+
+
Shares

क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते ११:३६

४ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

स्विट्जरल्याण्डको जेनेभा जारी अन्तर व्यवस्थापिका संघको १५१औं सभालाई सम्बोधन गर्दै उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘निर्वाचन लगायत आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्दछु ।’

जेनजी आन्दोलनको चर्चा गर्दै उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारले समयमै चुनाव गराउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गरेका छन् ।

नेपालमा गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो । अन्तरिम सरकारलाई चुनाव गराउने म्यान्डेड छ ।

यस सन्दर्भमा अध्यक्ष दाहालले निर्वाचन लगायत आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यका लागि आवश्यक पर्ने सबैखाले सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् ।

‘अहिले हामी विनाशकारी जलवायु परिवर्तनको प्रभावले पीडित छौं’, दाहालले थप भनेका छन्, ‘ग्लोबल वार्मिङमा नेपालको योगदान ०.०२७ प्रतिशत मात्र छ तर जलवायु परिवर्तनबाट हिमालयको इको सिस्टममा संकट पैदा गरेको छ ।’ यसले नेपाल तथा अन्य साना अल्पविकसित देशहरूका लागि जलवायुजन्य गम्भीर समस्या सिर्जना गरेको उनले बताए ।

जलवायु परिवर्तनबाट सिर्जित प्रकोप न्यूनीकरण प्रयासमा सबै एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै उनले थपे, ‘ यस समस्याको समाधानका लागि कूटनीतिक, सामाजिक र आर्थिक सहयोग गर्न अन्तर व्यवस्थापिका संघलाई विशेष आह्वान गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?