+
+
Shares

प्राइभेट मेडिकल कलेज एसोसिएसनले भन्यो- नर्सलाई सरकारी सरहको पारिश्रमिक दिँदैनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १३:२५

२८ असोज, काठमाडौं । नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले सरकारले तोके बमोजिमको नर्सलाई सेवा सुविधा नदिने जनाएको छ ।

एसोसिएसनले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्न नसक्ने बताएको छ ।

एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्र कार्कीले मन्त्रालयलाई पठाएको पत्रमा निजी मेडिकल कलेज तथा डेन्टल कलेजहरूको आर्थिक संरचना लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रूपमा फरक भएकाले वर्तमान संरचनामा समान पारिश्रमिक दिन नसकिने जनाएको छ ।

‘सरकारी संस्थाको पूर्वाधार, उपकरण, जनशक्ति सरकारको प्रत्यक्ष लगानी तथा अनुदान उपलब्ध हुने, भत्ता र सुविधा पनि राज्यले दिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ निजी मेडिकल कलेजले आफ्नै आम्दानी र स्रोतबाट खर्च गर्नुपर्छ ।’

मन्त्रालयले २०८१ मंसिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक (३४७३० रुपैयाँ) र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन पछि सेवा सुविधा नपाएको भन्दै मणिपाल मेडिकल कलेज लगायतका नर्सहरू अहिले आन्दोलनमा उत्रिएका छन् । न्यूनतम पारिश्रमिक लागू नभएपछि पुनः मन्त्रालयले निजी मेडिकल कलेज, प्रतिष्ठानलाई सरकारी बमोजिम नै पारिश्रमिक दिन निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशन पछि एसोसिएसनले पारिश्रमिक बढाउन नसकिने भन्दै पत्र पठाएको छ । रातदिन बिरामीको सेवा गर्ने नर्सहरूको मासिक पारिश्रमिक १५ हजारको हाराहारीमा मात्रै भएको कार्यरत नर्स भनाइ छ ।

जोखिम भत्ता त टाढाको कुरा, अतिरिक्त सेवाबापतको रकमसमेत पाएका छैनन् । सरकारी मापदण्डअनुसार पाँचौ तहको तलब ३४ हजार ७३० रुपैयाँ छ ।

तर मणिपाल शिक्षण अस्पतालका नर्सहरू अधिकांशले त्यसको आधा तलबमा काम गर्नु परेको बताइरहेका छन् भने वर्षौं सेवा गरिसकेकाहरूको पनि सरकारले तोकेबमोजिक सुविधा नपाएको गुनासो छ ।

कुनै पनि नर्सले तह, योग्यता र आफूले दिएको अतिरिक्त समयअनुसारको सुविधा अस्पतालबाट नपाएको बताउँछन् ।

सम्मानजक सुविधाका निम्ति अहिले पोखरा मणिपालका नर्सहरूले हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?