
२८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४१ हजारभन्दा बढीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको छ ।
महानगरका मेयर बालेन साहका अनुसार चालु वर्षका साउन र भदौमा ४१ हजार ९७१ जना नगरवासीले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
पहिलो आर्थिक वर्ष २०७९/८० मा सबै वडामा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ पूर्वाधार विकासमा जोड दिइयो थियो । त्यसपछि २०८०/८१ मा १ लाख २४ हजार ४४ जना नगरवासीले स्वास्थ्य सेवा लिएका थिए । यसैगरी आर्थिक वर्ष २०८१/८२ मा यो संख्या बढेर १ लाख ९४ हजार १९३ पुगेको थियो ।
यो वर्ष कम्तीमा २ लाख ५० हजार नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अनुमान गरिएको महानगरले जनाएको छ ।
‘स्वास्थ्य सबै नागरिकको अधिकार हो’ भन्ने मूल नाराका साथ आज काठमाडौँ महानगरका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू स्थापना भई नियमित रूपमा सेवा दिँदै आइरहेको महानगरले जनाएको छ । तीमध्ये १० वटा केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पनि लागु भइसकेको छ
महानगरका स्वास्थ्य केन्द्रहरूमा एमबीबीएस चिकित्सकमार्फत नगरवासीलाई हरेक दिन नियमित उपचार सेवा उपलब्ध गराउँदै आएको महानगरले जनाएको छ ।
शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सम्भव नभएका उपचारका लागि सेवाग्राहीलाई सिभिल, वीर र टिचिङ अस्पतालमा रेफर गरिने गरेको महानगरको भनाइ छ ।
नगरवासीको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महानगरले स्वास्थ्य बीमा, निःशुल्क उपचार, रेफरल सेवा र विशेषज्ञ सल्लाह सबै एकीकृत रूपमा अघि बढाएको छ ।
प्रतिक्रिया 4