News Summary
Generated by OK AI. Editorially reviewed.- वर्षौं लगाएको इमान इज्जत र सफेद शान्तिको प्रतीक मेरो कोट समयक्रममा रङ फेरिरहेको छ।
वर्षौंवर्ष मैले लगाएको
इमान इज्जतको रङ पोतिएको
सफेद शान्त र उदारताको प्रतीक
भद्र र शालिनताको छिर्केमिर्के
विचरा मेरो कोट !!
समयक्रममा रङ फेरिरहने
कालोलाई सेतो र सेतोलाई कालोमा बदल्ने
कालो कर्तुतलाई रकमको आयतनमा
पत्थरको मुटुले वकालत गर्ने
न्यायको मूल्य तोकेर न्याय मार्ने
विवेकहीन मनुवाले लाउने
कालो कोट होइन मेरो कोट !!
जनताको सेवा र सुशासनको पक्षमा उभिएको राष्ट्रसेवक निजामति बहानामा
घुम्ने मेचमा बसेर पहुँचविहीन निरीह जनतासँग
टेबलमुनि हात मिलाउने खुरापाती कर्मचारीले
राज्यको पोशाक सुविधाप्राप्त कोट होइन
जवाहर कोट, मोदी कोट, वेष्ट कोट, ब्लेजर कोट
फिट कोट, क्याजुयेल कोट, वार्म कोट
नेताले, अमीरले, बाबुसाहेबले लाउने
कुनै कोट होइन मेरो कोट !!

जिजीविषामा उत्प्रेरणा र ऊर्जा भर्न सक्ने
जीवनका गाथा संघर्षका कथा बाँड्ने
दार्शनिक वैज्ञानिक महावीर मातृभूमिका सपुत
साहित्य र शैक्षिक जगतका उज्याला नक्षत्रले
लगाउने त्यही निष्कलङ्कको पर्यायवाची
अद्वितीय हो मेरो कोट !!
खाँडीको दौरा सुरुवालसित
कमिज सुरुवाल पेन्ट सर्ट सबैसित मिल्ने
अल्लाको धागो नेपाली वनस्पतिको बोक्राको
रेशाबाट नेपाली तानले वुनिएको कपडाको
सच्चा र इमान्दार राष्ट्रिय पहिचान बोकेको
उदारताको प्रतीक छिर्के मिर्के रङले सजिएको
‘अतिथि देवो भव’ ट्याग टाँसिएको
सादगी मेरो कोट !!
सह भएको भकारीजस्तो
गाँठ नरित्तिने खल्ती भएको
खुल्ला किताबको पानाजस्तो
खुल्ला ड्रयरको दराजजस्तो
सहज पहुँचवाला खल्ती भएको
उदार मेरो कोट !!
मेरो कोटमा दाइँ र रजाइँ गर्नेहरू
उ बेला कतिले बिनाअनुमति खल्तीमा हात छिराउँथे
जादुको छडीजस्तै कतिका हात रमाउँथे
लोलोपोतो घसेर बाँसुरीको वेतुक धुनमा
सर्प नचाएजस्तै मलाई नचाउनेहरू
कतिले योग्यताको सर्टिफिकेट लिएर लोप्पा ख्वाए
कतिले विदेश गएर दुनु सोझ्याए
देश देखे, भेष फेरे औकात बिर्से
कतिले घर बनाए परिवार पाले
कतिले उपचार पाए कतिले जागिर पाए
जन आकांक्षी मतलवी रङ्गमञ्चका दुनियाँलाई
आहा ! सबैको हाई-हाई
शालिन र भद्र मेरो कोट !!
कोटकै क्रेजमा कोही अँगालोमा बाँधिए
मेरा जीवन साथी बन्ने प्रण गरे
‘तिमी नै हौ मेरो मुटुको ढुकढुकी
तिमीबिना मेरो जीवन अधुरो’ भनी गीत गाए
जीवनको गतिमा मस्त मस्तमा रमाए
नमस्कार अभिवादनको ओइरो
मिटिङ भेला समारोहमा मलाई प्रमुख अतिथि बनाए
माला खदाको वर्षा गराए
वाह ! कमाल मेरो कोट !!
जब समय र परिस्थितिले कोल्टो फेर्न थाल्यो
ती दिनका रौनकमा बादल छायो
बादलले घाम छेक्यो कुइरो मडारियो
चिसो बतासको झोंक्काले
महामारी फैलाएर कोटमा ढुसी लगायो
कपडा मक्किएर खल्ती च्यातियो
खल्तीको सहले कोकोहोलो मच्चायो
मेरो कोटको रङ उड्न थाल्यो फुङ्ग
विचरा मेरो कोट !!
जब कोटको पहिचान गुम्न थाल्यो
आफन्त टाढिन थाले साथीसंगी भाँडिन थाले
फूल छिप्पियो हेमन्तले शीतलहर ल्यायो
रसभोगी मौरी भमरा र पुतलीहरू अलप भए
शिशिरका उराठिला वनपाखा डाडाकाँडाजस्तै
हिउँदको पानीमा रुझेको मुसो जस्तै
विचरा मेरो कोट !!
मबिना जीवन अधुरो ठान्ने जीवन साथी बन्न खोज्नेहरू
मेरो जल्दो बल्दोमा
आगो ताप्नेहरू अँगालोमा कसिनेहरू
हिउँदको अल्लो सिस्नो जस्तै छुन नसकिने भए
खदा माला पहिराई प्रमुख अतिथि बनाउनेको झुण्ड
रुखका अरिङ्गाल पातका बारुलाजस्तै भए
नजिक गएर केही भन्न नसकिने भए
जाडोमा सेकेर दूध पिलाएका सर्पले
अघिल्तिर फँडा फिजाएर विष बमन गर्ने भए
उराठिलो दलिनको सिगौरामा झुण्डिएको
विवशतामा आज छटपटिँदैछ
विचरा मेरो कोट !!
यो स्वार्थी संसारका स्वार्थी दुनियाँ माझ
पृथ्वी गोलो छ कसले भनी देला
आफ्ना कोटहरू पनि एकदिन खुइलिन्छन
जिन्दगीको बाटो लामो छ यात्रा छोटो छ
जीवनका आयामसँगै फुल्ने फूलजस्तै
ओइलाउने, झर्ने प्रकृया हो जिन्दगी
बुझनपचाई कसले बुझिदेला
सहानुभूतिको स्वरले हातमा हात साथमा साथ दिने
आत्मीयतामा गाँस बाँड्ने
प्रारब्धका मेरो कोटको सक्कली मित्रहरू
ज्यूँदै छन् कि मरिसके
किंकर्तव्यबिमुढ विचरा मेरो कोट !!
प्रतिक्रिया 4