News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थोस्टेटिक हाइपोटेन्सन भनेको बसिरहेको वा सुतिरहेको अवस्थाबाट जुरुक्क उठ्दा रक्तचाप घट्ने समस्या हो जसले चक्कर लाग्ने, आँखाअगाडि अँध्यारो छाउने लक्षण देखाउँछ।
- यो समस्या विशेषगरी वृद्धवृद्धा, दीर्घकालीन रोगबाट पीडित र केही औषधि सेवन गर्नेहरूमा बढी देखिन्छ र समयमै उपचार नगरेमा जटिलता निम्त्याउन सक्छ।
कहिलेकाहीँ बिहान उठ्दा वा बसिरहेको अवस्थाबाट जुरुक्क उभिँदा टाउको भननन…घुमाउने, आँखाअगाडि अँध्यारो छाउने, चक्कर लाग्ने वा कमजोरी महसुस हुने अनुभव धेरै हुने गर्छ । यो स्वभाविक हो, डराउनु पर्दैन । कहिलेकाहीँ रक्तसञ्चार असन्तुलन भएका बेला यो सन्तुलनमा आउन खोज्दा यस्तो हुन्छ । कहिलेकाहीँ आराम नपुग्दा पनि हुन्छ, र एकैछिनमा ठीक पनि हुन्छ ।
तर यदि यही समस्या बारम्बार दोहोरिन्छ भने यो केवल थकान वा कमजोरी मात्र होइन । यो शरीरभित्र लुकेको कुनै गम्भीर स्वास्थ्य अवस्थाको सुरुवाती संकेत हुन सक्छ ।
चिकित्सा विज्ञानमा यसलाई ‘अर्थोस्टेटिक हाइपोटेन्सन’ वा ‘पोस्चुरल हाइपोटेन्सन’ भनिन्छ ।
नेपालीमा यसलाई बसिरहेको अवस्थामा जुरुक्क उठ्दा रक्तचाप घट्ने समस्या वा उभिँदा चक्कर लाग्ने अवस्था भन्न सकिन्छ । यो समस्या विशेषगरी वृद्धवृद्धा, दीर्घकालीन रोगबाट पीडित व्यक्ति तथा केही औषधि सेवन गर्नेहरूमा बढी देखिन्छ । यदि समयमै ध्यान दिइएन भने चोट लाग्ने वा अन्य जटिलताको कारण बन्न सक्छ ।
यो समस्या के हो ? कसरी हुन्छ ?
अर्थोस्टेटिक हाइपोटेन्सन भनेको बसिरहेको वा सुतिरहेको अवस्थाबाट उभिँदा रक्तचापमा अचानक कमी आउने अवस्था हो । सामान्यतया उभिएपछि ३ मिनेटभित्र सिस्टोलिक रक्तचाप २० मिलिमिटर मर्करी वा त्यो भन्दा बढी वा डायस्टोलिक रक्तचाप १० मिलिमिटर मर्करीभन्दा वा त्योभन्दा बढी घट्छ । यो कमीले मस्तिष्कमा रगत र अक्सिजनको आपूर्ति केही समयका लागि कम हुन्छ जसबाट चक्कर लाग्ने, बेहोस् हुने जस्ता लक्षण देखा पर्छन् ।
स्वस्थ व्यक्तिमा शरीरको स्नायु प्रणालीले यो कमी रोक्न हृदयको गति बढाउँछ र रक्तनलीहरूलाई साँघुरो बनाउँछ । तर यदि यो प्रक्रिया ढिलो भयो वा शरीरमा रगतको मात्रा कम भयो भने समस्या उत्पन्न हुन्छ । यो अवस्था पोजिसनल भर्टिगोसँग मिल्दोजुल्दो लाग्न सक्छ तर फरक छ । पोजिसनल भर्टिगोमा टाउकाको स्थिति परिवर्तन गर्दा मात्र घुम्ने महसुस हुन्छ जबकि अर्थोस्टेटिक हाइपोटेन्सनमा उठ्दा मात्र चक्कर लाग्छ ।
यो समस्याका प्रमुख लक्षणहरू के–के हुन् ?
यो समस्याका लक्षणहरू प्रायः बसेर उठ्नेबित्तिकै तुरुन्तै देखा पर्छ र बस्दा वा सुत्दा छिट्टै निको हुन्छ ।
मुख्य लक्षणहरू
-बसेको ठाउँबाट उठ्दा तुरुन्तै शिर घुम्ने वा चक्कर लाग्ने अनुभव हुन्छ ।
-आँखाअगाडि अँध्यारो छाउने वा धमिलो देखिने हुन्छ ।
-शरीरमा कमजोरी, थकान वा अस्थिर महसुस हुन्छ ।
-केही अवस्थामा बेहोस् हुने वा लड्ने जोखिम बढ्छ ।
-मुटुको धड्कन छिटो हुने, टाउको दुख्ने वा काँध तथा घाँटी दुख्ने पनि हुन सक्छ ।
-छटपट हुने वा पसिना आउनेजस्ता लक्षण पनि देखिन सक्छन् ।
यी लक्षणहरू केही सेकेण्डदेखि केही मिनेटसम्म रहन्छन् । बिहानको समयमा यो समस्या बढी हुन्छ, किनकि रातभरि रक्तचाप स्वाभाविक रूपमा कम हुन्छ । यदि यो समस्या बारम्बार दोहोरिन्छ भने यो सामान्य होइन र चिकित्सकीय जाँच आवश्यक हुन्छ ।
कारणहरू
यो समस्याका धेरै कारणहरू हुन सक्छन्, जसमा केही सामान्य र केही गम्भीर पनि छन् ।
पानीको कमी वा डिहाइड्रेशन सबैभन्दा सामान्य कारण हो जुन समस्या ज्वरो आएको बेला बान्ता आएपछि, व्यायाम गर्दा र कम पानी पिउँदा हुन्छ ।
रगतको कमी अर्थात् एनीमिया वा भिटामिन बी१२ को कमीले पनि यो समस्या निम्त्याउँछ ।
उच्च रक्तचाप, मुटुको समस्या, डिप्रेसन वा पार्किन्सन्सका औषधिले रक्तचाप घटाउने प्रभाव पार्छ । मुटुको भित्तामा समस्या, मुटुको धड्कन कम हुने (ब्राडिकार्डिया) वा हार्ट फेलियरले पनि यो अवस्था ल्याउँछ । स्नायुप्रणालीसँग सम्बन्धित रोगहरू जस्तै पार्किन्सन्स, मल्टिपल सिस्टम एट्रोफी, मधुमेहबाट स्नायु क्षति पुगेको अवस्थामा शरीरभित्र हुने ब्यारोरिफ्लेक्स तन्त्र कमजोर बनाउँछ ।
ब्यारोरिफ्लेक्स भनेको शरीरको ‘रक्तचाप तुरुन्तै नियन्त्रण गर्न सक्ने प्रतिक्रिया’ हो, रक्तचाप बढ्दा मुटुको कम्पन सुस्त बनाउँछ र रक्तनली फराकिलो बनाउँछ, भने घट्दा मुटुको गति छिटो बनाउँछ र रक्तनली साँघुरो बनाउँछ, जसले उभिँदा वा अन्य अवस्थामा चक्कर लाग्नबाट बचाउँछ ।
साथै, थाइराइडको समस्या, कम ब्लड सुगर वा लामो समय बेड रेस्टले पनि यो समस्या हुन सक्छ । वृद्धावस्थामा यो बढी देखिन्छ, किनकि उमेरसँगै शरीरको ब्यारोरिफ्लेक्स प्रणाली कमजोर हुन्छ ।
किन गम्भीर मानिन्छ यो समस्या ?
बारम्बार चक्कर लाग्नु भनेको शरीरको रक्तचाप नियन्त्रण गर्ने ‘ब्यारोरिफ्लेक्स’ ले ठीकसँग काम नगरेको संकेत हो । यो समस्याले मुटुको धड्कन अनियमित हुने, नर्भ क्षति वा अन्य गम्भीर रोगको सुरुवातको संकेत गर्न सक्छ । यदि यसलाई बेवास्ता गरियो भने जोखिम बढ्छ, जसबाट हड्डी भाँचिने, टाउकोमा चोट लाग्ने वा अन्यहरू हुन सक्छ।
विशेषगरी वृद्धहरूमा यो जोखिम बढी हुन्छ जसले अस्पताल भर्ना, दीर्घकालीन असर वा मृत्युको सम्भावना बढाउँछ । यसले जीवनको गुणस्तर घटाउँछ, डिप्रेसन निम्त्याउछ र दैनिक क्रियाकलापमा बाधा पुर्याउँछ ।
कसरी गरिन्छ समस्याको पहिचान ?
चिकित्सकले सुरुमा बिरामीको ‘हिस्ट्री’ सुन्छन् र रक्तचाप जाँच गर्छन् । सुतिरहेको अवस्थामा र उभिएपछिको रक्तचाप मापन गरिन्छ । यदि शंका भएमा ‘टिल्ट टेबल टेस्ट’ गरिन्छ, जसमा बिरामीलाई टेबलमा सुताएर ६० डिग्री कोणमा उठाइन्छ र रक्तचाप तथा हृदयको गति जाँचिन्छ ।
रगत परीक्षणबाट एनीमिया, भिटामिनको कमी, ब्लड सुगर, थाइराइड जाँच गरिन्छ । मुटुको अन्य जाँच पनि आवश्यक पर्न सक्छ । यदि स्नायुमा समस्या भएको शंका भएमा ‘अटोन्युमेटिक फंसन’ परीक्षण गरिन्छ । यी जाँचहरूले समस्याको कारण पत्ता लगाउन मद्दत गर्छन् ।
उपचार
उपचार समस्याको मूल कारणमा आधारित हुन्छ । मुख्य उद्देश्य लक्षण कम गर्ने र चक्कर लागेर लड्ने जोखिम रोक्नु हो । जीवनशैलीमा परिवर्तन सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय हो । बिस्तारै उठ्नु आवश्यक छ । सुतिरहेको अवस्थाबाट उठ्दा पहिले केही समय बस्नुहोस्, १–२ मिनेट पर्खनुहोस् र त्यसपछि मात्र उभिनुपर्छ ।
दिनमा २ देखि ३ लिटर पानी पिउनुहोस् र इलेक्ट्रोलाइटयुक्त पेय पदार्थ सेवन गर्नुहोस् । चिकित्सकको सल्लाहमा आहारमा नुनको मात्रा बढाउन सकिन्छ । खानेकुरा पटक-पटक गरी खाने र कार्बोहाइड्रेड कम गर्नुपर्छ ।
मदिराबाट टाढा रहने, खुट्टाका मांसपेशी बलियो बनाउने व्यायाम गर्ने, राति टाउको अलि उठाएर सुत्ने गर्न सकिन्छ । यदि जीवनशैली परिवर्तनले पर्याप्त नभएमा औषधि प्रयोग गरिन्छ ।
रोकथाम
यो समस्याबाट बच्न नियमित जीवनशैली सुधार आवश्यक छ । दिनभरि पर्याप्त पानी पिउने, नुनको मात्रा सन्तुलित राख्ने । नियमित व्यायाम गर्ने, विशेषगरी खुट्टा र पेटका मांसपेशी बलियो बनाउने हल्काफुल्का व्यायाम गर्ने र औषधि परिवर्तन गर्नुपरे चिकित्सकको सल्लाह लिनुपर्छ ।
यदि समस्या बारम्बार दोहोरिन्छ भने तुरुन्त चिकित्सकलाई देखाउनु उचित हुन्छ । समयमै जाँच गर्दा गम्भीर जटिलता रोक्न सकिन्छ ।
प्रतिक्रिया 4