+
+
Shares

ओली र प्रचण्डको एउटै बोली : नेतृत्व कार्यकर्ताले छान्ने हो, पत्रकारले होइन

पार्टी नेतृत्व चयन गर्ने विषयमा आइतबार आयोजित दुई फरक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राखेको धारणा मिलेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १५:५३
फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । पार्टी नेतृत्व चयनबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समान धारणा राखेका छन् ।

पार्टी नेतृत्व चयन गर्ने विषयमा आइतबार आयोजित दुई फरक कार्यक्रममा दुवै नेताले राखेको धारणा मिलेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले पार्टीको नेतृत्व सम्पादकले छान्ने भए पोहोर परार नै छानिसक्ने भन्ने खालको व्यंग्य गरे । उनले पार्टीको नेतृत्व कार्यकर्ताले छान्ने बताए ।

अहिलेसम्म पार्टीमा उत्तराधिकारी तयार गर्न नसकेको भन्ने सम्पादकहरूको प्रश्नमा उनले उल्टै प्रश्न तेर्स्याउँदै भने, ‘तपाईंहरू सम्पादक भइरहेको अर्को सम्पादक नभएर, उत्तराधिकारी नपाएर हो ? कोही लेख्न जान्ने अर्को नभेट्टाएर हो- तपाईंहरू भइराखेको सम्पादक ? अरू पनि होलान् नि ! तर, पनि अहिले तपाईंहरूले चलाउनु पर्‍या छ ।’

अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व लिन सक्ने सयौं नेता तथा कार्यकर्ता रहेको दाबी गरे ।

उनले अगाडि भने, ‘एमालेमा हजारौं नेता छन् । लाखौं कार्यकर्ता छन् । विभिन्न तहको नेतृत्व गर्न सक्ने मान्छेहरू छन् । केन्द्रीय तहमा बसेर धेरै वर्ष काम गरेका सयौं मानिसहरू छन् । उनीहरूले नेतृत्व गर्न सक्छन् । नेतृत्वको अभाव छैन ।’

आफूलाई नै पार्टीको क्याप्टेन बन्ने राय पार्टीपंक्तिभित्र रहेको दाबी गर्दै उनले हालै ओमानमा नेपाली क्रिकेट टिम अपराजित बन्दै टी-२० विश्वकपमा छनोटको प्रसंग कोट्याए ।

उनले भने, ‘दुनियाँ भरिबाट खेलाडीहरू गएका थिए । दुनियाँभरिबाट टिमहरू लडेका थिए । नेपाल विश्वकपको प्रतिस्पर्धाको छनोटमा आयो । अरू थुप्रै खेलहरू थिए । थुप्रै आकांक्षीहरू थिए । नेपालले नखेलेको भए अर्को टिम छनोटमा परिहाल्थ्यो नि ! त्यो ठाउँ त खाली हुँदैन थियो नि ! मैले नखेल्ने हो भने, एउटा क्याप्टेनले टिम छोडेर अर्को क्याप्टेन निस्कँदैन र ? निस्कन्छ नि ! तर अहिले राय के छ भने केपी ओली नै क्याप्टेन हो भन्ने राय छ ।’

ओलीको यो धारणा बाहिर आउनुअघि ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?