
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक ८० दिनपछि पुनः सञ्चालनमा आएको छ।
- पहिरो पन्छ्याउने र मर्मत कार्यपछि सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
- सडक सञ्चालनले भोटखोला लगायत दुर्गम क्षेत्रका बासिन्दाको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।
२ कात्तिक, खाँदबारी । कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका-३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक अवरुद्ध भएको थियो ।
लामो समयदेखि निरन्तर गरिएको मर्मत तथा पहिरो पन्छ्याउने कामपछि सडक सञ्चालनमा आएको उत्तर–दक्षिण कोशी सडक आयोजना कार्यालयले जनाएको छ ।
स्थानीयवासी, निर्माण व्यवसायी र आयोजना कार्यालयको संयुक्त प्रयासमा सडक सञ्चालन गर्न सफल भएको आयोजनाका प्रमुख रामबहादुर गुरुङले बताए। ‘कठिन भूगोल र लगातारको वर्षाका कारण मर्मत कार्यमा ढिलाइ भएको थियो’, उनले भने, ‘करिब ८० दिनको निरन्तर प्रयासपछि सडक सञ्चालनमा ल्याउन सफल भएका छौँ।’
सडकमा ढुङ्गा ‘सोलिङ’ र ‘ग्राभेलिङ’ कार्य सम्पन्न भइसकेको भन्दै उहाँले हाल एकतर्फी सवारी सञ्चालन भइरहेका जानकारी दिए। सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलमार्फत सवारीसाधन आवागमन सुरु भएका छन् ।
सडक बन्द रहँदा भोटखोला, मकालुलगायत दुर्गम क्षेत्रका बासिन्दा दैनिक उपयोग्य वस्तुको आपूर्ति, औषधि र निर्माण सामग्रीको अभावमा परेका थिए। यसअघि दैनिक आवागमनका साथै स्वास्थ्य, शिक्षा र प्रशासनिक सेवामासमेत पहुँच गुमाइएको स्थानीयले बताएका छन् । सडक सञ्चालनमा आएपछि खाँदबारीबाट भोटखोला, हटिया र थोगाङ खोलासम्म सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाले जनाएको छ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले लामो अवरोधपछि सडक सञ्चालनमा आउँदा स्थानीयवासीमा खुसी छाएको बताए । ‘करिब ८० दिनपछि सडक खुलेकामा हामी अत्यन्त खुसी छौं’, उनले भने, ‘अब पुनः अवरोध नहोस् भनेर स्थानीयस्तरबाट पनि संरक्षण र मर्मतमा जुट्नेछौँ।’
कोशी राजमार्ग पूर्वी नेपालको प्रमुख व्यापारिक तथा रणनीतिक मार्ग हो। यसले चीनको सीमा किमाथाङ्कासम्म जोड्ने लक्ष्य राखेको छ । सडक सञ्चालनमा आएपछि दुर्गम क्षेत्रको जनजीवन र आर्थिक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया 4