+
+
Shares

गहना लुटपाट भएको भन्दै कांग्रेस नेता कार्कीको जाहेरी, धरौटी नबुझाएपछि २ युवा जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १२:३३
ज्ञानेन्द्रबहादुर कार्की/फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा घरबाट ६४ लाख बराबरका सुनचाँदीका विभिन्न गरगहना लुटिएको दाबी गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रहरीमा जाहेरी दिएका छन् ।

कार्कीको जाहेरीपछि ललितपुर प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

मुद्दा चलेकाहरूमा उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भइ धापाखेल नै बस्ने ३० वर्षीय सञ्जय परियार छन् ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँका चोरीको कसुरमा जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दर्ता भएको हो ।

उनीहरूलाई ललितपुर जिल्ला अदालतले जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनीहरूलाई कारागार चलान गरिएको परिसरका प्रवक्ता तथा एसपी चक्रराज जोशीले बताए ।

उनीहरूले नेता तथा पूर्वमन्त्री कार्कीको भैसेपाटीस्थित घरबाट २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटपाट गरेको हो ।

नेता कार्कीले आफ्नो घरबाट ६४ लाख बराबरका गहगहना लुटेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । जसमा नगद ५ लाख, १८ लाख मूल्य बराबरको हिराको २ थान गहना, १२ लाख बराबरको हिराको टप ७ थान, २५ लाख मूल्य बराबरको सुनको ४ सेट गहना, ३ लाख बराबरका मोतीको माला, १ लाख बराबरका थाँदीको थाल र किस्ती, चाँदीका कचौरी, चम्चा, चाँदीको गणेश भगवानको मूर्ति, कुवेरको मूर्ति, तामाको जग, गिलासलगायत गरी ६४ लाख ५३ हजार रुपैयाँ बराबरको गरगहना तथा सामान लुटिएको बताइएको छ ।

त्यसैगरी फर्निचर, कपडा, बा ९१ प ३९५९ नम्बरको यमाहा कम्पनीको मोटरसाइक, पल्सर मोटरसाइकल, स्कुटर समेत गरी १० लाख बराबरको सामान जलाएर क्षति गरिएको भन्दै उजुरी परेको थियो । सामान र गरगहना गरी करिब साढे ७४ लाखको क्षति भएको दाबी गर्दै उजुरी परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

लुटिएका सामान मध्ये प्रहरी केही भाडावर्तन समेत बरामद गरेको थियो । अहिले मुद्दा चलाइएका दुबै जना मिस्त्रीको काम गर्ने व्यक्ति रहेको पाइएको छ । मुद्दा चलाइएका मध्ये सञ्जय परियारविरुद्ध यसअघि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?