+
+
Shares

पोखरामा आतंक बढेको भन्दै कास्की प्रहरीले थाल्यो अपरेसन ३६५

सडकमा मोटरसाइकल पड्काउँदै कुद्ने, केही भन्यो भने प्रहरीदेखि नागरिकसम्मै आक्रमण हुनसक्ने डर र आतंक सिर्जना भएपछि अपरेसन ३६५ चलाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ असोज २८ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट आतंक सिर्जना भएपछि कास्की प्रहरीले सोमबारदेखि अपरेसन ३६५ सञ्चालन गरेको छ।
  • अपरेसन ३६५ अन्तर्गत स्वरूप परिवर्तन गर्ने वर्कसप र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
  • तिहारको मुखमा पक्राउ परेकालाई छाड्न दबाब दिइरहेका पूर्वप्रहरी, व्यवसायी र नेताको फोन आएको प्रहरीले जनाएको छ।

२८ असोज, पोखरा । केही दिनअघि पोखरा लेखसाइडमा बुलेट मोटरसाइकल पड्काउँदै कुद्ने युवालाई सम्झाउन खोज्दा एकजना व्यवसायी कुटिए ।

मोटरसाइकल पड्काउँदै आधा रातमा क्वाटवाक क्लबबाट निस्किएका दुई युवाले फर्कीफर्की शहरै आतंकित हुनेगरी प्रदर्शनमात्रै गरेनन्, ती व्यवसायीको मुखमा प्रहार गरेर भागेका थिए ।

२० असोजमा पोखरा हल्लनचोकमा भारतीय मूलका व्यवसायी सन्तोष भनिने रोहित चौधरीमाथि मोटरसाइकलमा आएका व्यक्तिले प्रहार गरेर भागे । स्वरूप परिवर्तन (मोडिफाइ) गरिएको उक्त मोटरसाइकलमा आएका व्यक्तिलाई प्रहरीले अहिले पनि खोजिरहेको छ ।

यस्ता घटना हुन थालेपछि ४ दिनअघि होटल संघलगायत पोखराका पर्यटन व्यवसायीका संस्था र प्रहरीबीच छलफल भयो ।

त्यहाँ व्यवसायीहरूले पर्यटकीय क्षेत्रमा शान्ति सुरक्षाको वातावरण खल्बलिँदै गएको चिन्ता व्यक्त गरे भने मोटरसाइकल पड्काउँदै हिँड्नेहरूले आतंक नै सिर्जना गरेको भन्दै नियन्त्रणका लागि प्रहरीलाई अनुरोध गरे ।

जेनजी आन्दोलनका क्रममा २४ भदौमा पोखरामा भएका सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड तथा लुटपाट र आगजनीमा समेत स्वरूप परिवर्तन गरिएका बुलेट, क्रस फायर, पल्सर, भीआरजस्ता मोटरसाइकल प्रयोग भएका थिए ।

नेतादेखि व्यवसायीसम्मको घर जलाउने, लुटपाट गर्नेदेखि प्रहरीको हतियार खोसेर गायबसमेत भएकाले प्रहरीले यस्ता मोटरसाइकलमाथि निगरानी गरिरहेको थियो ।

नक्कली पेस्तोल देखाउँदै चोरी गर्ने एकजना सोमबार मात्रै पनि पक्राउ परेका थिए । पोखरामा चोरीका घटनामा पनि यस्ता मोटरसाइकल प्रयोग भएको पाइएको छ ।

स्वरूप परिवर्तन गरेका मोटरसाइकलबाट शहरमा आतंक सिर्जना भएको गुनासोपछि कास्की प्रहरीले अपरेसन ३६५ सञ्चालन गरेको छ ।

अहिले कास्की प्रहरी प्रमुख नवीन कार्की छन् । जेनजी आन्दोलनपछि कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाको सरुवा भएर कार्की कास्की आएका छन् । कार्कीकै नेतृत्वमा सोमबारदेखि अपरेसन ३६५ चलाइएको हो ।

चोरी, लुटपाटका घटना जेनजी विद्रोहपछि झनै बढिरहेको गुनासो नागरिकले गरिरहेका छन् ।

सडकमा मोटरसाइकल पड्काउँदै हिँड्ने, केही भन्यो भने प्रहरीदेखि नागरिकसम्मै आक्रमण हुनसक्ने डर र आतंक सिर्जना भएका कारण पनि सोमबारदेखि अपरेसन ३६५ चलाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

‘पर्यटकीय शहरमा आतंक सिर्जना काम भयो भन्ने गुनासो धेरै आयो । केही त्यस्ता आपराधिक घटनासमेत देखिन थालेपछि कास्कीमा अपरेसन ३६५ चलाइएको हो,’ बस्नेतले भने, ‘अभियान सोमबारबाट सुरु भएर वर्षभरि नै चल्ने भएकाले यो नाम राखिएको हो ।’

प्रहरीको अपरेसनमा सडकमा कुदिरहेका मोटरसाइकल मात्रै होइन, स्वरूप परिवर्तन गर्ने वर्कसपहरूसमेत परेका छन् ।

पोखराको सिर्जनाचोक, रत्नचोकलगायत विभिन्न ठाउँमा स्वरूप परिवर्तन हुने वर्कसप सञ्चालकहरूलाई समेत प्रहरीले पक्राउ गरेको छ भने त्यहाँका मोटरसाइकल पनि जफत गरिएको छ ।

प्रहरीले अपरेसन ३६५ का लागि सादा पोसाकका प्रहरीसमेत परिचालन गरेको छ भने चोकचोकमा टोली खटाएर चेकजाँच गरिरहेको छ ।

चेकजाँचका क्रममा भागेका चालकलाई पछ्याउँदै प्रहरीले घरघर पुगेर नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका क्रममा वर्कसपहरूमा भाडामा साइलेन्सर पाइप परिवर्तन गर्न पाइने, स्वरूप परिर्तन गरेर विभिन्न ठाउँमा घुमेर पोखरा फर्किने र फेरि यहाँबाट पुरानै पाइप हालेर जाने गरेको पनि भेटिएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई सुरुमा ५ दिनको म्याद थपिएको छ भने मंगलबार पक्राउ परेकाहरूलाई बुधबार म्याद थपको तयारी गरिएको छ ।

उनीहरूमध्ये केही काठमाडौंलगायत विभिन्न ठाउँबाट पोखरा, मुस्ताङ घुम्न आएकाहरूसमेत छन् ।

काठमाडौं बाहिरबाट पोखरा आएर यहीँको वर्कसपमा स्वरूप परिवर्तन गरी मुस्ताङलगायतका जिल्लामा जाने गरेका युवाहरूसमेत नियन्त्रणमा परेका छन् ।

तिहारको मुखमा पोखरा घुम्न आउने, यहीँका नेतादेखि व्यवसायीसम्मका परिवार, आफन्तका सदस्य प्रक्राउ परेपछि दबाब दिँदै प्रहरीलाई फोन आइरहेको छ । फोन गरेर उनीहरूलाई छाड्न दबाब दिनेमा पूर्वप्रहरीदेखि व्यवसायी र नेतासम्म छन् ।

कतिपय व्यवसायी प्रहरीकोमै गएर घटनाबारे बुझ्ने र छोड्न आग्रह गर्नेसमेत गरिरहेका छन् । तर अधिकांशको मुद्दा दर्ता भइसकेको भन्दै प्रहरीले फर्काइदिने गरेको जनाइएको छ । नियन्त्रणमा परेकाहरूले तिहारमा समेत हिरासतमै बित्ने भएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिलाई अभद्र व्यवहार तथा प्रदेश यातायात ऐनअनुसार कारबाही र जरिवाना गराइने प्रहरीले जनाएको छ ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?