+
+
WC Series
Nepal
211/4 (20)
VS
Samoa
0/0
Shares

कांग्रेस मनोगत चाहनाको बन्धक नबनोस्

कांग्रेस पार्टीका परिवर्तन रोक्न चाहनेहरूलाई एउटा मात्र आग्रह छ – बस्,अब तपाईंहरूको ज्यादती र दादागिरी अति भयो । पार्टीलाई अब तपाई‌ंहरूको मनोगत चाहनाको बन्धक बनाउनबाट मुक्त गरिदिनुहोस्।

शंकर तिवारी शंकर तिवारी
२०८२ असोज ३१ गते १३:२०

२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थिति र ०८२ फागुन २१ का लागि घोषित निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विधान अनुसार विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन्। कांग्रेस इतिहासमा बिरलै सुनिएको विशेष महाधिवेशनको वर्तमान परिप्रेक्ष्यमा के महत्त्व छ भन्ने बारेमा यो लेख केन्द्रित रहने छ।

नेपालमा दलहरू लोकतान्त्रिक छैनन्। त्यही भएर विद्वानहरू नेपाली लोकतन्त्रलाई दलतन्त्र भन्छन्। प्रकृति भट्टराईले त दल भित्रको ढल फेर्नुपर्छ भनेकी छन्। प्रदीप गिरीले दलहरू गुट भन्दा पनि गिरोहको सिकार भएको भन्नुहुन्थ्यो, हिन्दी सिनेमामा देखिने डाँकु दस्ताको उदाहरण दिएर।

मैले यसलाई पार्टी कब्जाको मनोविज्ञानको उपमा दिएको थिएँ। यावत् कारणहरूले गर्दा नेपालमा दलहरूको बारेमा आम मानिसमा सकारात्मक धारणा छैन। एउटा लोकतन्त्रमा जब राजनीतिक दलकाप्रति सकारात्मक धारणा हुँदैन त्यो लोकतन्त्र धरापमा उभिएको हुन्छ। भाद्र २३ र २४ को घटना हुनुमा एउटा मुख्य कारण दलहरूकाप्रति आम मानिसका मनमा जकडिएको नकारात्मक धारणाको उपज थियो।

नेपाली कांग्रेस पार्टीको १५ औं महाधिवेशनको संघारमा छ। २०७८ सालमा मङ्सिरमा अधिवेशन भएकाले २०८२ मङ्सिरमा यो दलको अधिवेशन भएको ४ वर्ष पूरा हुन्छ। तर किन कांग्रेस कार्यकर्ताले नियमित अधिवेशनमा नपर्खेर विशेष अधिवेशनका लागि हस्ताक्षर गरे त्यो कुराको अन्तर्य निकै महत्त्वपूर्ण छ।

यसका अनेक अर्थ छन् त्यसमध्ये पहिलो- कांग्रेस कार्यकर्तालाई नियमित अधिवेशन समयमा हुन्छ भन्नेमा विश्वास छैन। किनकि कांग्रेसको पछिल्ला ३ अधिवेशन १२ औं, १३ औं र १४ औं अधिवेशन ४ वर्षको समय सीमामा भएका थिएनन् ।

पार्टी विधानको संकटकालीन धारा र संविधानमा दल सम्बन्धी धाराको आपतकालीन व्यवस्थालाई उपयोग गर्दै साढे ५ वर्षमा अधिवेशन गरिएको छ। त्यो कुरा कांग्रेस नेतृत्वलाई झण्डै आदत जस्तो भएको छ।

दोस्रो- भाद्र २३ र २४ पछि नेपाली राजनीतिको कायकल्प भएको छ। कांग्रेसको संसद्‌मा ठूलो दलको हैसियत वा गठबन्धन सरकारमा ठूलो दलको हैसियत अब बाँकी रहेन, कांग्रेस एकाएक सडकमा पुगेको छ। कांग्रेसले फेरि एकपटक आफ्नो नेतृत्वको विश्वसनीयतालाई आम जनताका माझ सम्परीक्षण गर्नुपर्ने भएको छ।

कांग्रेस कार्यकर्तालाई मौजुदा नेतृत्वबाट कांग्रेसको संसद्‌मा सम्मानजनक उपस्थिति हुन्छ भन्ने कुरामा विश्वास छैन। कांग्रेस कार्यकर्तामा कतै वर्तमान नेतृत्व नै बहानाबाजी र तिकडम गरेर चुनावसम्म जाने त होइन भन्ने भय मात्र होइन, आक्रोश समेत छ।

तेस्रो- पार्टीको वर्तमान नेतृत्वले भदौ २३/२४ मा निर्माण भएको परिस्थितिका लागि नैतिक जिम्मेवारी बहन गर्नुपर्छ भन्ने पनि हो। तेह्रौँ र १४औं महाधिवेशनबाट शेरबहादुर देउवाले प्रष्ट बहुमत पाएका थिए।

उनले सत्ता विलास गर्दा ‘सिद्धान्त’ लाई तिलाञ्जली दिए। गठबन्धन/ गठबन्धन, चुनाव अगाडि गठबन्धन/ चुनाव पछाडि गठबन्धन, हमेशा सत्तासत्ता, प्रतिपक्षको नेता हुँदा पनि सत्तापक्षसँग हिस्सेदारी लिने । समग्रमा उनले सत्ताको चास्नीका लागि के मात्र गरेनन् ! देउवा नेतृत्वको एक दशकको अवधिमा कांग्रेसले आफ्नो मूल चरित्र जोगाउन सकेन, कहिले प्रचण्ड कांग्रेस त कहिले ओली कांग्रेस बन्न पुग्यो ।

मूलत: उनी ट्रान्जेक्सनल कारोबारी नेता थिए। नेपाली कांग्रेसलाई र देशलाई अहिले रूपान्तरणकारी ट्रान्सफर्मेसनल लिडरसिप चाहिएको छ।

चौथो- नेपाली कांग्रेस पार्टीभित्र नियमित अधिवेशन गर्नका लागि पार्टीको प्रत्येक तह र तप्काको सम्पूर्ण साथ सहभागिता र समर्थन चाहिन्छ। तर केन्द्रीय कार्यसमितिको बहुमत सदस्य वा जिल्ला कार्यसमितिका बहुसंख्यक सभापतिहरू परिवर्तनको स्वरलाई पार्टीभित्र लागू गर्नुपर्छ भन्नेमा सकारात्मक देखिएका छैनन् ।

नियमित अधिवेशनका लागि पार्टी पंक्तिमा नियत ठीक नदेखिएकाले यदि समयमा नियमित अधिवेशन सम्पन्न हुन नसके त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा गौण हुन जान्छ। किनभने त्यो प्रकरणपछि नेपाली कांग्रेस राष्ट्रिय राजनीतिमा पार्टी पछाडि पर्ने निश्चित छ। विशेष अधिवेशनका लागि कार्यकर्ताहरू इच्छुक र आतुर हुनाको मूल कारण यो हो।

पाँचौं- नेपाली कांग्रेस पार्टीको नियमित अधिवेशन गर्दा त्यसले वडा तहदेखि नै केन्द्रतहसम्म पार्टीको आन्तरिक ध्रुवीकरणलाई तीव्रता दिन्छ। त्यो ध्रुवीकरण मत्थर हुन केही समय लाग्छ त्यो ध्रुवीकरण मत्थर हुनुभन्दा पहिले नै पार्टीले एक ढिक्का भएर राष्ट्रिय चुनावको सामना गर्नुपर्नेछ। यदि १४औं महाधिवेशनकै निर्वाचकबाट निर्वाचन गर्ने हो भने त्यो ध्रुवीकरण अत्यन्त न्यून हुन्छ र पार्टी एक ढिक्का भएर चुनावमा जान सहज हुन्छ।

छैठौं- निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगको नियम अनुसार दलहरू निर्वाचन आयोगमा दर्ता गरिनुपर्छ। नेपाली कांग्रेस सच्चिएको र बदलिएको उदाहरण पेश गर्नको लागि कांग्रेसले नयाँ नेतृत्वमा दलदर्ता गर्यो भने कांग्रेसको आम जनतामा विश्वसनीयता र स्वीकार्यताको दायरा ह्वात्तै बढेर जान्छ।

पार्टी विधानहरूमा भएको व्यवस्था हेरेर निर्वाचन आयोगले दलदर्ताको मिति तल माथि त गर्दैन, दलहरूले नै परिस्थितिको आवश्यकता बुझेर पार्टीका महाधिवेशन अथवा दलको मूल नेतृत्व चयन निर्वाचन आयोगको क्यालेण्डरसँग तादाम्यता हुने गरी त्योभन्दा अगाडि गर्नु श्रेयस्कर हुन्छ। कांग्रेसले आजको मितिमा गर्नुपर्ने बुद्धिमत्तापूर्ण निर्णय यही नै हुन्छ।

विशेष महाधिवेशनको कार्यविधि

पार्टी विधानमा विशेष महाधिवेशनका लागि आवश्यक हस्ताक्षरको सङ्ख्या तोकिएको छ तर त्यसको कार्यविधि तोकिएको भने छैन। त्यही भएर विशेष महाधिवेशनको बारेमा कार्यकर्ता पंक्तिमा भ्रम छर्न एउटा तप्कालाई सजिलो भएको छ।

विशेष महाधिवेशनको बारेमा भ्रम छर्नेहरू पार्टी त्यसले पार्टी फुटाउँछ भन्नेहरू खासमा परिवर्तनका विरोधीहरू हुन्, प्रतिगामी चिन्तन भएका तत्व हुन् जो-जो आत्मगत मनोगत चिन्तनबाट बाहिर आउन सकेका छैनन् । १० वर्षसम्म पार्टी सभापति देउवाकोमा गएर बिन्ती बिसाएका भरमा लाभ पाइरहेका उनीहरू अब त्यो परिस्थिति नरहने भएपछि तिलमिलाएका छन्।

जसरी केन्द्रीय कार्यसमितिको बैठकका लागि महामन्त्रीहरूले कार्यसम्पादन समितिमा छलफल गरेर एजेण्डा तय गर्ने गर्छन् । त्यसैगरी विशेष महाधिवेशनका लागि पनि पार्टीले केन्द्रीय कार्यसमितिबाट वा कार्यसम्पादनबाट एजेण्डा तय गर्नुपर्नेछ। त्यो भएन भने विशेष महाधिवेशनको फ्लोरले नै आफ्ना एजेन्डाहरू तय गर्नेछ। विगत एक दशकमा नेपाली कांग्रेसका नेताहरू पार्टीप्रति इमान्दार र बफादार नभएकाले विशेष महाधिवेशनको अवस्था आइपुगेको हो।

विशेष महाधिवेशन पार्टीकाप्रति जिम्मेदार नभएको नेतृत्वलाई ‘ डेमोकल्स स्वर्ड ‘ बन्न पुगेको छ। यदि विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन नगरिएको भए पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक पनि दिने थिएनन् र पार्टी केन्द्रीय कार्यसमितिबाट एक वर्षका लागि म्याद समेत थपिने थियो।

विशेष महाधिवेशनको हस्ताक्षरको जगमा पार्टीभित्र परिवर्तन पक्षधर र परिवर्तन विरोधीबीच शक्ति सन्तुलनको अवस्था भएको छ। नेपाली कांग्रेस पार्टी बीपी कोइरालाले भने जस्तो इतिहासको गतिशील हतियार हो। यो गतिशील हतियार लाई जिउँदो जाग्दो र दुरुस्त राख्ने काम केन्द्रका सत्ता लिप्सासँग डुबेका नेताहरूले गर्न सक्दैनन् भनेर नै कार्यकर्ताहरूले, महाधिवेशन प्रतिनिधिहरूले खबरदारी गरेका हुन्।

विशेष महाधिवेशनको खिलाफमा जनमत सिर्जना गर्न संस्थापन पक्षका नेता कृष्ण सिटौला लगायतले विशेष अधिवेशनले पार्टी फुटाउनेसम्मका अभिव्यक्ति दिए। शेरबहादुर देउवाको आधार क्षेत्र सुदूरपश्चिममा त यस्तो खिलाफमा हस्ताक्षर अभियान समेत चलाइयो । तर यी सबै कुराका बावजुद ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष अधिवेशनका पक्षमा हस्ताक्षर गरे।

विशेष महाधिवेशनले केन्द्रीय नेतृत्व मात्रै चयन गर्छ कि तल्लो तहको पनि नेतृत्व चयन गर्छ भन्ने बारेमा आम कार्यकर्तामा भ्रम रहेको देखिन्छ। विशेष अधिवेशनको समयावधि कति हुन्छ त्यसमा पनि कार्यकर्ताको चासो देखिन्छ। विशेष अधिवेशनले केन्द्रीय सभापति र आवश्यक परेमा विधानअनुसार केन्द्रीय कार्यसमितिको मात्र निर्वाचन गर्नेछ। यसले प्रदेश, जिल्ला, क्षेत्र कुनै पनि नयाँ निर्वाचन गर्ने छैन।

विशेष अधिवेशनको समयावधि राष्ट्रिय निर्वाचनसम्मका लागि मात्र हो त्यो भनेको चानचुन एक वा डेढ वर्षको समयाविधि हुनसक्छ। आपतकालमा विशेष परिस्थितिमा विशेष निर्णय गर्नुपर्छ त्यही भएर पार्टी विधानमा अर्ली (छिटो) अधिवेशन नलेखेर विशेष अधिवेशन लेखिएको हो। अहिले हामीसँग राष्ट्रिय राजनीतिमा छिटो-छिटो देखापरेका उतारचढावले गर्दा ज्यादा अलमलिने समय छैन।

जसरी २००७ सालको क्रान्तिको दरमियानमा पार्टी सभापति मातृकाप्रसाद कोइरालालाई डिक्टेटरको अधिकार दिईएको थियो । अथवा २०४६ सालमा गणेशमान सिंहलाई सर्वोच्च कमाण्डर घोषणा गरिएको थियो। त्यही भएर नयाँ परिस्थितिमा कांग्रेसलाई हाक्न नयाँ नेतृत्वलाई त्यही सरहको अधिकार दिनुपर्छ।

नेपाली कांग्रेसबाट फुटेर नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी बनेपछि त्यो पार्टीले आम निर्वाचनका लागि टिकट बाँड्ने जिम्मा संसदीय बोर्डलाई नदिएर पार्टी सभापति शेरबहादुर देउवालाई दिएको थियो, भलै त्यो आम निर्वाचन भने भएन। त्यही कारणले विशिष्ट परिस्थितिमा पार्टी सभापतिलाई वा नेतृत्वकर्तालाई विशेष अधिकार दिनुपर्छ।

२०१४ सालको विशेष अधिवेशनको सन्दर्भ

२०१२ माघमा नेपाली कांग्रेसको छैठौं अधिवेशन वीरगञ्जमा भएको थियो। कांग्रेसको अधिवेशन सकिए लगत्तै राजा महेन्द्रले टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए।

टंकप्रसाद आचार्यले राजा भएको देशमा संविधानसभाको निर्वाचन नहुने भनेर भाषण गरेपछि बीपी कोइरालाले त्यसको खिलाफमा मुद्दा हाल्नुभयो। २०१३ साउनमा अदालतले राजा भएको देशमा संविधानसभाको निर्वाचन नभएर संसद्को मात्र निर्वाचन हुने गोलमटोलको फैसला गर्‍यो।

राजाले अदालतबाट समेत आफ्नो हातमाथि पारेर आम निर्वाचनको घोषणा गरे। तर आम निर्वाचन हुने अत्तोपत्तो थिएन। त्यही बीचमा सुवर्ण शमशेरले २०१३ फागुन महिनामा सप्तरीमा कांग्रेसका जिल्ला सभापति र सचिवहरूको भेला डाक्नुभयो। त्यो भेलाबाट २०१४ साल जेठ महिनामा विराटनगरमा विशेष अधिवेशन हुने घोषणा समेत गर्नुभयो।

विराटनगरमा डाकिएको उक्त विशेष अधिवेशनको उद्घाटन सत्रमा सुवर्ण शमशेरले पार्टी सभापति पदबाट राजीनामा गर्नुभयो । र सभापतिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरियो। निर्धारित समयमा बीपी कोइरालाको मात्र उम्मेदवारी परेपछि बीपी कोइराला निर्विरोध सभापति हुनुभयो।

त्यसको केही महिनापछि सुवर्ण शमशेरलाई बीपी कोइरालाले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सिफारिस गर्नुभयो। आफू भने आम निर्वाचनका लागि संगठन विस्तार को काममा लाग्नुभयो । २०१५ फागुनमा भएको आम निर्वाचनमा नेपाली कांग्रेस ऐतिहासिक सफलता हात पार्‍यो।

२०१४ सालमा विशेष अधिवेशनबाट उक्त निर्णय नगरिएको भए परिस्थिति के हुन्थ्यो त्यसै भन्न सकिने थिएन ।

संवत् २०१४ र २०८२ को तुलना

जसरी २०१४ सालमा ७ सालको परिवर्तनलाई संस्थागत गर्नको लागि चुनौती देखापरेको थियो। आज २०८२ सालमा पनि त्यस्तै चुनौती खडा छ।आम निर्वाचन घोषणा भएपनि अन्तरिम सरकारले राम्रोसँग खुट्टा टेक्न सकेको छैन। कांग्रेसले शान्ति सुशासन स्थिरताको लागि सरकारलाई समेत टेवा दिनुपर्नेछ।

२०१४ सालको परिस्थितिमा नेपाली कांग्रेसले नै देशलाई सम्हाल्न सक्थ्यो र सम्हालेर पनि देखायो। त्यसका लागि सुमण शमशेरले आफूभन्दा बीपी कोइरालाको व्यक्तित्व कामयाब हुन्छ भनेर बीपीलाई पार्टी सभापतित्व हस्तान्तरण गर्नुभएको थियो।

२०८२ सालमा जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न युवाहरूको परिवर्तनका प्रतिको मनोकांक्षा र राजनीतिक शुद्धताका लागि जनचाहनालाई सम्बोधन गर्दै देशलाई सम्हालेर अगाडि बढाउने कार्य दलहरूले नै गर्न सक्दछन् । तर त्यसका लागि दलहरूले आफ्ना पुराना र बहिष्कृत नेतृत्वलाई जति सक्दो छिटो बिदाई गर्नुपर्छ। नेपाली कांग्रेस भित्र युवाहरूको त्यस्तो पंक्ति तयार छ जसले २०५८ सालमा राजा ज्ञानेन्द्रले कु गरेपश्चात राष्ट्रिय राजनीतिमा देखा परेर सम्झौतहीन संघर्ष गर्दै आएको छ।

सत्ता विलास उनीहरूका लागि कहिले रुचिको विषय रहेन। उनीहरूले दलभित्र र बाहिर हमेशा खबरदारी गरिरहे। आज त्यो पुस्तालाई कांग्रेस कार्यकर्ता पंक्ति नेतृत्वमा राखेर देशको संकट हल गर्न चाहन्छ।

काङ्ग्रेसमा एमालेमा माओवादीमा रासपामा भन्दा राष्ट्रिय स्वीकार्यताको दायरा फराकिले भएको नेतृत्वको पंक्ति नेपाली कांग्रेसमा विद्यमान छ। त्यो नेपाली कांग्रेसको सबभन्दा ठूलो सामर्थ्य र पुँजी हो। पार्टीले आफूसँग भएको सामर्थ्य र पुँजीलाई संकटका बेलामा उपयोग गरेन भने त्यसको कुनै मूल्य रहँदैन।

विशेष महाधिवेशनको अपरिहार्यता

भाद्र २३ पछि राष्ट्रिय राजनीतिले कोल्टे फेरेको एक महिना पूरा भएको छ। फाल्गुन २१ का लागि घोषित आम निर्वाचनको लागि पार्टीलाई तयारी अवस्थामा राख्नुपर्ने जिम्मेवारी कांग्रेस सामु छ ।

यो तयारीले पार्टीलाई केवल चुनावको निमित्त मात्र होइन अरु हरेक चुनौतीका निमित्त सचेत भएर रहन बल पुग्नेछ। पार्टीको संगठन बलियो भयो भने त्यो एउटा कार्यको निमित्त मात्र होइन हरेक कार्यको निमित्त सहयोगी हुनेछ।

नेपाली राजनीतिमा नेपाली कांग्रेसको ऐतिहासिक महत्व २००७ , २०४६ र ६२/ ६३ को आन्दोलनमा ती आन्दोलनहरूको आह्वान गर्ने र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिएकाले रहेको हो।

भाद्र २३ को प्रदर्शनमा कांग्रेसको हिस्सेदारी नभएतापनि त्यस आन्दोलनमा सहभागी रहेका युवाहरूको आकांक्षालाई र त्यस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न नेपाली कांग्रेसले आम निर्वाचनरुपी मौकालाई गुमाउनु हुँदैन।

भाद्र २३/२४ को घटना कांग्रेसको नियन्त्रणमा थिएन तर त्यस घटनापछि पार्टीको भविष्यका लागि के निर्णय गर्ने त्यो कांग्रेसको नियन्त्रणमा छ। यो विशेष, आकस्मिक र अप्रत्यासित परिस्थितिमा पार्टी कसरी अगाडि बढ्ने, पार्टी नेता कार्यकर्ताले बृहत्तर रूपमा छलफल गर्ने- विधानात: महाधिवेशन नै पार्टीको सर्वोच्च कार्यकारी निकाय भएकाले सबैको ध्यान महाधिवेशनतर्फ लक्षित हुनु स्वाभाविक हो।

यस्तो परिस्थितिमा पार्टीले केही ऐतिहासिक निर्णय गर्नुपर्नेछ, नवीन नेतृत्वसहित एकतावद्ध भएर निर्वाचनमा होमिनुपर्नेछ । अल्पावधिमा पार्टीभित्र तत्काल सर्वस्वीकार्य निकासको लागि गर्नसक्ने विशेष निर्णय र सहज विकल्प भनेको विशेष महाधिवेशन नै हो।

असामान्य परिस्थितिले असमान्य निर्णयको प्रतीक्षा गरेको हुन्छ। आज नेपाली कांग्रेसको अवस्था असामान्य छ। नेपाली कांग्रेसले आजसम्म नेपालमा भएका सबै ठूला क्रान्ति र परिवर्तनको नेतृत्व गरेको भनेर गौरव गर्ने गर्थ्यौ तर अस्ति जेन्जी मुभमेन्ट पछि त्यो गौरवको आधार खिएको छ धक्का लागेको छ। तर यसको अर्थ नेपाली कांग्रेस पार्टी देशको राष्ट्रिय मूलधाराबाट बाहिर गएको भन्ने होइन।

अझै पनि देशको राष्ट्रिय मूलधारालाई नेतृत्व दिने शक्ति र ल्याकत नेपाली कांग्रेसले गर्छ, त्यसका लागि नेपाली कांग्रेसले विशिष्ट परिस्थिति विशिष्ट निर्णय गर्नुपर्छ।

विशेष महाधिवेशनबाट १५औं महाधिवेशन सम्मको (अल्पावधी/अन्तरिम समयका लागि) नयाँ नेतृत्वको चयन गर्न, अहिलेको परिस्थितिमा युगीन आवाज बुझेर ऐतिहासिक निर्णय र नीतिगत मार्गदर्शन गर्न र पार्टीलाई एकढिक्का बनाएर नवीन उर्जा सहित आसन्न चुनौतीको सामना र निर्वाचनको तयारी गर्न पनि मंसिरभित्रै विशेष महाधिवेशन अपरिहार्य छ।

कांग्रेस पार्टीका परिवर्तन रोक्न चाहनेहरूलाई एउटा मात्र आग्रह छ – वस् ,अब तपाईंहरूको ज्यादती र दादागिरी अति भयो। पार्टीलाई अब तपाईंहरूको मनोगत चाहनाको बन्धक बनाउनबाट मुक्त गरिदिनुहोस्।

पार्टीका कार्यकर्ता परिवर्तनको पक्षमा पाइला चालिसकेका छन्, त्यसलाई अब रोक्ने कष्ट नगरिदिनुहोस्। सानो पार्टीको ठूलो नेताभन्दा ठूलो पार्टीको ठूलो नेता बन्ने मार्गमा अग्रसर हुनुहोस्। पुरानै निर्वाचकहरू त तपाईंहरूको पक्षमा छैनन् भने नयाँ निर्वाचकहरू तपाईंहरूको पक्षमा आउने सम्भावना न्यून भएर गएको छ। यो टड्कारो यथार्थलाई स्वीकार गर्नुहोस्।

बीपी कोइरालाले संकटका बेला देशको माटो मुठीमा लिएर निर्णय गर्नुपर्छ भनेजस्तै तपाईंहरुले पनि आफ्नो अगाडि भूमि तहका कार्यकर्ता आम जनता कांग्रेसका सुभेक्षकहरुलाई हेरेर र सुनेर निर्णय गर्नुहोस्।

दायाँबायाँ नगरिकन यो या त्यो नभनिकन चालु केन्द्रीय कार्यसमितिबाट विशेष महाधिवेशन को मिति सुनिश्चित गरियोस्। कार्यकर्ताहरूले केन्द्रलाई धेरै सुने र पहिलोपटक कार्यकर्ताहरूले केन्द्रलाई उनीहरूलाई सुन्न आह्वान गरेका छन् ।

पार्टी केन्द्रले कार्यकर्ताहरूलाई सुनोस्, उनीहरूको वाणीलाई हृदयङ्गम गरोस्, मनन गरोस् र सोहीअनुसार पाइला चारोस्। जसरी आम निर्वाचनमा जनता जनार्दन हुन्छन् त्यसैगरी पार्टी राजनीतिमा कार्यकर्ताको स्वरलाई जनार्दन मानियोस् ।

एक्स : @shankarktm1

लेखक
शंकर तिवारी

तिवारी समसामयिक राजनीतिक विश्लेषक तथा लेखक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?