२ कात्तिक, काठमाडौं । २३ भदौ २०८२ । जेनजी आन्दोलन चर्किंदै थियो । एकाएक रगतले लतपतिएको एउटा जुत्ताको तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो ।
तस्वीर अखबारमा छापियो । सामाजिक सञ्जालमा प्रोफाइल पिक्चर बन्यो । र, विश्वभर फैलियो ।
आन्दोलनकै आइकोनिक बनेको त्यो जुत्ता कसको हो ? धेरैको मनमा कौतुहल थियो । जुत्ता कसको हो भन्ने त पत्ता लाग्यो । तर मथिङ्गल नै हल्लाउने यो तस्वीर खिच्ने व्यक्ति को हो ? जिज्ञासा अहिले पनि छ ।
मन नै चसक्क बनाउने यो फोटोले पूरै जेनजी आन्दोलनलाई बोकेको छ । आन्दोलनको रापताप सेलाएको छैन । फरक–फरक दृश्य र तथ्यहरू आइरहेका छन् । तर अझै रगत लतपतिएको जुत्ताको तस्वीरबारे यथार्थ बाहिर आएको छैन ।
अनलाइनखबरले पनि यो जुत्ताको दुईवटा तस्वीर क्यामेरामा कैद गरेको थियो । हामीले कैद गरेको रगतले लतपतिएको जुत्ताको फोटो कथा यहाँ प्रस्तुत गरिएको छ ।
०००
२३ भदौ बिहानैदेखि जेनजी आन्दोलनको रिपोर्टिङमा खटिएको थिएँ । जेनजीको ठूलो समूह आइपुग्नुअघि नै अनलाइनखबरको टिम माइतीघर पुगिसकेको थियो ।
म पनि बिहान साढे ८ बजे नै माइतीघर पुगेको थिएँ । दुई/चार जना जम्मा हुन थालेदेखि हजारौं संख्यामा उपस्थिति भएको दृश्य कैद गरिरहेको थिएँ । र, समाचार कक्षमा प्रत्येक तस्वीरहरू पठाइरहेको थिएँ ।
१२ बजेपछि युवाहरू नयाँ बानेश्वरस्थित संसद् भवनको मूल गेटमा पुगिसकेका थिए । दिउँसोको २ बजेसम्म आइपुग्दा काठमाडौंको नयाँबानेश्वर चोक रणमैदान बनिसकको थियो । सडक रक्ताम्य थियो । विद्यार्थीको टाउको, छाती र खुट्टामा गोली बर्सिएको थियो ।

युवाहरू सडकमा ढलिरहेका थिए । युवाहरू संसद् भवन छिर्न प्रयासरत थिए । केही युवा संसद् भवनको बाहिरको वाल भत्काइरहेका थिए ।
त्यहीबीचमा रगत लतपतिएको जुत्ता मेरो आँखामा पर्यो, जुन जुत्ता नयाँ बानेश्वर चोकको बीच सडकमा थियो । तत्कालै मोबाइलकै क्यामेराबाट दुई वटा फोटो खिचेँ । मैले एउटा तस्वीर २ बजेर ४ मिनेट र दोस्रो २ बजेर र ५ मिनेट जाँदा क्याप्चर गरेको थिएँ ।
बानेश्वरमा थप गोली र टियरग्यास पड्किन थाल्यो । भागाभाग मच्चियो । तर एक युवाले त्यो रक्ताम्य जुत्ता एउटा लठ्ठीमा सिउरेर नारा लगाउँदै हिँडे । रक्ताम्य भएको जुत्ता देखेपछि जेनजीहरू थप आक्रोशित भएको दृश्य देखिन्थ्यो ।
त्यहाँ युवाहरूले नारा लगाउँदै तत्कालीन सरकारलाई प्रश्न गरिरहेका थिए, ‘सरकार ! हाम्रो साथी खोई ? रगतको हिसाब चाहिन्छ,’ चर्को स्वरमा युवाहरू नारा लगाइरहेका थिए ।
रक्ताम्य जुत्ताको कारुणिक तस्वीर देखेर कोही रुँदै थिए । गोली लागेर ढलेका युवालाई लिन एम्बुलेन्सहरू साइरन बजाएर आइरहेका थिए ।
ढलेका युवाहरूलाई अस्पताल लगियो । तर त्यो रक्ताम्य जुत्ता कसको हो पहिचान गर्न सकिएन । गोली बर्सिएसँगै युवाहरूमा आक्रोशको तेज झन् बढिरहेको थियो । सडकमा युवा–विद्यार्थी ढलिरहे । तत्कालीन समयमा जुत्ताको भन्दा ढलेका युवाहरूको स्थितिबारे बढी ध्यान केन्द्रित भयो ।
हाम्रो खोजी पनि त्यतैतिर गयो । र, रक्ताम्य जुत्ता त्यतै कतै छुट्यो । तर त्यो जुत्ता कसको होला ? के भयो होला ? कहाँ उपचार भइरहेको छ ? प्रश्नहरूले मन बेचैन भयो ।

साँझ ५ बजेसम्म समाचारमा मात्र होइन, सामाजिक सञ्जालका भित्ताहरूमा यो तस्वीर भरिएको थियो । यसले थप निराश बनायो । समाचार कक्षमा छलफल भयो, ‘घाइतेहरूको स्थिति के छ ? एक पटक अस्पताल जानुपर्छ ।’
धेरैजसो घाइते र मृत्यु भएकालाई ट्रमा सेन्टर पुर्याइएको थियो । कतै यो जुत्तामा रगत लतपतिएका युवा पनि ट्रमामै त छैनन् । कर्फ्यूका बीचमा पनि पौने ७ बजे म ट्रमा सेन्टर पुगें । तर अस्पतालको गेटमा सुरक्षाकर्मी तैनाथ थिए । भित्र छिर्न दिइएको थिएन ।
गेट बाहिर घाइतेका आफन्त र प्रदर्शनकारीको भिड थियो । त्यहीँ नाराबाजी सुरु भयो । प्रहरीले लाठीचार्ज गर्यो । अस्पताल भित्र छिर्न सकिएन ।
अस्पतालको गेटमा पुगेर पनि भित्र छिर्न नपाएपछि त्यो रक्ताम्य जुत्ता भएको व्यक्तिको पहिचान गर्न सकिएन । तर अस्पतालको गेट बाहिर मृतक र घाइतेहरूको नाम टाँसिएको थियो । जसमा ६ जना मृतक र ५५ जना घाइतेको नाम भित्तामा थियो । मृतक र घाइतेको नाम मात्र बोकेर कार्यालय फर्किएँ ।
तर, पनि त्यो जुत्ता कसको हो भनेर खोजी कार्य रोकेको थिइनँ । कहिले यसको हो, कहिले उसको हो भनेर सामाजिक सञ्जालमा फोटोहरू जोडेर आइरहे । जसको मृत्यु भएको थियो, उनीहरूको परिवारसँग लगातार सम्पर्क गरिरहें ।
कतिले मेरो छोरासँग जुत्ताको कलर मिल्छ तर जुत्ताको साइज मिल्दैन भनेर जवाफ दिए । कसको खुट्टाको जुत्ता होला त ? चिकित्सकहरूसँग पनि खोजबिन गरियो । तर यसैको हो भनेर यकिन हुन सकेन । यो जुत्ता जसको हो ती व्यक्तिबारे धेरैले अनेकथरी अड्कलबाजी गरे ।

सत्यतथ्य खोजी जारी नै राखेका थियौं । अस्पतालबाट डिस्चार्ज भएका घाइतेहरूसँग पनि सम्पर्क गरेँ । तर कसैले पनि आफ्नो मान्छे नभएको प्रतिक्रिया दिए ।
यसैबीच गत ९ असोजमा कान्तिपुरले रक्ताम्य खुट्टाबाट छुटेको जुत्ता दैलेख, नारायण नगरपालिका–८ का २८ वर्षीय प्रकाश बोहराको रहेको तथ्य सार्वजनिक गर्यो ।
हामीले लगातार खोजबिन गर्दा ट्रमा सेन्टरको आईसीयूमा उपचाररत रहेकाले उनीसम्म पुग्न सकेनौँ। तर सोही दिन हामीले ट्रमा सेन्टरको बाहिर टाँसेको घाइतेको सूचीमा प्रकाशको नाम १४औँ नम्बरमा थियो ।
उनै प्रकाशको रक्ताम्य जुत्ता मैले अनलाइनखबरका लागि कैद गरेको थिएँ, त्यही तस्वीर जेनजी आन्दोलनको आइकोनिक तस्वीर बनेको छ । जुन तस्वीर जतिपटक जहाँ देखिन्छ, त्यति नै पटक मलाई जेनजी आन्दोलनका घटनाहरूले झस्काइरहन्छ ।
प्रतिक्रिया 4