस्तुको आदानप्रदान गर्नेगरी निजी क्षेत्रसँग सहकार्य मार्फत काम गर्न सकिन्छ।

८. हुलाक कोषको व्यवस्थाः हुलाक सेवालाई छिटोछरितो, प्रतिस्पर्धी र प्रभावकारी गराउन दैनन्दिन आइपर्ने समस्यालाई तत्काल संबोधन गर्ने संयन्त्रको विकास गर्नु जरुरी छ ।

अहिले कुनै भैपरी समस्या सिर्जना भई हुलाक वस्तु आदानप्रदान हुन नसकेमा बजेट व्यवस्था गरी त्यसको समाधान गर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने अवस्था कायम छ ।

यस्तो अवस्थामा सरकारले लिएको स्मार्ट हुलाकको अवधारणा सफल हुन सक्दैन। यसर्थ अत्यावस्यक सेवाको रूपमा रहेको हुलाक सेवालाई गुणस्तरीय, छिटोछरितो र भरोसायोग्य बनाउन हुलाक सेवा कोषको व्यवस्था गरी त्यसमा हुलाकबाट प्राप्त हुने सम्पूर्ण राजस्व जम्मा गर्ने र त्यसबाट हुलाक सेवाको प्रवर्धन, पूर्वाधार विस्तार र भैपरी आउने समस्याको तत्काल समाधान गर्नेगरी व्यवस्था मिलाउन आवश्यक छ।

९. स्मार्ट मोवाइल एपः घरमै बसिबसि हरेक नागरिकले सम्पूर्ण हुलाक सेवाबारे जानकारी लिँदै एक क्लिकमै सहजै सेवा प्राप्त गर्नसक्ने गरी मोवाइल एप निर्माण गरी लागू गर्न सकिन्छ। जसमा हुलाकले प्रदान गर्ने सेवा तथा महशुलबारे जानकारी, सेवा प्राप्त गर्न अनुरोध गर्न सकिने, हुलाक वस्तुको ट्र्याकिङ, अनलाइन भुक्तानी, गुनासो दर्ता लगायतका जानकारी राख्न सकिन्छ।

नेपालको हुलाक सेवा डिजिटल युगमा पनि जनमैत्री, दक्ष र विश्वसनीय बनाउनु आजको आवश्यककता हो। विश्वका सफल हुलाक सेवाबाट सिकेर नेपाली सन्दर्भ अनुसार अनुकुल सुधारहरू लागू गरिए यो सेवा पुनः गौरवशाली बनाउन सकिन्छ। यसका लागि नीतिगत इच्छाशक्ति, प्रविधिमा लगानी र संस्थागत सुधार अपरिहार्य छन। यदि माथिका उपायहरू समयमै र योजनाबद्ध रूपमा कार्यान्वयन गरिए भने हुलाक सेवा पुनः एक भरपर्दो, आधुनिक र जनमैत्री सेवाको रूपमा पुनर्स्थापित हुनसक्छ। यो सेवा विशेषतः दुर्गम क्षेत्रका लागि अझै अपरिहार्य रहेकोले यसको सुधार र सुदृढीकरणमा ध्यान दिनु एकदमै आवश्यक छ।

(रेग्मी, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत हुन्।)

लेखक
चिन्तामणि रेग्मी

(रेग्मी, जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?