
२४ असोज, काठमाडौं । निवर्तमान सांसद सुमना श्रेष्ठले संसद् पुनर्स्थापनाको बहस चलाउनु युवा क्रान्तिको मर्म विपरीत भएको बताएकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘ताजा जनादेशका लागि ठूला राजनीतिक दलहरूका एक खेमासहित सम्पूर्ण नेपाली समाज तयार भइसकेको अवस्थामा स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरूले संसद् पुनर्स्थापनाको बहस चलाउनु २३ भदौको युवा क्रान्तिको मर्म विपरित छ ।’
लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरू लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको उनको टिप्प्णी छ ।
‘नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षता माथि शंका गर्नु, जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारी, कायर आपराधिक तत्वहरूको निकृष्ट बहाना मात्रै हुन् । आफूलाई लोकतान्त्रिक भन्ने तर लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरू लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको नेपाली जनताले प्रष्ट सँग बुझेका छन्,’ उनले लेखेकी छिन् ।
शान्तिपूर्ण निकासका लागि एक कदम अगाडि बढिसकेको नेपाली समाजलाई द्वन्द्व तिर लैजान आफ्नो भातृ संगठनहरूलाई उक्साउनु ‘प्रतिक्रान्ति’ को तयारी गर्न खोजिएको उनको दाबी छ ।
‘एमाले र कांग्रेसभित्र रहनु भएका नेपाल र नेपालीलाई माया गर्ने निष्ठावान युवा साथीहरुलाई परिस्थितिलाई जटिल हुन नदिन नेतृत्वसँग विद्रोह, प्रतिवाद र प्रतिरोध गर्न अपिल गर्दछु,’ उनले भनेकी छिन् ।
प्रतिक्रिया 4