
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गर्दै सरकारलाई \'एनजीओले चलाएको होइन\' भनी खण्डन गरिन्।
- छलफलमा भ्रष्टाचार नियन्त्रण र दोषीलाई कारबाही गर्ने विषय उठाइएको थियो।
- अर्थमन्त्री रामेश्वर खनालले कारबाही भइरहेको आश्वासन दिए।
२५ असोज, काठमाडौं । शनिबार बिहान ९ बजे नै बस्नेगरी जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई राष्ट्रपति निवास शीतलनिवास बोलावट भएको थियो ।
जेनजीका प्रतिनिधिहरू पनि छुट्टाछुट्टै समूहमा राष्ट्रपति निवास बेलैमा पुगेका थिए । तर, राष्ट्रपति रामचन्द्र पौडेलसँग तय भएको वार्ता भने सफल हुन सकेन ।
राष्ट्रपति कार्यालय निकट स्रोतले बताए अनुसार, उनको स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान अस्पताल लगिएको छ । उनको अहिले पनि उपचार जारी छ ।
राष्ट्रपति पौडेल अस्पताल जानुअघि नै प्रधानमन्त्री सुशीला कार्की शीतलनिवास पुगिसकेकी थिइन् । वार्ता गर्ने भन्दै पुगेका जेनजीहरूसँग प्रधानमन्त्री कार्कीले सबै मन्त्रीहरू वरपर राखेर केहीबेर अनौपचारिक छलफल गरिन् ।
सुदन गुरुङ, रक्षा बम, युजन राज भण्डारी, रिजन रानामगर, मिराज ढुंगाना लगायतका प्रतिनिधिसँग करिब १ घण्टा प्रधानमन्त्री कार्कीले छलफल गरिन् ।
सोही छलफलमा सहभागी एक प्रतिनिधिले अनलाइनखबरलाई बताए अनुसार, आफू नेतृत्वको सरकारमाथि लागेका विभिन्न आरोपहरूलाई प्रधानमन्त्री कार्कीले जेनजीहरूसँग खण्डन गरेकी छिन् । सुशासन र समयमै निर्वाचन गराउने प्रतिबद्धता समेत प्रधानमन्त्री कार्कीले गरेको ती सहभागीले बताए ।
‘आज राष्ट्रपतिसँग छलफल हुनै पाएन । बस्नुअघि नै उहाँ अस्पताल जानुपर्यो,’ ती जेनजी प्रतिनिधि भन्छन्, ‘यसपछि अनौपचारिक छलफल त्यहाँ भयो । यो अवसरमा प्रधानमन्त्रीज्यू र मन्त्रीहरूसँग समसामयिक विषयमा छलफल भयो ।’
तर, अन्य जनचासोका विषयमा छलफल भएपनि ठोस एजेण्डामा भने प्रवेश नै नगरिएको उनले बताए ।
विशेषगरी, सरकारलाई ‘एनजीओ वा बाहिरी शक्तिले चलाएको’ आरोप लागिरहेको कुराबारे उक्त छलफलमा एक जेनजीले प्रश्न उठाए । ‘के यो सरकार एनजीओले चलाएको हो ?,’ प्रधानमन्त्रीलाई जेनजीको प्रश्न थियो ।
उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘यो कुनै एनजीओले चलाएको होइन । यो मैले चलाएको सरकार हो । ढुक्क हुनुस् ।’
प्रधानमन्त्रीले जेनजीलाई सरकार र आन्दोलनकारी एकै सिक्काका दुई पाटा भएको बताउँदै मिलेर समाधान खोज्नुपर्नेमा जोड दिएको स्रोत बताउँछ । ‘हामी प्रतिबद्धतासाथ काम गरिरहेका छौं । समयमै चुनाव गराउँछौं, किनभने यो नगरी हुँदैन । यसमा तपाईंहरूले पनि सहयोग गर्नुपर्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक जेनजी अगुवाले बताए ।
बाहिर चल्दै थियो नाराबाजी
शीतलनिवासभित्र अनौपचारिक छलफल चलिरहँदा बाहिर भने असन्तुष्ट समूहहरुको नाराबाजी चलिरहेको थियो । वार्ता टोलीकै पुरुषोत्तम यादव पनि वार्ता बहिष्कार गरेर वार्तामा गएका थिएनन् । त्यसैले यसरी जेनजीभित्र असन्तुष्ट समूह धेरै रहेको र छरिएको विषयमा पनि त्यहाँ छलफल भयो ।
‘यत्रा समूह हुँदा एकैपटक बस्न गाह्रो हुने भएकाले चरणबद्ध रुपमा छलफल गर्नसकिने सम्भावनको कुरा सरकार पक्षबाट सुन्यौँ,’ अर्का जेनजी अगुवाले भने ।
आजको छलफलमा असन्तुष्ट रहेका केही जेनजी युवाहरू विज्ञप्तिमार्फत् आफ्ना कुरा अघि बढाउने बताइरहेका छन् । उनीहरूले अब हुने वार्तामा सबै पक्ष समेटेर अघि बढ्नुपर्ने पनि अनलाइनखबरसँगको अनौपचारिक कुराकानीमा बताए ।
त्यसबाहेक सुदन गुरुङ समूहकै प्रदेश संयोजकहरुले पनि असन्तुष्टि जनाएका थिए । सुदन गुरुङले धोका दिएर आफूहरुलाई वार्तामा नलगेको भन्दै उनीहरूले आलोचना गरिरहेका थिए ।
…अनि उठ्यो भ्रष्टाचार नियन्त्रणको कुरा
हुन त आजको वार्ताले औचारिकता भने पाउन सकेन । हिजोमात्रै निर्वाचन गराउन सहयोग माग्दै राष्ट्रपतिकै पहलमा दलहरूसँग छलफल भएको थियो ।
दलहरूसँगको संवादहीनता तोडिएपछि अब आफ्ना पनि माग पूरा हुने आशा जेनजीहरूलाई एकातिर थियो । सँगसँगै उनीहरूले उठाउँदै आएको भ्रष्टाचार नियन्त्रण र आन्दोलनका दोषीलाई कारबाहीको एजेन्डा पनि बिर्सिएनन् ।
बैठकमा सहभागी भएका प्रतिनिधि प्रवेश दाहाल भन्छन्, ‘मैले भ्रष्टाचारीको छानबिन भएर कारबाही हुनुपर्छ भन्ने कुरा उठाएँ ।’
आन्दोलनको वैधता, भ्रष्टाचारविरुद्ध कारबाही, र जनादेशका विषयहरू पनि उनले अनौपचारिक छलफलमा उठाए ।
‘हामीले आन्दोलनलाई अपराधीकरण नगरी वैधानिक रूपमा अगाडि बढाउन के–के गर्नुपर्छ भन्ने कुरा राख्यौं,’ दाहाल भन्छन्, ‘बाहिर गलत समाचारहरूले कन्फ्युजन सिर्जना गरेकोप्रति पनि ध्यानाकर्षण गरायौं ।’
उनीसहित अन्य केहीले पनि तत्काल निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नबाट सरकार पछि हट्न नहुने सुझाव दिएका थिए ।
अर्थमन्त्रीको आश्वासन
छलफलमै रहेका अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको नीति सरकारले अख्तियार गर्ने जिकिर गरे ।
जेनजी अगुवाहरू आश्वस्त पार्दै खनालले भनेका छन्, ‘हामीलाई आएका उजुरीहरूका आधारमा कारबाही भइरहेको छ । विपत्तिका कारण अलिकति ढिलाइ भएको हो, तर रोकिएका कामहरू पनि हामीले अघि बढाइरहेका छौं ।’
यसरी छलफलमा बसेपनि जेनजी अगुवाको छलफलमा ठूलो समूहका कारण प्रभावकारी संवाद हुन नसकेको त्यहाँ रहेको जेनजी अगुवाहरु बताउँछन् । ‘हल सानो थियो, मान्छे धेरै थिए । त्यसैले चरणबद्ध रूपमा पटकपटक छलफल गर्नुपर्छ भन्ने सुझाव हामीले पनि राख्यौं,’ अर्का एक अगुवाले भने ।
हामी नेपालका संयोजक सुदन गुरुङले पनि सरकारले काम गरिरहेकोले सकारात्मक माहोल बन्दै जाने आफूले आशा गरेको बताए । ‘सरकारले काम गरिरहेको छ भन्ने विश्वास छ । बरु बाहिर अनेक र्युमर र समाचार आइरहेका छन्, त्यसलाई कसरी काउन्टर गर्ने सोच्नुपर्यो,’ सुदनलाई उद्धृत गर्दै अर्का एक प्रतिनिधिले भने ।
प्रतिक्रिया 4