
४ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दीपावली सकिएलगत्तै ६ उद्योगका बिजुलीको लाइन काटेको छ ।
प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो ।
यी कम्पनीहरुमा आज बिहान ६:२० बजेदेखि ७ बजेको बीचमा लाइन काटिएको हो । बिजुलीको बक्यौतावाफतको रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार जगदम्बाको १ अर्ब ६० करोड,रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ बक्यौता छ । तर उद्योगीहरुले प्राधिकरणले त्यसको बिल प्रमाण दिन नसकेकाले बक्यौता नबुझाउने अडान लिएका छन् ।
डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायमै रहेका बेला नेपाल विद्युत प्राधिकरणले त्यसबाफको बक्यौता भुक्तानी गर्न अन्तिमपटकका लागि भन्दै २१ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएसँगै प्राधिकरणले उद्योगहरुको लाइन काट्न सुरु गरेको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको र किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने बताएका छन् ।
प्रतिक्रिया 4