+
+
Shares

तिहारमा ४५ लाख माला खपत हुने, फूलमा ‘भ्यालु एड’ ले उपभोक्तालाई महँगो

फूल र मालाको ठ्याक्कै मूल्य यति नै पर्छ भन्न सकिँदैन । सिधै फूल बिक्री नगरी विभिन्न तरिकाले सजाएर मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर बजार ल्याइने भएकाले मूल्यमा फरक पर्न सक्छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८२ असोज २६ गते २३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल फ्लोरिकल्चर एसोसिएसनले यस वर्ष तिहारमा ४५ लाख माला खपत हुने र ९० प्रतिशत फूल स्वदेशी उत्पादनले पूरा गर्ने जनाएको छ।
  • फ्यानका अनुसार सयपत्री, मखमली, गोदावरी फूलका मालामा नेपाल आत्मनिर्भर भए पनि गुलाफजस्ता फूल आयातमा भर पर्नेछ।
  • आव २०८०/८१ मा फूल कारोबार ३ अर्ब ६८ करोडभन्दा बढी भए पनि आयात ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ।

२६ असोज, काठमाडौं । यसपालि तिहारमा ४५ लाख माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीहरूको छाता संगठन नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले नेपालमा फूलखेतीमा देखिएको आकर्षणका कारण बजार मागको ९० प्रतिशत स्वदेशी उत्पादनले थग्ने गर्छ ।

तिहार आउन अब एक सातामात्र बाँकी छ । तिहारलाई किसानले फूल टिप्न र माला बुन्न थालिसकेका छन् । फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठ यस वर्ष तिहारका लागि सयपत्री, मखमली, गोदावरी लगायत फूलका मालामा नेपाल आत्मनिर्भर भएको बताउँछन् ।

उनका अनुसार यस वर्ष नेपालमा ४० लाख थान सयपत्री माला, ५ लाख ५० हजार थान मखमली माला, ५० हजार गोदावरी माला र २० हजार मिक्स माला खपत हुने देखिएको छ ।
त्यसमध्ये मिक्स मालाका लागि आवश्यक पर्ने गुलाफ लगायत फूल भने आयातमा भर पर्नुपर्ने देखिन्छ ।

‘धेरै नेपाली घरधुरीले विशेषगरी ग्रामीण क्षेत्र र सहरका काँठ क्षेत्रमा पनि व्यक्तिगत प्रयोगका लागि आफैं फूल उत्पादन गरेका छन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘युरोप, अमेरिका र खाडी मुलुकमा रहेका नेपाली समुदायलाई २ लाख थान मखमली माला निर्यात हुन्छ ।’

तिहारका लागि सयपत्री लगायत अन्य फूल मुख्यतया प्रमुख सहरी क्षेत्रका उपभोक्ताले मात्र किनेर प्रयोग गर्ने गरेको पाइएको छ ।

फूल र मालाको ठ्याक्कै मूल्य यति नै पर्छ भन्न नसकिने फ्यान महासचिव हिरामणि शर्मा बताउँछन् । उनका अनुसार सिधै फूल बिक्री नगरी विभिन्न तरिकाले सजाएर मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर बजार ल्याइने भएकाले मूल्यमा फरक पर्न सक्छ ।

यद्यपि, थोक मूल्य अनुमानित रूपमा सयपत्री मालाको ८० देखि ८५ रुपैयाँ र मखमली मालाको ४० देखि ४५ रुपैयाँ छ । यसमा भ्यालु एड भएर उपभोक्ताले किन्दा केही महँगो पर्ने निश्चित छ ।

महासचिव शर्मा फूलको बजार मूल्य निर्धारण गर्दा त्यसको प्रकार र थपिने सजावटका सामग्रीमा निर्भर रहने बताउँछन् । मिश्रित मालाको खुद्रा मूल्य प्रतिमाला ३ सयदेखि १ हजार रुपैयाँसम्म पर्न सक्ने उनले बताए ।

यस्तै गोदावरी फूलको माला भने उपभोक्ताको रोजाइ अनुसार १ हजारबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने फ्यानको अनुमान छ ।

‘सिधै फूल बिक्री गर्नुको सट्टा माला बनाउँदा विभिन्न तरिकाले सजाउने र अन्य सामग्री जोडेर माला तयार पारिने भएकाले यसको मूल्यमा फरक पर्छ,’ उनले भने, ‘थोक मूल्यमा केही कम भए पनि त्यसमा गरिने अतिरिक्त काम र सजावटले अन्तिम खुद्रा मूल्य बढाउँछ र उपभोक्ताले केही महँगो तिर्नुपर्ने हुन्छ ।’

मालाको मानक लम्बाइ ३ फिटको हुने र यसैलाई मूल्य निर्धारणको आधार मानिन्छ । यद्यपि, केही किसानले ८–९ फिटसम्मका माला पनि बनाउने गरेको उनले उल्लेख गरे ।

खुद्रा मूल्यका सन्दर्भमा सयपत्री सादा मालाको १ सय २० देखि १ सय २५ रुपैयाँ र मखमली माला ८० देखि ८५ रुपैयाँसम्म पर्ने फ्यानले जनाएको छ ।

फूलमा आत्मनिर्भर

नेपाल अहिले फूल उत्पादनमा ९० प्रतिशत आत्मनिर्भर बनेको महासचिव शर्मा बताउँछन् । बाँकी १० प्रतिशत माग पूरा गर्न मिश्रित मालाका लागि गुलाफजस्ता केही फूल आयात गर्नुपर्ने र अपुग भए स्थानीय रैथाने वा जंगली फूल प्रयोग गरिने उनको भनाइ छ । आयात गरिने फूल कानुनी प्रक्रिया पुर्‍याएरै भित्र्याइने उनले स्पष्ट पारे ।

 

सरकारले २०७० देखि २०७३ सम्म लागु गरेको ‘पुष्प विकास प्रवर्द्धन नीति’ ले यस क्षेत्रलाई ठूलो सहयोग पुर्‍याएको छ । महासचिव शर्माका अनुसार यो नीति फ्यानकै पहलमा कार्यान्वयनमा आएको थियो ।

‘फ्यानले निरन्तर यस क्षेत्रको प्रवर्द्धनका लागि वकालत गर्दै आएको छ,’ उनी भन्छन्, ‘फूलको बढ्दो माग र आत्मनिर्भरताको आवश्यकतामा जोड दिँदै फ्यानले यस क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरेको छ ।’

पहिले तरकारी लगायत अन्य खेतीमा संलग्न किसानलाई विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम मार्फत फूलखेतीतर्फ आकर्षित गराइ धेरै किसान पुष्प व्यवसायमा आबद्ध भएको उनको अनुभव छ ।

सुस्त वृद्धिदर

सामान्यतया नेपाली पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत रहने गरेको छ । तर, यस वर्ष समग्र आर्थिक क्षेत्रमा देखिएको शिथिलताका कारण पुष्प क्षेत्रको वृद्धिदरमा खासै प्रगति नदेखिएको महासचिव शर्माले बताए । यो वर्ष वृद्धिदर स्थिर वा केही कम हुन सक्ने उनको आकलन छ ।

नेपालको पुष्प व्यवसायले व्यावसायिक प्रगतिको यात्रा तय गर्दै आए पनि आव २०७९/८० मा यसको निर्यात र आयात दुवै कारोबारमा कमी आएको तथ्यांकले देखाउँछ ।

फ्यानले उपलब्ध गराएको तथ्यांक अनुसार आवश्यक बीउबिजन तथा मदर प्लान्ट आयातमा देखिएका कठिनाइ यस्तो गिरावटको प्रमख कारण हो ।

२०४९ सालदेखि नेपालमा सामान्य स्तरबाट सुरु भएको पुष्प व्यवसाय हाल देशका ५२ जिल्लासम्म विस्तार भइसकेको छ । यस क्षेत्रमा १ हजार २ सय ३५ (नर्सरी ५ सय ४०, कट फ्लावर उत्पादक ९०, कट फ्लावर खुद्रा व्यवसायी १ सय ५८, पुष्प थोक व्यवसायी ६, इनपुट सप्लायर्स २५ र लुज फ्लावर उत्पादक ४ सय १६) भन्दा बढी पुष्प व्यवसायी संलग्न छन् । किसनले २ सय ७० हेक्टर क्षेत्रफलमा फूलखेती गरिरहेका छन् ।

यो व्यवसायमा कुल ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भएको आकलन छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५३ हजार ५ सयभन्दा बढीले रोजगारी पाएको फयानले जनाएको छ ।

केही अपवाद वर्षबाहेक पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक १० देखि १५ प्रतिशतका दरले वृद्धि हुँदै आएको थियो । तर, कोभिड–१९ महामारीका कारण यो क्षेत्र नकारात्मक असरबाट गुज्रिए पनि २०७९/८० देखि २०८०/८१ सम्म व्यवसायले गति लिएको थियो ।

गत आव २०८१/८२ मा भने मुलुकको आर्थिक अवस्था कमजोर हुनु, पुष्प प्रवर्द्धन नीति कार्यान्वयन नहुनु साथै सरकारले कृषिका केही नीति (बीउबिजन नियमावली, प्लान्ट क्वारेन्टिन ऐन तथा नियमावली) परिमार्जन गरी लागु गरेका कारण आयात गरी उत्पादन गर्नुपर्ने पुष्प तथा पुष्पजन्य वस्तु लगायतमा नीतिगत समस्या भएको र यसले यो व्यवसायमा समयमै व्यवसायीले बीउबिजन तथा मदर प्लानट आयात गर्न नसक्दा आन्तरिक फूल कारोबारमा कमी आएको छ ।

नेपालमा फूल कारोबार र निर्यात कति ?

फ्यानका अनुसार आव २०८०/८१ मा ३ अर्ब ६८ करोडभन्दा बढीको फूल कारोबार भएको थियो । यो कारोबार अघिल्लो आवको दाँजोमा ८.५ प्रतिशतले कम हो । त्यसबेला ३ अर्ब ३७ करोडको कारोबार भएको थियो ।

भन्सार विभागको तथ्यांक अनुसार आव २०८०/८१ मा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात कारोबार १०९.१६ प्रतिशतले बढेको थियो । त्यसबेला १ करोड २ लाख १२ हजार निर्यात कारोबार रहेकोमा २०८१/८२ मा २ करोड १३ लाख ६९ निर्यात कारोबार भएको थियो ।

नेपालबाट मुख्य गरी जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएई र माल्टा जस्ता देशमा पुष्प तथा पुष्पजन्य वस्तु बल्ब, ट्युबर रुट्स, क्रम, राइजम्स, जीवित बिरुवा, ड्राइ फ्लावर्स र फ्रेस फ्लावर्स निर्यात हुने गर्छ ।

कति हुन्छ आयात ?

भन्सार विभागको तथ्यांक अनुसार आयाततर्फ भने गिरावट देखिएको छ । आव २०८१/८२ मा ५४.२७ प्रतिशतले फूल आयातमा कमी आई १२ करोड ७० लाख ८९ हजार रुपैयाँको पुष्पजन्य वस्तु आयात भएको थियो ।

अघिल्लो आव २०८०/८१ मा २७ करोड ७९ लाख ५ हजार रुपैयाँ बराबर आयात कारोबार थियो ।

नेपालमा मुख्य रूपमा जीवित बिरुवा (लाइभ प्लान्ट, अनरुटेड कटिङ एन्ड स्लिप), विभिन्न पुष्पको बीउबिजन, फ्रेस कट फ्लावर, बल्ब र ट्युबर रुट्स आयात हुने गर्दछ ।

यी वस्तु भारत, नेदरल्यान्ड, जर्मनी, चीन, जापान, केन्या, थाइल्यान्ड, भियतनाम, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, यूएई, ताइवान, इजरायल लगायत देशबाट भित्रिने गर्छ ।

 

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?