+
+
Shares

कोरला नाका : चीनले गरिसक्यो व्यापार, नेपाल भने अझै लाचार

कोरलाबाट भित्रिए १५ सय विद्युतीय गाडी, उठ्यो ३ अर्ब राजस्व तर छैन पूर्वाधार

चीनले भव्य पूर्वाधारसहित व्यापार थालेको भए पनि नेपालले नाका सञ्चालनका लागि आवश्यक पूर्वाधारबिनै गाडी तथा सामान ढुवानी गरिरहेको छ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ कात्तिक ४ गते १८:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनले रसुवा र तातोपानी नाका बन्द भएपछि मुस्ताङको कोरोला नाका प्रयोग गरी विद्युतीय गाडीसहित व्यापार सुरु गरेको छ।
  • कोरोला नाकाबाट एक महिनामा झण्डै साढे १५ सय विद्युतीय गाडी नेपाल भित्रिएका छन् र २ अर्ब ७८ करोड राजस्व संकलन भएको छ।
  • नेपालतर्फ कोरोला नाकामा पूर्वाधार र सेवा अभाव छ, जसले दीर्घकालीन नाका सञ्चालनमा समस्या उत्पन्न गरेको छ।

४ कात्तिक, पोखरा। बाढी पहिरोका कारण रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनले विकल्पका रुपमा मुस्ताङको कोरोला नाका प्रयोग गरेर व्यापार गरेको छ । नाका खोल्न सम्पूर्ण पूर्वाधारसहित सहरै निर्माण गरेर तम्तयार रहेको चीनले विद्युतीय गाडीसहित विभिन्न सामान नेपाल निर्यात गरेको छ ।

कोरोला नाकाभन्दा १६ किलोमिटर वर रहेको भन्सार कार्यालयमा केही जनशक्ति थपेर गाडीसहित आयात विभिन्न सामाग्रीको भन्सार शुल्क लिने प्रवन्ध नेपालतर्फ मिलाइएको छ ।

यसअघि मुस्ताङमा अस्थायी पास भएका साना व्यवसायीले सामान खरिद–बिक्री गर्ने गरेको भए पनि चीनबाट ठूलो मात्रामा गाडीसहितको ढुवानी भएको यो पहिलो पटक हो ।

बाढी पहिरोका कारण रसुवा र तातोपानी नाका बन्द भएपछि चीनबाट १ महिनामै झण्डै साढे १५ सय विद्युतीय गाडी नेपाल भित्रिएका छन् भने साढे ४ सय ढुवानीसहितका सवारी साधन जाँचपास भएका छन् ।

नेचुङमा रहेको भन्सार कार्यालयकाअनुसार भदौ ३० गतेबाट यहाँ काम थालिएको थियो । नेपालमा विद्युतीय गाडीको बढ्दै गएको मागलाई मध्यनजर गर्दै चीनले मुस्ताङको कोरोला नाकालाई विकल्पका रुपमा प्रयोग गरेको हो ।

चीनले भव्य पूर्वाधारसहित व्यापार थालेको भए पनि नेपालले नाका सञ्चालनका लागि आवश्यक पूर्वाधारबिनै गाडी तथा सामान ढुवानी गरिरहेको छ।

नाकामा आवश्यक पूर्वाधारदेखि शौचालयसम्म नभएको नेपालतर्फ बर्गेल्ती समस्याकै बीच पनि असोज मसान्तसम्म १ हजार ५ सय ३८ वटा विद्युतीय गाडी आयात भएको मुस्ताङ भन्सार कार्यालय नेचुङका भन्सार अधिकृत रमेश खड्काले जानकारी दिए ।

चीनले भव्य पूर्वाधारसहित व्यापार थालेको भए पनि नेपालले नाका सञ्चालनका लागि आवश्यक पूर्वाधारबिनै गाडी तथा सामान ढुवानी गरिरहेको छ।

एक महिनाको बीचमा ४ सय ४७ वटा विभिन्न सामाग्री नेपाल पैठारी भएको छ । नेपालबाट भने जम्मा ७ वटा ढुवानी साधन चीनतर्फ गएका छन्।

चीनबाट धेरैजसो कपडालगायत चाडवाडलक्षित सामाग्रीहरु नेपाल भित्रिएका छन् भने नेपालबाट सीमित मात्रामा विभिन्न मूर्ती, क्युरियो, हस्तकलाका सामाग्रीलगायत चीनतर्फ गएको खड्काले बताए।

व्यापारिक रुपमा चीन–नेपाल व्यापार खुलेको एक महिनामा मुस्ताङ भन्सारबाट २ अर्ब ७८ करोड १२ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।
स्थानीय बजारका रुपमा कोरोला नाकाबाट ५ सय मिटरमै चीनले तयार गरेको बजारमा किनमेल हुने भएको भए पनि ब्यापारिक रुपमा सञ्चालनमा आएको र यति राजस्व संकलन गरेको यो पहिलो पटक हो।

रसुवा र तातोपानी नाकाको विकल्पमा कोरोना सञ्चालन गर्न ७ जना जनशक्ति खटाइएको थियो। रसुवागढी नाका बन्द भएपछि त्यहीँबाट र पोखराबाटसमेत गरी कर्मचारी व्यवस्थापन गरी भन्सार कार्यालय सञ्चालनमा ल्याइएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालकाअनुसार जलविद्युत आयोजनाका सामाग्री पनि चीनबाट आयात भएका छन्।

१ जना भन्सार अधिकृत, २ जना नायब सुब्बा र १ जना कम्युटर अधिकृतले भन्सार कार्यालय सञ्चालन गरिरहेका छन् भने २ जना कार्यालय सहयोगी छन् । चिसोका कारण उपल्लो मुस्ताङमा समस्या पर्न थालिसकेको अधिकृत खड्काले जानकारी दिए ।

‘नाका सञ्चालन त गरियो तर खान, बस्नसमेत समस्या छ, चिसोका कारण गाडी नै आउ–जाउ गर्न अप्ठेरो पर्न थालिसक्यो । नाकादेखि भन्सार कार्यालयसम्मै पूर्वाधार तयार हुन सकेको छैन,’ खड्काले भने, ‘अहिलेकै अवस्थामा दीर्घकालीन रुपमा नाका सञ्चालन हुन सक्दैन।’

कोरोना नाकामा शौचालय र खानेपानीको प्रवन्धसमेत छैन । नाकामा विजुलीसमेत पुगेको छैन । नाकासम्म पुग्नेहरुले भन्सार कार्यालयकै शौचालय प्रयोग गर्ने गरिएको छ ।
कार्यालय रहेको ठाउँमा १ सय ९ रोपनी जग्गा भन्सारको रहेको र त्यहीँ आयात भएका विद्युतीय गाडी तथा ढुवानी साधन राखेर जाँचपास गर्ने गरिएको खड्काले जानकारी दिए ।

नेपालको एक वर्षको बजेट जति खर्च गरेर चीनले भन्सार कार्यालय र आवश्यक पूर्वाधार तयार गर्दा नेपालतर्फ भने समस्याको चाङ रहेको कर्मचारी बताउँछन् ।

मुस्ताङबाट चिनियाँ बजार जानका लागि अस्थायी पास लिएकाहरुमध्येबाट नाकावारीसम्म गाडी ल्याउने गरिएको छ । नाका सञ्चालनका लागि नेपालले स्थायी प्रवन्ध नै अहिलेसम्म मिलाएको छैन।

धुमधामले उद्घाटन गर्ने तर एउटा सामान्य शौचालयको आवश्यकताको महसुससमेत नगर्ने नेताहरु साँच्चिकै देशका लागि बोझ नै भएको नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिका सचिव गणेशबहादुर थापा बताउँछन्।

‘कोरला नाका सञ्चालन भएपछि जो–जो संघीय तथा प्रदेशका मन्त्री र उच्च पदस्थ कर्मचारीहरु सो नाका पुगेर पिल्लर नं २४ देखेर वा फोटो खिचेर फर्किए, तिनको पहिचान गरी राष्ट्रका सबै जिम्बेवारीबाट टाढा राखौं,’ थापाले आक्रोस पोखेका छन्।

नाका खुलेसँगै पोखराका व्यवसायी भने उत्साही देखिए पनि दीर्घकालीन रुपमा नेपालले फाइदा लिने कुनै कदम चाल्ने र तयारीसमेत नगर्नु लाजमर्दो भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताउँदै आएका छन्।

चीनले रसुवा र तातोपानीको विकल्पका रुपमा कोरोलालाई प्रयोग गर्दै ब्यापार गरेको भए पनि नेपाल सरकारको भने अझै चेत नखुलेको व्यवसायीहरुको भनाइ छ।

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले धुमधामले गत साल कात्तिक १४ गते कोरोला नाकामा अध्यागमन कार्यालय खोलेको भए पनि त्यसको भोलिपल्टबाटै बन्द हुन पुगेको थियो । हेलिकप्टर चढेर अध्यागमन कार्यालय उद्घाटन गर्न पुगेका पूर्वगृहमन्त्री लेखकले त्यहीँबाट भिसासमेत दिनसकिने भाषण गरेका थिए।

गृहमन्त्रीले आश्वासन पस्केर फर्के पनि न सरकारले अध्यागमन कार्यालय नै सञ्चालन गर्न सक्यो न सुख्खा बन्दरगाहा निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको सुरुवात नै गरेको छ।

गृहमन्त्री लेखक, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे हेलिकप्टरमा अध्यागमन कार्यालय उद्घाटन गर्न कोरला पुगेका थिए। अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाल रिजाल, प्रधान सेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललगायत जम्बो टोली पुगेर सुरुआत गरेको अध्यागमन खुलेकै भोलिपल्टबाट बन्द भएपछि सरकारको तयारी र अपरिपक्कता उदांगो भएको थियो।

लोमान्थाङ गाउँपालिकामा पर्ने कोरला नाकामा बनाइएको एक तले अध्यागम कार्यालय र नेचुङमा सशत्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवनको उद्घाटन भएको थियो । कार्यालय उद्घाटन गरेसँगै भालिपल्टबाटै तिहार बिदा भएकाले खटिएका ४ जना कर्मचारी पनि घर फर्किएका थिए।

कात्तिक २७ गते चीनले मुस्ताङको कोरला नाका जोड्ने लिजी बन्दरगाहा खोलेको २ वर्ष पूरा हुन्छ । यो बीचमा उसले चीनतर्फ भव्य सहरसहित सबै संरचना तयार गरिसकेको छ । चीनले व्यापारै थालिसक्दा पनि नेपालतर्फ पनि घुम्न जानेको लर्को त तर कुनै पनि व्यवस्थित संरचना बनेको छैन भने तयारीसमेत देखिएको छैन।

कोरलानाकामा अस्थायी रुपमा इमिग्रेसन कार्यालय स्थापना गर्न गण्डकी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरी ६ कोठे एसवाई प्यानलको भवन निर्माण गरेको थियो । २ वर्षअघि निर्माण सुरु भएर झण्डै साढे ६ करोड रुपैयाँको लागतमा नेचुङमा २ तलाको ५५ कोठे बीओपी भवन निर्माण भएको छ।

धुमधामले उद्घाटन गर्ने तर दीगो सञ्चालनका नगर्ने नेपालको नियति कोरोलाले बेहोर्दै आएको छ। २०७२ सालको नाकाबन्दीपछि चिनियाँ नाकाहरु खोल्ने सरकारको योजना बुताबिक दुबैतर्फ तयारी सुरु भएको थियो । नेपालतर्फ राजनीतिक एजेण्डामात्र बन्ने तर नीतिगत तहबाटै प्रगति नहुँदा संरचना निर्माण हुन सकेन।

तर, चीनले भने तीव्र गतिमा संरचना निर्माण गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा भएको सहमति अनुसार गत साल कात्तिक २७ गते नाका उद्घाटनै गरेको हो।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?