
News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडेर अभिमुखीकरण तालिममा फर्जी गतिविधि नियन्त्रण गर्ने व्यवस्था गरेको छ।
- नयाँ प्रणालीले वास्तविक कामदारले मात्र तालिममा सहभागी हुनुपर्ने व्यवस्था गरेको छ भने केही व्यावहारिक समस्या समाधान हुन बाँकी रहेको छ।
- नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले प्रणालीले पारदर्शिता बढाएको र थप माग कार्यान्वयन हुनुपर्ने बताएका छन्।
२७ असोज, काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएपछि अभिमुखीकरण तालिममा देखिएका फर्जी गतिविधि नियन्त्रण हुने अपेक्षा गरिएको छ ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग एकीकृत गरेपछि यो क्षेत्र पारदर्शितातर्फ उन्मुख भएको छ ।
यसअघि अभिमुखीकरण तालिममा कामदारको सट्टा अन्य व्यक्तिले बायोमेट्रिक प्रविष्ट गर्ने, तालिम नलिई प्रमाणपत्र लिनेजस्ता समस्या व्यापक थिए । नयाँ प्रणाली लागु भएपछि तालिममा अब वास्तविक व्यक्तिले नै हाजिरी गर्नुपर्ने व्यवस्था गरिएको छ ।
तर, अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले भने केही व्यावहारिक समस्या समाधान नगरी प्रणाली कार्यान्वयन गर्दा कठिनाइ हुने बताएका छन् । उनीहरूले विभागसँग राखेका माग पनि पूर्णरूपमा कार्यान्वयन हुन बाँकी रहेको बताएका छन् ।
नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघ अध्यक्ष राजाराम गौतमका अनुसार नयाँ प्रणालीले पारदर्शिता बढाएको छ । ‘पहिले पढ्ने व्यक्तिको सट्टा अरूले बायोमेट्रिक गरेर तालिम लिने गर्थे,’ गौतमले भने, ‘अब त्यो सम्भव छैन, यसले वास्तविक कामदारलाई तालिममा सहभागी हुन प्रेरित गर्छ ।’
तर, उनले अझै केही माग कार्यान्वयन नभएकाले समस्या पूर्णरूपमा समाधान नभएको बताए । ‘हाम्रो १६ बुँदे मागमध्ये चार–पाँच बुँदा अझै कार्यान्वयन भएका छैनन्,’ उनले भने, ‘ती माग पूरा भए प्रणाली अझ प्रभावकारी हुनेछ ।’
गौतमले तालिमको सिकाइ मूल्यांकन अनिवार्य गर्नुपर्ने र ‘म्यानलेस’ (स्वचालित) निरीक्षण प्रणाली लागु गर्नुपर्ने सुझाव पनि दिए । ‘विभागबाट मान्छे गएर अनुगमन गर्दा स्वार्थ प्रवेश गर्ने सम्भावना रहन्छ,’ उनले भने, ‘अनलाइन अनुगमन प्रणाली बनाइने हो भने पारदर्शिता स्वतः बढ्छ ।’
उनका अनुसार विभागले अहिले राम्रो कदम उठाएको भए पनि बीचमा दबाब र विरोधका कारण नीति उल्टिने प्रवृत्ति देखिन्छ, जसको अन्त्य हुनुपर्छ ।
‘कसैले विरोध गरेपछि विभाग पछि हट्ने गर्छ,’ गौतमले भने, ‘अब भने मिडियामा विषय उठिसकेकाले जवाफदेही बन्नुपर्ने बेला आएको छ ।’
महासंघले नयाँ प्रणालीले गुणस्तर, पारदर्शिता र कामदारका हितमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ । ‘हाम्रो उद्देश्य कामदारको हित हो,’ गौतमले भने, ‘यदि बाँकी पक्ष पनि पूरा भए, अभिमुखीकरण तालिम प्रणाली वास्तवमै विश्वसनीय र प्रभावकारी बन्न सक्छ ।’
प्रतिक्रिया 4