News Summary
Generated by OK AI. Editorially reviewed.- चतरा हाइकिङ समूहले २०८२ मंसिर ३ गते अमाहा सिमसार तालमा तेस्रो पानी सुल्के प्रतियोगिता आयोजना गर्न लागेको छ।
- पानी सुल्के खेललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सूचीकृत गर्न र अन्तर्राष्ट्रिय स्तरका खेलाडी सहभागी गराउन पहल भइरहेको छ।
- प्रतियोगितामा सयभन्दा बढी खेलाडी सहभागी हुने अनुमान छ र यसले जैविक विविधता संरक्षण तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा सम्पन्न तेस्रो स्टोन स्किपिङ (पानी सुल्के) च्याम्पियनसिपमा राहुल लिम्बूले लगातार तेस्रो पटक उपाधि हात पारेका छन्।
राहुले २७ पटक ढुङ्गा उफार्दै सबै प्रतिस्पर्धीलाई पछि पार्दै नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रसहित हैट्रिक जित दर्ज गरेका हुन्। यसअघि उनी पहिलो र दोस्रो संस्करणका पनि विजेता बनेका थिए।
सोमबार आयोजित प्रतियोगितामा कुल १ सय १७ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। जसमध्ये भोजपुरका मनिष राईले २५ पटक स्किप गरेर दोस्रो स्थान हासिल गरे। उनले नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाए ।
त्यस्तै, १९ पटक स्किप गर्दै वराहक्षेत्रका अधिकलाल चौधरी तेस्रो भए र उनले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
कोशी प्रदेश पर्यटन वर्ष-२०८२ का सहसंयोजक भविशकुमार श्रेष्ठले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । उनले पर्यटनको विकासका लागि नौलो खेल पानी सुल्के प्रतियोगिताले प्रचार प्रसार र प्रवर्धन गरेको बताए । प्रदेश सरकार र पर्यटन व्यवसायीले समेत प्रतियोगिताको प्रवर्धन गर्ने बताए ।
जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धनको नारासहित आयोजना गरिएको प्रतियोगिता चतरा हाइकिङ समूहको आयोजनामा बर्सेनि हुँदै आएको छ ।
प्रतियोगिताले स्थानीय पर्यटकीय स्थलको प्रचार प्रसार र प्रवर्धन गर्ने साथै नेपालको मौलिक खेललाई देशैभरि स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चतरा हाइकिङका संस्थापक भीषण राईले जानकारी दिए ।
यो खेलको अमेरिका, आयरल्यान्ड, स्कटल्यान्डलगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिता हुन्छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । नेपालमा विगत दुई वर्षदेखि सुनसरीको वराहक्षेत्रमा प्रतियोगिता आयोजना भइरहेको चतरा हाइकिङ समूहका संस्थापक नवराज बिष्टले बताए ।
प्रतिक्रिया 4