+
+
Shares

पार्टी एकताको विपक्षमा उभिए झलनाथ, माधव नेपालसमेत दक्षिणपन्थीको पछि लागेको आरोप

खनालले आफ्नो पार्टी अध्यक्ष माधव कुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको बाटोमा लागेको आरोप समेत लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते १०:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकीकरणको विपक्षमा उभिएका छन्।
  • खनालले पार्टी सचिवालय बैठकमा लेखेको छ, 'कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन।'
  • उनले पार्टी नेतृत्वमाथि दक्षिणपन्थीको आरोप लगाउँदै प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य भएको बताए।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् । समाजवादी र माओवादीबीच एकताको गृहकार्य भइरहेका खनालले कसैसँग पनि पार्टी एकीकरण गर्न नहुने बताएका हुन् ।

पत्नीको उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखिएको छ, ‘कमरेडहरू यतिबेला हाम्रो पार्टीको निम्ति कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने र अरुलाई पार्ने दिशामा नलागौँ ।’

उनले सबैभन्दा पहिले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणबारे निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

खनालले भनेका छन्, ‘सबभन्दा पहिले हाम्रो ४ वर्षे विद्रोहको यात्राको निर्मम समीक्षा गरौं । ठिक बेठिक के गर्‍यौं, दूध र पानी छुट्याऔँ । हामीले नवौं राष्ट्रिय महाअधिवेशनदेखि नै उठाएको युवा आवाज र कार्यविधिको कुरालाई ध्यान दिऔँ ।’

पार्टी नेतृत्वमाथि दक्षिणपन्थीको आरोप

खनालले आफ्नो पार्टी अध्यक्ष माधव कुमार नेपालसहित वामपन्थी दलहरु दक्षिणपन्थीको पछि लागेको आरोप समेत लगाएका छन् । त्यसैले उनले प्रत्येक पार्टीमा पुनर्गठन र रुपान्तरण अनिवार्य भएको उल्लेख गरेका छन् ।

‘वामपन्थी दलले नै आम जनता र राष्ट्रलाई सही मार्ग देखाउनुपर्ने हो । तर दक्षिणपन्थीहरूका पछि लागेर हाम्रो पार्टीको नेतृत्वसहित अन्य वामपन्थी नेतृत्वहरू समेतले मुलुकको चौतर्फी सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रियतालाई सुदृढ गर्ने कार्यभारलाई छोडेर यथास्थितिवादको मार्गमा हिँडेपछि र विदेशीहरुसँग अपमानपूर्ण सन्धि र सझौता गर्न थालेपछि मुलुक भयावह संकटमा जानु र विदेशीहरूको क्रिडास्थल बन्नु अनुवार्य नै थियो । अहिले त्यही नै भइरहेको छ,’ खनालले भनेका छन् ।

उनको जोड छ, ‘अब देश, जनता र वामपन्थी आन्दोलनलाई नयाँ धरातलबाट उठाउन प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अनिवार्य छ ।’

आफूले नयाँ वर्षको सन्देशमा नै यो वर्षलाई पुनर्गठन र रूपान्तरणको वर्ष बनाउन आह्वान गरेको र समयले ठिक त्यही ठाउँमा ल्याईपुर्‍याएको खनालको भनाइ छ ।

मोर्चा बनाएर निर्वाचन तयारीमा लाग्न अपिल

जेन्जी समूहसहित हरेक साना–ठूला पार्टीमा पुनर्गठन र रूपान्तरणको माग उठिरहनुलाई उनले समयको माग भनेका छन् । यो युगको, जनताको र सिंगो राष्ट्रको माग समेत भएको भन्दै उनले त्यसलाई अस्वीकार गर्न नसकिने बताएका छन् । ‘यो फगत पुस्तावादको माग होइन, सबै पुस्ताको क्रान्तिकारी पुनर्गठन र रुपान्तरणको माग हो । त्यसलाई अस्वीकार गरेर कोही अघि जान सक्दैन,’ खनालले भनेका छन् ।

पार्टी भित्रका युवाहरूको आवाज अनुरूप समेत पार्टीलाई सही वैचारिक, राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा पुनर्गठन गर्न उनले आह्वान गरेका छन् । पार्टीलाई आमूल परिवर्तनकारी र नेपाली विशेषताको सामजवादका निम्ति दृढ संकल्पित पार्टीमा रूपान्तरण गर्ने र यही दिशाका आधारमा सकेसम्म सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिहरुलाई गोलबन्द गर्नुपर्ने उनको अपिल छ ।

पार्टी एकीकरणको सट्टा मोर्चा निर्माण गरेर निर्वाचनको तयारी गर्न आह्वान गर्दै खनालले भनेका छन्, ‘एउटा बृहत राष्ट्रिय मोर्चाको निर्माण गरौं र प्रतिनिधि सभाको निर्वाचनको तयारीमा बृहत् योजनाका साथ अघि बढौं । मेरो विचारमा आजको सही मार्ग यही हो । कुबेलाको सहनाई बजाउनतिर कोही पनि नलागौं । सिंगो पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक मार्गतिर अघि बढौँ ।’

युवा आन्दोलन उनीहरुको आवेग र बाह्य शक्तिको षडयन्त्र मात्र होइन

उनले जेनजी युवाहरुको विद्रोह मुलकको नेतृत्व गर्दै आएका मुख्य नेतृत्वको घनघोर असफलताको उपज रहेको निष्कर्ष निकालेका छन् । हाम्रो पार्टी लगायत यस बीचमा सत्तामा रहेका र सत्तामा सहभागी भएका सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकोमा जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

‘युवा आन्दोलनको विस्फोटन उनीहरूको फगत आवेग वा बाह्य शक्तिको षड्यन्त्र मात्र होइन । यो दुई तिहाइ बहुमत भएको संसद विघटन भएदेखि मुलुकलाई नेतृत्व गर्दै आएका र सत्तामा बसेका पार्टीहरूको मुख्य नेतृत्वको घनघोर असफलता पनि हो । यो नै मुख्य र निर्णायक कुरा हो । त्यसले मुलुकलाई यो दु:खद अवस्थामा ल्याइपुर्‍याएको छ,’ खनालले भनेका छन् ।

‘हाम्रो पार्टी लगायत यस बीचमा सत्तामा रहेका र सत्तामा सहभागी भएका सबै पार्टीका नेतृत्वले मुलुकलाई सही दिशा दिन नसकेकोमा उनीहरुले जिम्मेवारी लिनैपर्छ,’ खनालको धारणा छ ।

बहुदलीय प्रणालीमा मुलुकलाई सही दिशा दिने राजनीतिले र आजको अवस्थामा राजनीतिक पार्टीले नै भएको उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?