
३० असोज, काठमाडौं । मेडागास्करमा महिनौँदेखि जेनजी विरोध प्रदर्शन र सेनाको हस्तक्षेपले सङ्कट गहिरिएपछि पदबाट हटाइएका राष्ट्रपति एन्ड्री राजोलिनाले पहिलोपटक आफू देश छाडेर हिँडेको कुरा स्वीकार गरेका छन्।
राजोलिनाले गत अक्टोबर ११ र १२ तारिखको बीचमा ‘आफ्नो ज्यानलाई स्पष्ट र अत्यन्त गम्भीर खतराहरू’ आएपछि देश छोड्न बाध्य भएको बताएका छन्। उनले बुधबार राति जारी गरेको विज्ञप्तिमा आफू विदेश भ्रमणमा रहँदा नै ती धम्कीहरू प्राप्त भएको उल्लेख गरेका छन्।
राजोलिनाको यो यात्रालाई सामान्य सरकारी भ्रमणका रूपमा देखाइएको भए पनि मिडिया रिपोर्टहरूले ५१ वर्षीय यी नेतालाई आइतबार फ्रान्सेली सैन्य विमानबाट देशबाहिर लगिएको सङ्केत गरेका थिए। यसअघि उनले आफू ‘सुरक्षित स्थानमा’ रहेको बताए पनि गन्तव्य खुलाउन मानेका थिएनन्।
सन् २००९ मा सैन्य समर्थनमा आएको आन्दोलनपछि सत्तामा पुगेका राजोलिनाले हालै राष्ट्रिय सभाले सेनासँग मिलेर आफूलाई असंवैधानिक तरिकाले हटाएको आरोप लगाएका छन्।
यता, सत्ता नियन्त्रणमा लिएका सैनिक अधिकारीहरूले कर्नेल माइकल रान्ड्रियानिरिनालाई नयाँ राष्ट्रपतिका रूपमा चयन गरेका छन्। उनले शुक्रबार शपथ लिने कार्यक्रम छ।
पानी र बिजुलीको अभावका कारण त्यहाँ सेप्टेम्बर २५ बाट आन्दोलन सुरु भएको थियो । यो आन्दोलन युवा नेतृत्वको ‘जेनजी’ आन्दोलनका रूपमा परिचित भएको छ ।
यद्यपि, अन्तर्राष्ट्रिय समुदायले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसङ्घले यसलाई ‘असंवैधानिक रूपमा सत्ता कब्जा’ भनेर निन्दा गरेको छ भने अफ्रिकी युनियनले बुधबारदेखि नै मेडागास्करको सदस्यता निलम्बन गर्ने घोषणा गरेको छ।
माली, बुर्किना फासो, नाइजर, ग्याबोन र गिनीमा हालै भएका सैनिक विद्रोहपछि २०२० यता सैन्य शासनको चपेटामा पर्ने अफ्रिकाका पूर्व फ्रान्सेली उपनिवेशहरूमध्ये मेडागास्कर अहिले पछिल्लो राष्ट्र बनेको छ। एएफपी
प्रतिक्रिया 4