
३२ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने आवाज उठेको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रममा ओलीलाई बिदा गर्ने र अहिलेकै पदाधिकारीमध्ये कुनै एकजनालाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने आवाज उठेको हो ।
यस्तो धारणा राख्ने केन्द्रीय सदस्य रबिन कोइराला हुन् । उनले भने, ‘अध्यक्ष कमरेड अब तपाईंले बिदा लिनुस् र अभिभावक बन्नुस् । महाधिवेशनका लागि भएकै पदाधिकारीमध्येबाट एक जना संयोजक तोकेर जाऔं ।’
हिजोबाट सुरु एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रस्तावमा आगामी मंसिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्ने प्रस्ताव छ ।
सो राजनीतिक प्रस्तावमा जेनजी युवा आन्दोलनमा जनधनको क्षति हुनुमा तत्कालीन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सामान्य आत्मालोचना पनि नभएको भनेर पनि विरोध भएको छ ।
‘हामी यत्रो विध्वंसपछि यहाँ छौ । यो विध्वंस हुँदा हाम्रो पार्टी अध्यक्ष देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । यसबखत आएको प्रतिवेदनमा सामान्य आत्मालोचना पनि छैन । यो विडम्बनापूर्ण छ,’ उनले भने ।
आफूले गरेको गल्ती महसुस नगरेको भन्दै उनले अध्यक्ष ओलीप्रति कटाक्ष गरे । लेनिनको भनाइ उद्धृत गर्दै उनले भने, ‘जो व्यक्तिले आफ्नो गल्ती महसुस गर्दैन त्यो मानिस होइन ।’
उनले समाजका तमाम असफलताहरु अरुले गरेको भनेर आज पत्याउने परिस्थिति नभएको बताए ।
अर्का केन्द्रीय सदस्य रामलाल साहले रामलाल साह (मोरङ)ले नेपालमा हस्तक्षेप गर्ने वैदेशिक शक्ति किटान गर्नुपर्ने धारणा राखे । ‘वैदेशिक हस्तक्षेप हो भने क-कसको हो किटान गरौं र सोधौं । होइन भने समस्याको समाधान बाहिर नखोजौं’, उनले भने ।
प्रतिक्रिया 4