+
+
WC Series
Oman
0/0
VS
Nepal
0/0
Shares

कम्पनीले निःशुल्क दिएन, तर जेनजी समूहले सित्तैँ पाए भोटेकोशीको सेयर

भोटेकोशी जलविद्युत् आयोजनाको सेयर कम्पनीले सित्तैँमा दिएको सम्झौतामा देखिन्न, तर भोटेकोशी जेनजी समूहले दर्ता गरेको नयाँ कम्पनीले उक्त सेयर सित्तैँमा पाउने भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी पावर कम्पनीले भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर जेनजी समूहलाई सित्तैँ नदिएको दाबी गरेको छ।
  • जेनजी समूहले नयाँ कम्पनीमार्फत १० प्रतिशत सेयर सित्तैँ पाउने सहमति भएको छ र भोटेकोशी कम्पनीले त्यसको ऋण तिर्ने जिम्मा लिएको छ।
  • सेयर विवादका कारण आयोजनाले ३२ दिन बन्द भई ३२ करोड रुपैयाँ क्षति भएको थियो र अहिले आयोजनाले पुनः सञ्चालन पाएको छ।

२९ असोज, काठमाडौं । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकास्थित नेपालकै पुरानोमध्ये एक माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको सेयर जेनजी समूहलाई सित्तैँ नदिएको दाबी गर्दै भोटेकोशी पावर कम्पनी प्रालिले विज्ञप्ति निकालेको छ ।

कम्पनीले दाबी गरे जस्तै भोटेकोशी जलविद्युत् आयोजनाको सेयर कम्पनीले सित्तैँमा दिएको कम्पनी र जेनजी समूहबीच भएको सम्झौतामा देखिन्न । तर, भोटेकोशी जेनजी समूहले दर्ता गरेको नयाँ कम्पनीले उक्त सेयर सित्तैँमा पाउने भएको हो ।

यसको अर्थ भोटेकोशीको १० प्रतिशत सेयर जेनजी समूहले सिधै नभएर घुमाएर भए पनि सित्तैँमा लिएको छ ।

खासमा भएको के हो ?

२३ र २४ भदौमा जेनजी आन्दोलनले सरकार नै परिवर्तन गरेको भोलिपल्टै २५ भदौदेखि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजना बन्द गराएको थियो ।

‘भोटेकोशी गाउँपालिका जेनजी ग्रुप’ का नाममा २५ भदौमा केही युवा अपर भोटेकोशी जलविद्युत् आयोजनाको हेडवक्र्समा प्रवेश गरी स्पिलवे गेटहरू खोली आयोजना बन्द गरेका थिए ।

उनीरूले प्रभावित क्षेत्रका स्थानीयलाई आयोजनाको १० प्रतिशत सेयर सित्तैँ दिनुपर्ने माग गरेका थिए । तर, आयोजनाले भने १० प्रतिशत सेयर स्थानीयलाई दिन तयार भए पनि सित्तैँ दिन भने नसकिने बताएको थियो ।

आजभोलि हरेक जलविद्युत् आयोजनाले प्रभावित स्थानीयलाई आईपीओमा जाँदा १० प्रतिशत सेयर प्रभावित जनतालाई छुट्याउनुपर्छ । तर, अपर भोटेकोशी आयोजना निर्माण हुँदा प्रभावित र सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने अवधारणा नै सुरु भएको थिएन । त्यसो हुँदा भोटेकोशी पावर कम्पनी आईपीओमा गएको थिएन ।

‘त्यसकारण स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउन तयार छौं, तर त्यस्तो सेयर निःशुल्क उपलब्ध गराउन भने सकिँदैन,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विक्रमरत्न स्थापितको भनाइ थियो ।

यसबीच दुई पक्षबीच विभिन्न चरणमा वार्ता पनि भएको थियो । २ असोजमा भोटेकोशी गाउँपालिकाकै पहलमा पालिका कार्यालयमा आन्दोलनरत पक्ष र कम्पनीबीच भएको वार्ताका क्रममा आन्दोलनकारीले गाउँपालिका कार्यालयमै तोडफोड र आगजनी समेत गरेका थिए ।

आयोजना उत्पादन ३२ दिन बन्द हुँदा कम्पनीलाई ३२ करोड रुपैयाँ बराबर क्षति भएको थियो ।

२६ असोजमा सिन्धुपाल्चोक भोटेकोशीका स्थानीयको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रालिबीच सेयर बिक्री गर्ने गरी सहमति भएपछि आयोजना पुनः सञ्चालनमा आयो ।

दुई पक्षबीच भएको सम्झौता बमोजिम भोटकोशी कम्पनीले भोटेकोशी जेनजी पब्लिक कम्पनीका नाममा अंकित मूल्य १ सयका दरले १० प्रतिशत सेयर कम्पनीको नाममा दिने तर भोटेकोशी कम्पनी नै जमानी बसेर त्यस बराबर रकम बैंकबाट जेनजीका नाममा दर्ता भएको कम्पनीलाई मिलाइदिने उल्लेख छ ।

एक वर्षसम्म आयोजना निर्वाध सञ्चालन भएको अवस्थामा कम्पनीले दिने लाभांशबाट उक्त ऋण र ब्याजसमेत चुक्ता हुने र लाभांशबाट ऋणको सावाँब्याज भुक्तान नभए त्यो बाँकी रकम भोटेकाशी कम्पनीले नै सकार्ने अर्थात् तिरिदिने सहमति पनि भएको छ ।

यसको अर्थ १० प्रतिशत सेयर लिन भोटेकोशी जेनजी पब्लिक कम्पनी लिमिटेड वा गाउँपालिकाका प्रभावित जनता कसैले पनि पैसा तिर्नुपर्ने छैन । उनीहरूले सित्तैँमा सेयर पाउनेछन् ।

सेयर बिक्रीबापत भोटेकोशी कम्पनीले पाउनुपर्ने रकम ऋण लिएर बेहोरिने छ भने त्यो ऋणको जिम्मा लिने र तिर्ने जिम्मा पनि भोटेकोशी कम्पनीले नै लिएको छ । अर्थात्, जेनजी ग्रुपले अप्रत्यक्ष सित्तैँमा त्यो सेयर पाउने भएको छ ।

भोटेकोशी कम्पनीले निःशुल्क सेयर दिने गरी कुनै पनि सहमति नगरेको तथा कुनै आयोजनाले निःशुल्क सेयर दिन नसक्ने बारेमा निजी क्षेत्रका कम्पनीहरू एकमत रहेको निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले पनि जनाएको छ ।

यसकारण विद्यमान अवस्था अनुसार हरेक विद्युत् कम्पनी १० प्रतिशत सेयर दिन तयार रहे पनि निःशुल्क दिन नसक्ने जानकारी गराउँदै निःशुल्क सेयरका नाममा आयोजना निर्माणमा कुनै पनि अवरोध नगर्न तथा निःशुल्क सेयर मागेर आयोजनाहरूमा अवरोध गर्नेलाई निरुत्साहित गरी उचित शान्ति सुरक्षा सहित लगानीको वातावरण निर्माणका लागि पनि इप्पानले नेपाल सरकारसँग आग्रह गरेको छ ।

तर, माथिल्लो भोटेकोशी आयोजनामा भएको घटनाको प्रभाव स्वरूप स्थानीयले निःशुल्क सेयर माग्दै अन्य १० आयोजना निर्माणमा पनि अवरोध गरिरहेको इप्पानले जनाएको छ ।

सन् १९९६ मा स्थापित भोटेकोशी पावर कम्पनी प्रालि नेपालको सुरुवाती जलविद्युत् कम्पनी हो । सुरुमा अमेरिकाको पान्डा इनर्जी कम्पनीको लगानीमा यो परियोजना निर्माण भएको थियो । सन् २००१ देखि परियोजनाले विद्युत् उत्पादन गरिरहेको छ ।

सन् २००६ मा पान्डाले आफ्नो सेयर बिक्री गरेपछि नेपाली व्यवसायी सिद्धार्थशमसेर राणाको तारा म्यानेजमेन्टले ९५ प्रतिशत सेयर लिएको छ भने ५ प्रतिशत सेयर अमेरिकी कम्पनीसँगै छ ।

यसअघि २०१४ मा सिन्धुपाल्चोकको जुरे पहिरोले प्रसारण लाइन बगाउँदा स्थानीयले कम्पनीसँग सेयर माग्दै पुनर्निर्माणमा अवरोध गरेका थिए । त्यसपछि स्थानीय र राजनीतिक दलसँग वार्ता गरी कम्पनीको ६ प्रतिशत सेयर प्रभावित बासिन्दालाई ‘फेस भ्यालु’ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँका दरले दिने सहमति भएको थियो ।

अहिले दिने भनिएको १० प्रतिशत सेयर पनि त्यसबेलाको ६ प्रतिशतमा ४ प्रतिशत थप गरेर गरिएको सम्झौतामा उल्लेख छ ।

२०७२ मा गएको पहिरोले आयोजनामा ठूलो क्षति पु‍र्‍याएको थियो । त्यसपछि फेरि हिमपहिरोका कारण आएको बाढीले आयोजनालाई थप क्षति पुगेको थियो । त्यसबेला बन्द भएको आयोजना मर्मतपछि सन् २०१९ मा मात्रै पुनः सञ्चालनमा आएको थियो ।

यसअघि भोटेकोशीको सेयर प्राप्त गर्न भोटेकोशी पब्लिक इन्भेस्टमेन्ट कम्पनी दर्ता भइसकेकोमा अहिले जेनजी समूहले अर्कै कम्पनी खडा गरी उक्त कम्पनीमा सेयर लिने सम्झौता गरेका छन् ।

तर, भोटेकोशी जेनजी पब्लिक इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीले स्थानीयलाई कसरी सेयर दिन्छन्, त्यो प्रक्रिया कत्तिको पारदर्शी हुन्छ भन्ने स्पष्ट छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?