News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी एफडीएले जीएसकेको रक्त क्यान्सर औषधि ब्लेंरेपलाई बोर्तेजोमिब र डेक्सामेथासोनसँगको संयोजन उपचारका लागि स्वीकृति दिएको छ।
- ब्लेंरेपलाई सन् २०२२ मा बजारबाट हटाइएको थियो, तर एफडीएको पछिल्लो निर्णयले पुनः बजारमा फर्काउने बाटो खुलेको छ।
- मल्टिपल मायलोमा विश्वव्यापी रूपमा हरेक वर्ष करिब १,८०,००० नयाँ केस पत्ता लाग्ने र यो तेस्रो सबैभन्दा सामान्य रक्त क्यान्सर हो।
७ कात्तिक, काठमाडौं । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बेलायती औषधि निर्माता कम्पनी जीएसकेको रक्त क्यान्सरको औषधि ब्लेंरेपलाई एउटा संयोजन उपचार पद्धतिको लागि स्वीकृति दिएको छ।
संयोजन उपचार पद्धति भनेको विभिन्न औषधिहरूलाई एकैसाथ मिसाएर गरिने उपचार पद्धति हो ।
योसँगै लगभग तीन वर्षअघि बजारबाट हटाइएको यो औषधिलाई पुन: बजारमा फर्काउने बाटो खुलेको कम्पनीले जानकारी दिएको छ ।
एफडीएले मल्टिपल मायलोमा (एक प्रकारको रक्त क्यान्सर) का बिरामीहरूका लागि ब्लेंरेपलाई बोर्तेजोमिब र डेक्सामेथासोनसँगको संयोजनमा प्रयोग गर्न स्वीकृति दिएको छ । जसको रोग कम्तिमा एउटा अघिल्लो उपचारपछि पनि फर्किएको छ वा उपचारले काम गर्न छाडेको छ भने उनीहरूलाई यो उपचार गरिनेछ ।
ब्लेंरेपलाई पोमालिडोमाइड र डेक्सामेथासोनसँग जोडेर गरिएको दोस्रो उपचार पद्धतिको परीक्षणको नतिजालाई भने यो स्वीकृतिमा समावेश गरिएको छैन ।
कम्पनीको अमेरिकी-सूचीकृत शेयरहरू बजार बन्द भएपछिको कारोबारमा ४ प्रतिशतले घटेका थिए।
यो निर्णय दुईवटा अन्तिम चरणको परीक्षणहरूको नतिजापछि आएको हो। एक अध्ययनले स्वीकृत संयोजनले मृत्युको जोखिमलाई ५१ प्रतिशतले घटाएको र रोग नियन्त्रण गरी बाँच्ने समयलाई जोन्सन एन्ड जोन्सनको डारजालेक्समा आधारित उपचार पद्धतिको तुलनामा तीन गुणा बढाएको देखाएको थियो।
ब्लेंरेपलाई सन् २०२२ मा बजारबाट हटाइएको थियो किनभने यसको परीक्षणबाट पहिलेदेखि बजारमा रहेको उपचारभन्दा राम्रो प्रदर्शन गर्न असफल भएको थियो। एफडीएको यो पछिल्लो निर्णय जुलाईमा सल्लाहकार प्यानलको सिफारिसभन्दा विपरीत छ । उक्त प्यानलले दुवै संयोजनको विपक्षमा मतदान गरेको थियो।
जीएसकेले डाक्टरहरूलाई विशेषगरी दृष्टिमा असर गर्ने लगायतका जोखिमहरू व्यवस्थापन गर्न मद्दत गर्नको लागि यो औषधि सरलीकृत सुरक्षा अनुगमन कार्यक्रम अन्तर्गत उपलब्ध हुने बताएको छ।
एफडीएको यो स्वीकृतिले ब्लेंरेपको बिक्रीबाट ३ अर्ब पाउन्ड (४.०३ अर्ब डलर) भन्दा बढी आम्दानी हुने जीएसकेको पूर्वानुमानमा लगानीकर्ताहरूको विश्वास बढाउने अपेक्षा गरिएको छ। यो औषधि पहिले नै बेलायत, जापान, क्यानडा र स्विट्जरल्याण्ड लगायत धेरै देशहरूमा स्वीकृत भइसकेको छ।
जीएसकेका प्रमुख वैज्ञानिक टोनी वुडले मल्टिपल मायलोमाको बजार सन् २०३२ सम्ममा ४५ अर्ब डलर पुग्ने अनुमान गरिएकोले ब्लेंरेप आगामी तीनदेखि चार वर्षमा कम्पनीको महत्त्वपूर्ण वृद्धिको कारक बन्ने अपेक्षा गरिएको बताएका छन्।
वुडले कम्पनी अहिले प्रारम्भिक चरणको कार्यान्वयन र लन्चको चरणमा रहेकोले ‘यो त्रैमासिकमा खासै बिक्री नहुने’ बताएका छन्।
यी संयोजनहरू अर्थात् विभिन्न औषधिहरूलाई एकैसाथ मिसाएर गरिने उपचार पद्धतिलाई युरोपेली संघमा जुलाईमै स्वीकृति दिइएको थियो ।
जीएसकेका अनुसार, मल्टिपल मायलोमा विश्वव्यापी रूपमा हरेक वर्ष करिब १,८०,००० नयाँ केसहरू पत्ता लाग्ने, तेस्रो सबैभन्दा सामान्य रक्त क्यान्सर हो।
रोयटर्सबाट
प्रतिक्रिया 4