+
+
Shares

महराको इन्कारी बयान : सुन तस्करीमा संलग्न छैन, लगानी पनि होइन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १३:१२

२८ असोज, काठमाडौं । विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा पक्राउ गपरेका पूर्वसभामुख कृष्णबहादुर महराले इन्कारी बयान दिएका छन् ।

जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोजनमा उनले सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जिकिर गरेका छन् ।

चिनियाँ नागरिक दाओजिन वाङलाई आफू सञ्चारमन्त्री हुँदा फलफूल लिएर बधाई दिन घरमा आएको बेला चिनजान भएको महराले बताएका छन् ।

‘उक्त सुनको अवैध पैठारी (तस्करी) मा मेरो कुनै पनि संलग्नता छैन । मैले मेरो परिवारका सदस्यहरूलाई कुनै राजनैतिक संरक्षण गरेको छैन,’ महराले बयानमा भनेका छन्, ‘चिनियाँ नागरिकले इलेक्ट्रिक सिगरेट (ख्बउभक) भित्र लुकाई छिपाई लिई आएको सुन अवैध रुपमा नेपाल भिर्त्याउनको लागि मेरो कुनै लगानी छैन ।’

आफू सञ्चारमन्त्री हुँदा दावाले आफूलाई फलफूल व्यापारी भन्दै आएर भेटेको उनले बताएका छन् ।

‘निजको व्यवसायमा मेरो कुनै पनि प्रकारको साझेदारी छैन,’ महराले बयानमा भनेका छन् ।

आफूले प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई आफ्नो छोरा आउँछ, हेरीदिनुहोला भनेर नभनेको पनि बताएका छन् ।

‘मेरो छोरा आउँछ, हेरिदिनु भनेको होइन । म राजनैतिक व्यक्ति भएकोले धेरै जनासँग भेटघाट तथा फोनमा कुराकानी हुने गरेको हुँदा सबै कुरा याद छैन,’ बयानका क्रममा भनेका छन् ।

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेशमा शंका लागेपछि जाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हानसोङले पर्सिपल्टै काठमाडौं छाडेका थिए । भेप भने लामो समयसम्म भन्सारमै थन्किएको थियो ।

भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?