+
+
Shares

रुसले युद्ध नरोके युक्रेनलाई टोमाहाक मिसाइल दिने ट्रम्पको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १५:२६
२७ असोज, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले आक्रमण नरोके युक्रेनलाई घातक टोमाहाक मिसाइल दिने चेतावनी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै यस्तो चेतावनी दिएका हुन् । २,५०० किलोमिटर (१,५०० माइल) सम्म मार हान्न सक्ने क्षमताका कारण यो मिसाइल युक्रेनले प्राप्त गरेमा मास्कोमाथि खतरा बढ्नेछ ।
उनले भने, ‘म पुटिनसँग पुनः कुरा गर्न सक्छु र भन्न सक्छु- ‘हेर्नुहोस्, यदि यो युद्ध समाप्त हुने छैन भने, म युक्रेनलाई टोमाहाक पठाउनेछु ।’
उनका अनुसार अगस्ट महिनामा अलास्कामा भएको पुटिनसँगको भेटवार्ताले अपेक्षित शान्ति सम्झौता जन्माउन सकेन ।
त्यसपछि ट्रम्प प्रशासनले युरोपेली साझेदारहरूमार्फत किएभलाई लामो दूरीका मिसाइल आपूर्ति गर्ने विषयमा छलफल गरिरहेको छ ।
‘युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार भएको टेलिफोन संवादमा अमेरिकाबाट नयाँ हतियार आपूर्ति, विशेषगरी टोमाहाकबारे माग गरेका थिए’, ट्रम्पले भने, ‘टोमाहाक आपूर्ति कुनै आक्रामक कदम होइन, तर यो आवश्यक सन्देश हो — के उनीहरू ती मिसाइलहरू आफ्नो दिशामा आउन चाहन्छन् ? मलाई लाग्दैन ।’
रुसी राष्ट्रपति पुटिनले यसअघि नै वासिङ्टनलाई चेतावनी दिँदै किएभलाई टोमाहाक मिसाइल आपूर्ति नगर्न आग्रह गरेका थिए । उनका अनुसार त्यसले अमेरिकासँगको सम्बन्धमा ठूलो तनाव ल्याउन सक्नेछ र युद्ध अझ बढ्न सक्छ ।
राष्ट्रपति ट्रम्पले भने यो युक्रेन युद्ध आफ्नो कार्यकालमा समाधान गर्न चाहने प्रमुख चुनौतीहरूमध्ये एक रहेको उल्लेख गरे ।
उनका अनुसार अब चौथो वर्षमा पुगेको यो युद्ध सन् २०२२ फेब्रुअरीमा सुरु भएको हो, जब रुसले पश्चिम समर्थक युक्रेनमाथि पूर्ण आक्रमण आरम्भ गरेको थियो ।
ट्रम्पले अहिले पनि गाजा शान्ति सम्झौता र मध्यपूर्वीय स्थायित्वका लागि इजरायल र इजिप्ट भ्रमण गरिरहेका छन् ।
उनको भनाइमा शान्ति सम्भव छ, तर त्यसका लागि दुवै पक्षले दृढ इच्छाशक्ति देखाउनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?