+
+
Shares

जेनजी आन्दोलन : मुचुल्का र प्रमाण संकलनविना सरसफाइको हतारो, प्रमाण नष्ट हुने जोखिम

घटनाहरुको यथार्थ पत्ता लगाउन जतिसक्दो चाँडो प्रमाण संकलन गरेर त्यसको जाँच हुनुपर्नेमा सरकारले सरसफाइलाई प्राथमिकता दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ७ गते २०:२२
सिंहदरबार परिसरभित्र जलेका सवारी साधनहरु हटाउन खटिएकाहरु । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा भदौ २४ गते भएका आगजनी र तोडफोडका संरचनामा सरकारले सरसफाइ र पुनर्निर्माणका काम जारी राखेको छ।
  • सरकारले घटनास्थलको मुचुल्का र प्रमाण संकलन नगरी सरसफाइलाई प्राथमिकता दिएकोले यथार्थ पत्ता नलाग्ने जोखिम रहेको जानकारहरुले बताएका छन्।
  • उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी घटनाको अनुसन्धान भइरहेको र प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कारबाही अघि बढाएको छ।

७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते भएका आगजनी र तोडफोड भएका संरचनाहरुमा सरकारले सरसफाइ र पुनिर्निर्माणका काम जारी राखेको छ । तर मुचुल्का र प्रमाण संकलनविना भइरहेका यस्ता कामले घटनाको यथार्थ पत्ता नलाग्ने र दोषी उम्किन सक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।

जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा संसद भवनदेखि, सर्वोच्च अदालत, सिंहदरबारलगायतका महत्वपूर्ण सरकारी संरचनाहरु ध्वस्त भएका थिए । ती संरचना जलाउँदा विभिन्न रसायन प्रयोग भएको आशंका गरिएको छ ।

भयानक आगोको प्रकृति र जेनजी प्रदर्शनकारीहरुले डिस्कर्ड ग्रुपमा गरेका कुराकानीका अंशले विभिन्न रसायन प्रयोग गरेर आगजनी गरिएको आशंकामा बल पुगेको छ ।

त्यसैले यस्ता घटनाहरुको यथार्थ पत्ता लगाउन जतिसक्दो चाँडो प्रमाण संकलन गरेर त्यसको जाँच हुनुपर्नेमा सरकारले सरसफाइलाई प्राथमिकता दिएको छ ।

प्रहरीले केही घटनास्थलहरुको मुचुल्का गरेको पनि छ । तर यही बीचमा भने धमाधम सरसफाइदेखि रंगरोगनका काम भएका छन् । जलेका गाडीहरु हटाएर अन्यत्र व्यवस्थापन गरिएको छ ।

नेपाल प्रहरीका पूर्वएआईजीपी उत्तमराज सुवेदी यस्ता क्रियाकलापले प्रमाण नष्ट हुनसक्ने बताउँछन् । ‘घटनाको यथार्थ पत्ता लगाउन क्षति तथा आगजनी भएका ठाउँहरुको घटनास्थल मुचुल्का गर्नुपर्ने हुन्छ । मेरो बिचारमा प्रहरीले त्यो काम गरेको हुनुपर्छ, गर्दै पनि होला । नगरेको भए पनि जतिसक्दो चाँडो त्यो काम गर्नुपर्छ ।’

पूर्वएआईजीपी सुवेदी भन्छन्, ‘आगजनीमा विभिन्न रसायन प्रयोग गरिएको लगायका विषयहरुको चर्चा भएका कारण के कसरी आगजनी भयो वा आगो लगाइयो भन्ने पत्ता लगाउन पनि घटनास्थलको मुचुल्का गर्नुपर्ने र त्यहाँ भेटिएका सबुद प्रमाणहरुको जाँच गर्नुपर्ने देखिन्छ ।’

यदि प्रमाण नष्ट भएमा यथार्थ पत्ता लगाउन गाह्रो हुने उनी बताउँछन् । यो काम जाँचबुझ आयोग र प्रहरी दुवै पक्षबाट गरिनुपर्ने उनको धारणा छ ।

बहालवाला अर्का एक प्रहरी अधिकृत पनि सबुद प्रमाण संकलनको साटो सरकारले सरसफाइ गर्ने र पीडित पक्षबाट क्षतिको विवरण संकलन गर्ने कामलाई मात्र प्राथमिकता दिएको देखिएको बताउँछन् ।

उनी भन्छन्, ‘नारायणहिटी राजदरबार हत्याकाण्ड भएको ठाउँ पनि भत्काइयो, घटनास्थल पानीले पखालियो । प्रमाण नष्ट हुँदा अहिले पनि त्यो हत्याकण्ड रहस्यकै गर्भमा छ । जेनजी आन्दोलनका क्रममा भएका घटनामा त्यस्तो हुनुहुँदैन ।’

यदि महिना दिन बित्दा समेत त्यस्ता प्रमाणहरु संकलन नभएको अवस्थामा भने यसको वास्तविकता पत्ता नलाग्न सक्ने जोखिम पनि त्यत्तिकै रहेको ती अधिकृत बताउँछन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ठूलो मात्रामा सरकारी तथा व्यक्तिका संरचनाहरु ध्वस्त भएका थिए । यही घटनाको छानबिन गर्न भन्दै सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगले घटनाका सम्बन्धमा काम सुरु गरेको बताएको छ । उसले पीडित पक्षबाट क्षतिको विवरण संकलन गरिरहेको छ ।

नेपाल प्रहरीले पनि अहिले घटनाको अनुसन्धान अघि बढाएर धमाधम कारबाही प्रक्रिया अघि बढाएको छ । जेनजी युवाको प्रदर्शनको क्रममा भएका घटनाहरुमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरी हत्यालगायत लुटपाट तथा आपराधिक उपद्रवजस्ता केही घटनाका व्यक्ति पक्राउ परेर कोही कारागार चलान भइसकेका छन् । केही भने धरौटी तथा सामान्य तारेखमा रिहा भएका छन् । केही व्यक्तिलाई भने अहिले पनि नियन्त्रणमा लिएर अनुसन्धानको काम भइरहेको प्रहरी उच्च अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?