+
+
Shares

चाडबाडले बढायो अन्तर्राष्ट्रिय व्यापार, आयात-निर्यात दुवैमा छलाङ

नेपालीको मुख्य चाडबाडको मौसममा अन्तर्राष्ट्रिय व्यापारमा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८२ कात्तिक ९ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ, जुन २६.०४ प्रतिशतले बढी हो।
  • असोजसम्म निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशतले बढी छ।
  • नेपालले भारतबाट २ खर्ब ५८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ भने चीनबाट १ खर्ब ४ अर्ब रुपैयाँको आयात भएको छ।

९ कात्तिक, काठमाडौं । नेपालीको मुख्य चाडबाडको मौसममा अन्तर्राष्ट्रिय व्यापारमा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मा अन्तर्राष्ट्रिय व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ ।

जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २६.०४ प्रतिशत धेरै हो । सो आवको असोजसम्म ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको मात्र अन्तर्राष्ट्रिय व्यापार भएको थियो । भन्सार विभागका अनुसार यस वर्ष चाडबाडको सिजनमा आयात र निर्यात दुबैमा छलाङ आएको देखिन्छ ।

असोज मसान्तसम्म ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो आवको तुलनामा १९.७९ प्रतिशत बढी हो । गत आवको असोजसम्म ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।

यस वर्ष असोजसम्म निर्यात व्यापार ७२ अर्ब ७८ करोड पुगेको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा ८९.६४ प्रतिशत धेरै हो । गत आवको असोजसम्म ३८ अर्ब ३७ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको थियो ।

आयात निर्यात दुबै बढ्दा अन्तर्राष्ट्रिय व्यापारको आकार बढेको छ । तर, निर्यातमा उच्च वृद्धि हुँदा व्यापार घाटाको वृद्धिदर केही सम्हालिन पुगेको छ । असोजसम्म व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ । जुन अघिल्लो आवको तुलनामा १२.१८ प्रतिशतले धेरै हो । गत आवमा ३ खर्ब ५२ अर्ब रुपैयाँ व्यापार घाटा थियो ।

अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४.९६ प्रतिशतले खस्किएर ८६.५४ प्रतिशत कायम भएको छ । निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशत कायम भएको भन्सार विभागको तथ्यांक छ । असोजमा मात्र १ खर्ब ६३ अर्बको आयात भएको छ । २५ अर्बको निर्यात भएको छ ।

पेट्रोलियम पदार्थ आयात भन्दा कुल निर्यातको अंश माथि

नेपालमा सामान्यतया कुल निर्यातले पेट्रोलियम पदार्थको आयात गर्न समेत नपुग्ने स्थिति छ । तर, पहिलो तीन महिनाको तथ्यांकले भने यसमा सुधार भएको देखाएको छ । असोजसम्म नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । कुल निर्यात ७२ अर्ब ७८ करोड पुगेको देखिन्छ ।

यस अवधिमा वनस्पती, जीवजन्तुको घिउ/तेलको आयात ४० अर्ब २७ करोड रुपैयाँ बराबर हुँदा निर्यात ३५ अर्ब ३५ करोड रुपैयाँ बराबर भएको छ । इलेक्ट्रिकल मेसिनरी तथा उपकरण र त्यसका पार्टपूर्जाको आयातमा ३४ अर्ब १३ करोड रुपैयाँ विदेसिएको छ ।

फलाम र स्टीलको आयात ३३ अर्ब ५५ करोड रुपैयाँ बराबरको भएको देखिन्छ । सवारी साधनको आयात २९ अर्ब ३३ करोड रुपैयाँ बराबरको भएको छ ।

आयातको पहिलो स्थानमा सोयाविन तेल

आयातको पहिलो स्थानमा कच्चा सोयाविन तेल रहेको छ । असोजसम्म नेपालले ३० अर्ब २४ करोड रुपैयाँ बराबरको यस्तो वस्तु आयात गरेको छ । दोस्रो स्थानमा डिजेल रहेको छ । डिजेल आयात २० अर्ब ६९ करोड रुपैयाँ बराबर भएको छ । रासायनिक मल तेस्रो स्थानमा छ । जुन १७ अर्ब ११ करोड रुपैयाँ बराबरको भएको छ ।

पेट्रोल चौथो स्थानमा छ । तीन महिनामा १६ अर्ब ७६ करोड रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । खाना पकाउने एलपीजी ग्याँस १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा स्मार्ट फोन मात्र १३ अर्ब ६२ करोड रुपैयाँ बराबरको भित्रिएको छ । १० अर्ब २५ करोडको सुन आएको छ ।

निर्यातमा समेत सोयाविन तेल पहिलो स्थानमा

निर्यातमा समेत पहिलो स्थानमा सोयाविन तेल रहेको छ । असोजसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएृको छ । कार्पेट दोस्रो स्थानमा छ । जुन २ अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । तेस्रो स्थानमा सुर्यमूखी तेल रहेको छ । जुन २ अर्ब १३ करोड बराबरको भएको छ ।

भारत र चीनसँग धेरै व्यापार

अन्तर्राष्ट्रिय व्यापारमा सबैभन्दा धेरै हिस्सा भारत, चीन, अर्जेण्टिना, यूएई र अमेरिकाले ओगटेका छन् । नेपालले भारतबाट २ खर्ब ५८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ ।

५९ अर्ब १२ करोडको वस्तु निर्यात गरेको छ । चीनबाट १ खर्ब ४ अर्बको वस्तु आयात गरेको छ । निर्यात १८ करोड ६४ लाख रुपैयाँको मात्र भएको छ । अर्जेण्टिनाबाट २७ अर्ब ८९ करोडको वस्तु आयात भएको छ । जुन अधिकांश तेलको कच्चा पदार्थ हो ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?