+
+
Shares

केरा बिक्री नहुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा

थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनी बताउँछन् । उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने गरेको उनको भनाइ छ।

रासस रासस
२०८२ असोज २७ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्ती गाउँपालिका–७ का किसान रणप्रसाद सुवेदीले ५४ बिघामा केराखेती गर्दै आएका छन् र यस वर्ष केरा बिक्रीमा समस्या हुँदा घाटा व्यहोर्नुपर्ने अवस्था आएको छ।
  • भारतीय बजारबाट सस्तो मूल्यमा केरा भित्रिएपछि स्थानीय उत्पादनले बजार पाउन नसकेको र केरा बारीमै कुहिएर जाने अवस्था सिर्जना भएको किसानहरूले बताएका छन्।
  • केरा उत्पादक किसानहरूले स्वदेशमा उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका छन्।

२७ असोज, घोराही। राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुगेका सुवेदी यसवर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित छन् ।

सुरुवातमा दुई बिघाबाट केराखेती सुरु गरेका उनले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताए । केरा बिक्री नभएर बारीमै कुहिएर जाँदा यस वर्ष आम्दानी घटेको उनले बताए।

बजारमा दर्जनलाई १२० बढी मूल्यमा बिक्री भइरहेको केरा व्यवसायीले भने रु २५ दर्जनमा दिँदासमेत नलगेको किसान सुवेदीले बताए । ‘यो साल केरा बिक्री नहुँदा कारोबार घरेको छ, केरा बिक्री नहुँदा बोटमा नै पाकेर खेर जाने अवस्था छ’, उनले भने।

थोक व्यवसायीले सस्तोमा भारतबाट केरा भित्र्याउँदा स्थानीय उत्पादनले बजार नपाएको उनी बताउँछन् । उनका अनुसार तयार भएको केरा खेर जाने अवस्था भएको र बिक्रीका लागि व्यवसायी नआउँदा बारीमा जानसमेत मन नलाग्ने गरेको उनको भनाइ छ।

उनले गएका वर्षहरुमा नियमित रुपमा ३५ जना स्थानीयलाई रोजगारी दिने गरेको भए पनि हाल भने तलब दिनसमेत समस्या हुँदा १५ जना मात्रै कामदार रहेको बताए ।

राप्ती केरा प्रवर्द्धन कृषक समूहका अध्यक्ष समेत रहेका सुवेदी अघिल्ला वर्षहरुमा रु सवा करोडसम्मको कारोबार गर्ने र जसबाट रु ३० लाखसम्म बचत गर्दै आएको भए पनि यस वर्ष भने घाटा व्यहोर्ने अवस्था सिर्जना भएको उबताउँछन् ।

राप्ती केरा प्रवद्र्धन कृषक समूहमा राप्ती गाउँपालिका–७ भित्रका व्यावसायिक १८ जना केरा किसान आबद्ध छन्। यसवर्ष केरा बिक्रीमा समस्या हुँदा रु १० लाख कम आम्दानी हुने उहाँको आकलन रहेको छ।

हरितालिका तीजदेखि छठ पर्वसम्म फलफूल बढी नै बिक्री हुने गर्दछ । त्यसमा केरा अधिक बिक्री हुन्छ । चाडपर्व लच्छित गरेर उत्पादन भएको केराले बजार नपाएपछि उत्पादन भएको धेरै केरा बारीमै कुहिएर जान थालेको सोही ठाउँका अर्का किसान तीर्थ ज्ञवाली बताउँछन् ।

उनले पनि व्यावसायिक रुपमा ५० कट्ठामा केराखेती गर्दै आएका छन् । केरा बिक्रीमा समस्या भएपछि ‘डोर टू डोर सेलिङ’ गर्ने योजना रहेको उनले बताए । व्यापारीले नै लैजाने मूल्यमा स्थानीयलाई दिएर घरघरमा लगेर बिक्री गर्न दिने योजना उनले सुनाए । भारतीय बजारबाट दाङका बजारमा दिनहँु सस्तो मूल्यमा केरा भित्रिएपछि यहाँ उत्पादन भएको केराले बजार पाउन नसकेको उनको भनाइ छ।

उनी जस्तै सिसहनिया निवासी गायत्री चौधरीले केरा बिक्री नहुँदा समस्या भएको बताए । दुई बिघा जग्गामा गरेको केराखेतीबाट उत्पादित केरा बिक्री नहुँदा बारीमा कुहिन थालेको उनले बताए ।

केरा बिक्रीका लागि तयार भए पनि मूल्य नपाउँदा बिक्री गर्न नसकेको किसान चौधरीको भनाइ छ । उनले भने, ‘ व्यापारीले दर्जनको रु २० मूल्य दिने गरेका छन्, त्यसरी दिँदा त लगानी नै उठ्दैन, कसरी बिक्री गर्नु ?’

खेती गर्न सजिलो र राम्रो आम्दानी हुने भएकाले धान, तोरी, मसुरोखेती छाडेर केराखेतीमा लागे पनि भारतीय केराका कारण स्थानीय उत्पादनले ठाउँ नपाउँदा लाखौँ रुपैयाँ डुब्ने जोखिम बढेको उनको भनाइ छ । मालभोग, हरिसाल, चिनी केरालगायत जातका केरा दाङको ६०० बिघा क्षेत्रफलमा खेती हुने गरेको छ।

केराको जात हेरेर रु २५० देखि रु ५०० एउटा केराको बोटमा किसानको लगानी भएको हुन्छ । स्वदेशमा नै उत्पादन भएको केराको समर्थन मूल्य तोकेर बजारको ‘ग्यारेन्टी’ सरकारले गर्नुपर्ने माग केरा उत्पादक किसानको रहेको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?