+
+
Shares

तोरी फुल्यो, काफ्लेथोक झुल्यो (तस्वीरहरू)

प्रल्हाद गैरापिप्ली प्रल्हाद गैरापिप्ली
२०८२ असोज ३१ गते १८:२७

३१ असोज, काभ्रेपलाञ्चोक । काठमाडौंबाट झन्डै ५० किलोमिटर पूर्वतर्फको काभ्रेपलाञ्चोक जिल्लामा पर्ने नमोबुद्ध नगरपालिका–४ स्थित काफ्लेथोक गाउँ यतिबेला तोरीका पहेँला फुलहरूले छपक्कै ढाकिएको छ । बारीभरि लहराइरहेको सुनौलो रंग देख्दा लाग्छ– धर्तीमै सुन फुलेजस्तो । सुनजस्तै पहेँलै तोरी फुलेका छन् ।

बीपी राजमार्गको भकुण्डेबेशी बजारबाट करिब १५–२० मिनेटको पैदल यात्रापछि पुगिने काफ्लेथोक, प्राकृतिक शान्ति र ग्रामीण सौन्दर्य खोज्ने जो–कोहीका लागि एक रमणीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको गाउँ हो । यहाँको हरियाली, खुला आकाश र पर्वतदृश्यले मन नै लोभ्याउँछ ।

यो गाउँ धार्मिक हिसाबले पनि विशेष छ । विगत ४५ वर्षदेखि अखण्ड हरेराम भजन गुञ्जिरहने मन्दिरले यहाँको आध्यात्मिक महत्त्वलाई अझै बलियो बनाएको छ । गाउँकै बीचमा अवस्थित मन्दिरमा बिहान–साँझ घन्किने भजन र संगीतले गाउँको वातावरण शान्त बनाउँछ ।

तोरीखेती यहाँ करिब दुई दशकदेखि सुरु भएको हो । तर आज धेरै घरधुरीमा आफ्नै बारीमा फलेको तोरीबाटै तेल निकालेर परिवारले वर्ष दिनसम्म प्रयोग गर्ने गरेका छन् । स्थानीयहरूको भनाइमा, ‘बजारको तेल भन्दा आफ्नै तोरीको स्वाद बेग्लै हुन्छ, अनि स्वास्थ्यका हिसाबले पनि भरपर्दो छ ।’

झन्डै १०० घरधुरी रहेको काफ्लेथोकमा ‘काफ्ले’ थरका परिवारहरू प्राय: छन्। साथसाथै गैरापिप्ली, अर्याल, अधिकारी, गिरी, भुजेल लगायतका थरका समुदाय पनि यहाँ बसोबास गर्छन् । अधिकांश परिवार शुद्ध शाकाहारी छन् र सरल, अध्यात्मिक जीवनशैलीमा रमाउँछन् ।

हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?