काठमाडौं । ट्युनिसियामा एक डुंगा दुर्घटना हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार, ट्युनिसियाको सालाक्टा गाउँबाट छुटेको डुंगा केहीबेरमै पल्टिएको थियो । त्यसमा सवार ९ महिला, १९ पुरुष र पाँच वर्ष मुनिका १२ बालबालिकाको मृत्यु भएको छ । उनीहरु अफ्रिकी मुलुकका रहेको बताइएको छ ।
उत्तरी अफ्रिकामा शरणार्थी र आश्रय खोज्ने व्यक्तिहरूको अवस्था बिग्रिँदै गएकाले धेरै परिवारहरू जोखिमपूर्ण यात्रामा निस्किरहेका बेला यो दुर्घटना भएको हो ।
नजिकै रहेको एक माछा मार्ने डुङ्गाबाट सूचना प्राप्त भएपछि ३० जनालाई जिउँदै उद्धार गरिएको थियो । उद्धार भएका मानिसहरूमा क्यामरून, आइभरी कोस्ट र गिनीका नागरिकहरु छन् ।
आईओएमका अनुसार यो दुर्घटना यस वर्ष उत्तरी अफ्रिकी तटमा भएका सबैभन्दा घातक समुद्री घटनामध्ये एक हो ।
‘यो दुर्घटनाले मध्य भूमध्यसागरीय मार्गमा थप जनधनको क्षति रोक्नका लागि तत्काल समन्वित कार्यको आवश्यकता देखाएको छ,’ आईओएमले भनेको छ ।
मृत्यु र बेपत्ता हुने क्रम
आईओएमको ‘बेपत्ता आप्रवासी परियोजना’ का अनुसार, यो वर्ष मुख्य मार्गमा झण्डै एक हजार जनाको मृत्यु र बेपत्ता हुने घटना दर्ता भइसकेका छन् ।
सन् २०१४ देखि हालसम्म उत्तरी अफ्रिकाबाट युरोप पुग्ने प्रयासमा २५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसलेगर्दा यो मार्गलाई विश्वकै सबैभन्दा घातक रुपमा चित्रित गरिएको छ ।
हालैको यो दुर्घटनासँगै, भूमध्यसागरीय क्षेत्रमा बेपत्ता भएका मानिसहरूको कुल संख्या ३२ हजार ८ सयभन्दा बढी पुगेको आईओएमले जनाएको छ ।
सबैभन्दा बढी प्रभावमा बालबालिका परेका छन् । आईओएमका अनुसार, केवल २०२५ सालमै ट्युनिसियाको तटमा कम्तीमा ३० जनाको मृत्यु भइसकेको छ, जबकि सन् २०२४ मा यो संख्या २२ थियो ।
युद्ध र संकटका कारण बाध्य
छिमेकी देश लिबियामा कडा नियन्त्रण र बढ्दो असुरक्षाका कारण, इटाली पुग्न चाहने व्यक्तिहरूका लागि ट्युनिसिया हाल प्रमुख प्रस्थान बिन्दु बनेको छ ।
संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का अनुसार, ट्युनिसियामा हाल १० हजार ६ सयभन्दा बढी दर्ता भएका शरणार्थी र आश्रय खोज्ने व्यक्ति छन्, जसमा ८६ प्रतिशत मानिस युद्ध वा हिंसाबाट प्रभावित देशबाट आएका छन् ।
तीमध्ये धेरैजना यातना, लैंगिक हिंसा वा परिवारबाट छुट्टिएको अवस्थाबाट बाँचेर आएका छन् । आवश्यक सेवाहरूमा पहुँच सीमित हुँदै जाँदा सुरक्षा जोखिम अझै बढेको छ, जसले गर्दा कतिपयले जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरेका छन् ।
आईओएमले सुरक्षित र नियमित प्रवास मार्गहरू विस्तार गर्न आह्वान गरेको छ । उसले भनेको छ– प्रमुख प्रवास मार्ग भएका देशहरूले आपसी समन्वय मजबुत गर्नुपर्छ र मानवीय सिद्धान्तले नै उनीहरूको कार्यलाई निर्देशित गर्नुपर्छ ।
प्रतिक्रिया 4