
News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको कालिका नगरपालिका-६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरी पोसाक लगाएर चोरी गर्न आएका दुई व्यक्ति जम्काभेटपछि फरार भएका छन्।
- नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी प्रयास भएको र मोटरसाइकल पनि चोरी भएको प्रहरीले पुष्टि गरेको छ।
- इलाका प्रहरी कार्यालय रत्ननगर र जिल्ला प्रहरी कार्यालयले फरार कैदीबन्दीको सम्भावना सहित घटनाको अनुसन्धान थालेका छन्।
२८ असोज, चितवन । चितवनको कालिका नगरपालिका-६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ ।
घरधनीसँग जम्काभेट भएपछि निजहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए ।
घटना विवरणअनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरू खतिवडासँग जम्का भेट भएपछि प्रहरी भन्दै उम्किएका थिए ।
खतिवडाले भने, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौं । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शंका लाग्यो ।’
‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घरअगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए’, घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासि नयाँ मान्छे देख्दा म आत्तिएँ । चोर ! भन्ने सम्झेँ। तर बोल्न सकिनँ ।’
ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आत्तिएर काकाको घरतर्फ गएको खतिवडाले बताए ।
भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए ।
निजहरूले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उनले सुनाए ।
घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको खतिवडाले बताए ।
राति नै प्रहरीलाई खबर गरी घटनाका विवरण सुनाएको उनले जानकारी दिए । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखेको खतिवडाले बताए ।
उनका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरू बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरूलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताए । उनीहरू प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्का बीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए । उनले भने, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।’
चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार रहेका छन् ।
प्रतिक्रिया 4