+

अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

२०८२ माघ  १५ गते १७:५५ २०८२ माघ १५ गते १७:५५

नर्सले मेहनतअनुसार तलब पाउँदैनन्, श्रमअनुसार सम्मान पाउँदैनन् र सीपअनुसार अवसर पाउँदैनन् ।

Shares
अस्पतालको मुटु नर्स : जिम्मेवारी धेरै, चर्चा कम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माघ १५ मा नेपाली नर्स दिवस मनाइन्छ, जसले अस्पतालमा बिरामीको हेरचाह गर्ने नर्सहरूको भूमिका सम्झाउँछ।
  • नेपालका नर्सहरू विदेश पलायन भइरहेका छन्, जसले स्वास्थ्य प्रणालीमा जनशक्तिको अभाव र थकान बढाएको छ ।

अस्पतालको संसार बाहिरबाट हेर्दा सेतो देखिन्छ । सेतो कोट, सेतो बेडसिट, सेता भित्ताहरू । तर भित्र पस्दा त्यो सेतोपनभित्र अनेकौ रङहरूको मिश्रण भेटिन्छ ।  पीडाको गाढा कालो रङ, आशाको हल्का हरियो, डरको फिक्का पहेँलो र जीवनको उज्यालो रातो रङ ।  यिनै रङहरूको सबैभन्दा धेरै अनुभव गर्ने, अस्पतालमा सबैभन्दा धेरै बिताउने तर सबैभन्दा कम चर्चा पाउने पात्र हुन्, नर्स ।

चिकित्सकहरू अस्पतालका मस्तिष्क हुन् । दक्षता र सिपले निर्णय लिन्छन् अनि नर्स मुटु हुन्, तिनलाई कार्यान्वयन गराउने । मस्तिष्कले सोच्न सक्छ, तर मुटु धड्किएन भने सोच पनि व्यर्थ हुन्छ । चिकित्सक पहिरन हुन् भने नर्स गहना र श्रृङ्गार हुन् । चिकित्सक श्वास हुन् भने नर्स ढुकढुकी हुन्, निरन्तर, मौन र जीवन्त चलिरहने । नर्सिङ सेवाबिना स्वास्थ्य उपचारको कल्पना नै गर्न सकिँदैन भन्ने कुरा केवल भावनात्मक अभिव्यक्ति होइन यथार्थ हो ।

आज माघ १५, नेपाली नर्स दिवस । यो दिन ती आँखाहरू सम्झने दिन हो, जसले रातभर निद्रा माया मारेर पनि बिरामीलाई मुस्कान दिन्छन् । यो दिन ती हातहरू सम्झने दिन हो, जसले औषधि मात्र होइन, ढाडस पनि दिन्छन् । यो दिन ती मनहरू सम्झने दिन हो, जसले पेशागत अनुशासनभित्र मानवीय संवेदना जोगाइराखेका छन् ।

नेपालमा नर्सिङ सेवाको औपचारिक इतिहास धेरै पुरानो छैन । तर यसको सामाजिक र मानवीय इतिहास भने हाम्रो समाजको पीडासँगै हुर्किएको छ । सन् १९५० को दशकतिर संगठित नर्सिङ शिक्षाको सुरुवात भयो । त्यो समय नर्स बन्नु केवल पेशा रोज्नु थिएन, सामाजिक रूढीहरूसँग जुध्नु पनि थियो । अझै पनि कतिपय ठाउँमा नर्सलाई केवल ‘सेवा गर्ने महिला’ का रूपमा बुझ्ने प्रवृत्ति बाँकी नै छ ।

नर्सिङ केवल सेवा भाव होइन, यो विज्ञान हो, दक्षता हो, समयमै लिइएको निर्णय हो र कहिलेकाहीँ जीवन र मृत्युको सिमानामा गरिएको सही हस्तक्षेप हो ।

अस्पतालको वास्तविक जीवन बिहानको ओपीडीमा होइन, रातको सिफ्टमा देखिन्छ । जब वार्ड शान्त देखिन्छ, तर प्रत्येक बेडमा एउटा कथा सास फेरिरहेको हुन्छ । त्यही बेला नर्सहरू घडी होइन, मोनिटर हेरिरहन्छन् । उनीहरू आफ्नो थकान होइन, बिरामीको श्वास गन्छन्, धड्कन सुन्छन् ।

चिकित्सकले दिएको निर्देशनलाई व्यवहारमा उतार्ने जिम्मेवारी नर्सकै काँधमा हुन्छ । औषधि सही समयमा दिनु, साइड इफेक्ट पहिचान गर्नु, बिरामी र परिवारलाई बुझाउनु—यी सबै काम नर्सको दैनिकी हुन् । प्रसूति कक्षमा नर्सको भूमिका अझ गहिरो हुन्छ । पीडामा चिच्याइरहेकी महिलाको पहिलो भरोसा नर्स नै हुन्छ।

चिकित्सक आउनुअघि अवस्था आँकलन गर्ने आँखा नर्सकै हुन्छ । बच्चाको पहिलो रोदन सुन्दा मनमनै राहतको सास फेर्ने मन पनि नर्सकै हुन्छ। धेरैजसो प्रसवहरूमा नर्स नै त्यो अदृश्य स्तम्भ हुन्, जसले जीवनलाई सुरक्षित रूपमा यस संसारमा ल्याउँछन् ।

नर्स दिवस मनाउनुको उद्देश्य पनि सायद यस्तै होला ।

नर्सको भूमिकालाई केवल प्रशंसा होइन, सम्मान र संरचनागत मान्यतामा रूपान्तरण गर्नु पनि हो । तर आजको यथार्थ हेर्दा यो उद्देश्य पूरा भएको देखिँदैन । आज नेपाली नर्सहरू ठूलो सङ्ख्यामा विदेश गइरहेका छन् । अष्ट्रेलिया, बेलायत, क्यानडा, जापान, यी देशहरू अब केवल भौगोलिक नाम होइनन्, नर्सहरूको आशाको ठेगाना बनेका छन्। यो पलायन कुनै विलास होइन बाध्यता हो ।

यहाँ उनीहरूले मेहनतअनुसार तलब पाउँदैनन्, श्रम अनुसार सम्मान पाउँदैनन् र सीपअनुसार अवसर पाउँदैनन् । लामो सिफ्ट, सीमित जनशक्ति, मानसिक दबाब र पेशागत असुरक्षा—यी सबैले नर्सलाई थकित बनाएको छ । विडम्बना के छ भने, जहाँ नर्स उत्पादन हुन्छन्, त्यहीं अभाव छ। जहाँ सेवा सबैभन्दा धेरै चाहिन्छ, त्यहीँ अनुभवी हातहरू बाहिरिएका छन् । ग्रामीण स्वास्थ्य चौकीहरूमा नर्स छैनन्, शहरका अस्पतालमा भएका नर्सहरू बोझले थिचिएका छन् ।

नर्स विदेश जानु त्यति नराम्रो कुरा होइन तर नर्सहरू फर्कन चाहून् भन्ने वातावरण बनाउनु राज्यको दायित्व हो ।

नर्सिङलाई अझै पनि ‘सपोर्टिङ प्रोफेशन’ को रूपमा हेर्ने सोच बदलिनै पर्छ । नर्स सहायक होइनन् । नर्स स्वास्थ्य प्रणालीका आधार स्तम्भ हुन् । उनीहरू बिना अस्पताल केवल भवन हुन्छ, जीवन बचाउने संस्था होइन । म चिकित्सक हुँ । तर मेरो ज्ञान, मेरो निर्णय र मेरो अनुभव नर्सबिना अधुरो छ । मैले गरेको धेरै सफल उपचारको पछाडि नर्सहरूको सतर्कता, समर्पण र मानवीय स्पर्श लुकेको छ ।

त्यसैले नर्स सम्मानित हुनु भनेको केवल नर्सको जित होइन, यो बिरामीको जित हो, यो समाजको जित हो र यो राष्ट्रको स्वास्थ्य भविष्यको जित हो ।

आज माघ १५ मा, हामीले नर्सका लागि फूल र शुभकामनासँगै नीति, बजेट र इमानदार प्रतिबद्धता पनि माग्नुपर्छ । उचित तलब, सुरक्षित कार्यस्थल, करियर विकास र निर्णय प्रक्रियामा सहभागिता—यी नर्सहरूको माग होइन, स्वास्थ्य प्रणालीको आवश्यकता हो ।

अस्पतालमा चिकित्सक गीत हो भने नर्स संगीत हुन् । संगीतबिना गीत अधुरो हुन्छ । सङ्गीत बिना गीत केवल शब्द मात्र हुन्छ ।

अस्पताल नर्स
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय