९ कात्तिक, काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनको अग्रपंक्तिमा रहनेमध्येका थिए, बब्लु गुप्ता । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित भएको मार्चमा एउटा गाडीमाथि चढेका उनी खोपडीअंकित जापानी एनिमीको तस्वीरसहित नारा लगाइरहेका थिए ।छ
दिउँसो प्रहरीले संसद् भवनभित्रबाट गोली चलाइरहँदासमेत उनी बानेश्वर चोकमै थिए । दोस्रो दिन पनि त्यहीँ खटिए । परोपकारी समूह १०० ग्रुपसँग आबद्ध उनले घाइतेलाई अस्पतालसम्म लैजाने काममा समेत सहजीकरण गरे ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसकेको परिस्थितिमा अरू जेनजी जंगीअड्डा र राष्ट्रपति कार्यालय धाउन थाले । नागरिक सरकार गठनको बहसमा जोडिन थाले । तर बब्लु निरन्तर अस्पतालहरूमै भेटिए, घाइतेलाई सहयोग गर्दै बसे । तीनै बब्लु आइतबारबाट जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका छन् । जेनजी आन्दोलनको बलमा बनेको सरकारमा खास जेनजी उमेर समूहका व्यक्ति चाहिँ मन्त्री नबनेको भन्दै आलोचना भइरहेका बेला गुप्ताको प्रवेशले अब त्यो आलोचनालाई मत्थर गर्नेछ ।
बब्लुको विगत
सिरहाको लहान स्थायी घर भएका बब्लु गुप्तालाई उनका व्यवसायी बुबाले राम्रो शिक्षाका लागि झन्डै दुई दशकअघि काठमाडौं पठाएका थिए।
लोकन्थलीस्थित सगरमाथा स्कूलमा कक्षा ३ मा भर्ना भएका उनले त्यहीँबाट प्रवेशिका परीक्षा दिए।
आकर्षक रोजगारीको प्रलोभनमा ठगिएर खाडी मुलुक पुग्ने गाउँका युवाहरूको समस्यामा काठमाडौंमा रहेका बब्लुसँग ठोकिन थाल्यो । यसरी काठमाडौं आएपनि उनी गाउँका मानिसहरूलाई पर्ने समस्या समाधानमा जोडिन थाले ।
उनी म्यानपावर कम्पनीसँग निर्धक्क भएर कुरा राख्थे र ठगीमा परेकालाई सहयोग गर्ने कार्यले उनको सामाजिक भावनालाई सानैदेखि बीजारोपण गरेको थियो । गाउँबाट काठमाडौं आएका बिरामीहरूलाई रगत खोज्न र अन्य सामान्य अप्ठ्याराहरू फुकाउन उनले सहयोग गर्न थाले । यसरी उनलाई किशोरवयदेखि नै सामाजिक काममा जोडिनुपर्यो ।

कलेज पढिरहँदा बब्लुले देखेको एउटा दुर्घटना भने परोपकारी कर्म संस्थागत सुरुआतको ‘टर्निङ प्वाइन्ट’ बनिदियो ।
उनले करिब ९ वर्षअघि ललितपुरको ग्वार्को नजिक सडक दुर्घटनामा रगताम्ये अवस्थामा लडिरहेका एक घाइते देखे । छटपटाइरहेको घाइतेको उद्धार गर्न प्रहरी कुरिरहेका मानिसहरूलाई पन्छाएर उनले साथीहरूको सहयोगमा घाइतेलाई अस्पताल पुर्याए ।
डाक्टरदेखि परिवारजनको धन्यवाद र एउटा घाइतेको फर्किएको जीवनले उनलाई कृतज्ञ बनायो । घाइतेको उपचारका लागि अस्पताल भर्ना गर्नेदेखि औषधि किन्ने काममा संलग्न हुँदा उनले मानवीय सेवाको महत्वको गहिराई उनले त्यही दिन महसुस गरे ।
अनि जन्मियो ‘१०० ग्रुप’
गाउँबाट आएका मानिसहरूलाई वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र काठमाडौंमा बिरामी हुँदा रगतको अभाव भएकाहरूलाई सहयोग गर्न सहज होस् भन्ने उद्देश्यले बब्लुले ‘१०० ग्रुप’ नामक सामाजिक समूहको स्थापना गरे। यो समूहलाई सुरुमा रगत खोज्ने ‘सारथि’ का रूपमा धेरैले विश्वास गर्न थाले।
त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा रगत खोज्न कठिनाइ भइरहेका बिरामीका लागि यो समूहले महत्वपूर्ण सहयोग गर्यो ।
समाजको आवश्यकताले उनीहरूको परोपकारको दायरा मानवीय सेवामा पनि बिस्तार भयो । सिरहाको कल्याणपुरमा जिउँदै शरीरमा आगो लगाइएका कञ्चन मण्डलको उपचारका लागि छोटो सूचनाको भरमा अस्पतालसम्म ल्याएर उपचार गराउन बब्लुको समूहले महत्वपूर्ण प्रयास गर्यो।
उपचारका क्रममा कञ्चनको निधन भए पनि बब्लु नेतृत्वको समूहलाई समूह परिचालन र सहयोग जुटाउने क्षमता विस्तारमा त्यो एउटा परीक्षा जस्तै बन्यो ।
कोभिड–१९ महामारीमा जनसेवा
विश्वव्यापी कोभिड–१९ महामारीका बेला बब्लु गुप्ता र उनको ‘हन्ड्रेड ग्रुप’ ले राजधानीमा मजदूरी गरिरहेका र भोकै परेका विपन्न वर्गका लागि निःशुल्क खाना अभियान चलाए । सुरुमा शंखमूलमा रहेको चार आना खाली जग्गाबाट सुरु भएको यो अभियानले रत्नपार्कको खुलामञ्चमा समेत हजारौं मानिसलाई खाना खुवायो।
तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रतिवाद गर्दा विवाद भए पनि, उनीहरूले १५०० बढीलाई खाना खुवाएर मानवीयताको उदाहरण प्रस्तुत गरे।

खाना खुवाउने अभियानका साथै समूहले उपचारका लागि उपकरण अभाव भइरहेका बेला बानेश्वरको रत्नराज्य स्कूलमा चिकित्सक सहितको आइसोलेसन सेन्टर निर्माण गरेर सेवा प्रवाह गर्यो। विभिन्न व्यवसायीको सहयोगमा अक्सिजन सिलिन्डर र पछि जिल्लाहरूमा अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गरेर कोभिड महामारीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्यो।
कपडादेखि र किताब बैंकसम्म
कोभिडअघि नै बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई सहयोग गर्न ‘कपडा बैंक’ अभियान चलाए। विदेशमा सडकमा पुरानो सामान राख्ने कन्टेनर देखेर प्रेरित भई ल्याइएको यो अवधारणालाई नेपालमा व्यापक चर्चा पायो।
अनामनगरबाट सुरु भएको कपडा बैंक पछि जावलाखेल, कलंकी हुँदै रुपन्देहीको सैनामैनासम्म पुग्यो। संकलित कपडा विशेषगरी ज्याला मजदूरी गरिरहेका मानिसले आएर लैजान सक्ने व्यवस्था गरिएको थियो।
यससँगै उनले ‘किताब बैंक’ को अवधारणा पनि ल्याए, जहाँ नयाँ किताब किन्न नसक्ने विद्यार्थीलाई पुरानो किताब दिएर सहयोग गर्न सकियोस् भन्ने उद्देश्य राखिएको थियो। यसमा स्कूल, कलेजदेखि लोकसेवाका किताबहरू समेत संकलन गरिए।
यद्यपि, छुट्टै संरचना नहुँदा वर्षात्को समस्याका कारण किताब बैंकले निरन्तरता पाउन सकेन। यसबाहेक, उनले यादवलाल कायस्थ सहितको समूहसँग मिलेर लकडाउनको बेला हिटी संरक्षण, भक्तपुरमा फल्चाको मर्मतसम्भार र पोखरीको सरसफाइमा समेत काम गरेका छन्।
‘प्रोजेक्ट शिक्षा’ बाट विपन्न विद्यार्थीलाई शिक्षा
बब्लु गुप्ताको समूह अहिले ‘प्रोजेक्ट शिक्षा’ नामक नयाँ अभियानमा जोडिएको छ। यस मार्फत हन्ड्रेड ग्रुपले गरिब तथा विपन्न वर्गका ११० जना विद्यार्थी छानेर काठमाडौंमा खान, बस्न सुविधा सहित पढाइरहेको छ।
गुह्येश्वरीमा सहयोगी दाताहरूको सहयोगमा बनेको १०० ग्रुपको भवनमा ती विद्यार्थीहरूले अध्ययनको अवसर पाएका छन्। बब्लु आफैंले भने जीविकोपार्जनका लागि एक होस्टल र चियापसल चलाइरहेका छन्।
यही कामको सम्मान गर्दै अनलाइनखबरले उनलाई २०८२ सालको ४० मुनिका ४० को सूचिमा समावेश गरेको थियो ।
राजनीतिक र सामाजिक आन्दोलनमा संलग्नता
समाज सेवाका केही सीमा हुन्छन् । एउटा समाजसेवीले केही सय विद्यार्थी पढाउन सक्छ तर शिक्षा प्रणाली नै बदल्ने त राजनीतिले नै हो । एउटा समाजसेवीले केही हजार युवाको हितमा काम गर्न सक्छ । तर देशका सबै युवाको हितरक्षा गर्न राजनीतिबाट भन्दा सजिलो अरू के होला र ?
त्यही सीमितताले बब्लु गुप्ता अन्ततः समाजसेवा हुँदै राजनीतिसम्म आइपुगेका छन् । १८ वर्षको उमेरदेखि नै सेवा र न्यायका लागि खट्दै, नेतृत्व गर्दै आएका बब्लु जेनजी विद्रोह हुँदै अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।

केही मानिसलाई सेवा र केहीलाई न्यायको लागि संघर्ष गरिरहँदा समयले घिसारेर उनलाई राजनीतिमा ल्याइदिएको हो ।
उनी देशमा व्याप्त भ्रष्टाचार र बेथिति विरुद्ध आवाज उठाउने युवा आन्दोलनको अग्रपंक्तिमा रहँदै आए ।
२ असोज २०७७ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा सहभागी हुँदा बबरमहलबाट पक्राउ परेका बब्लुलाई प्रहरी नियन्त्रणमा गम्भीर घाइते हुनेगरी कुटपिट गरिएको घटनाले उनलाई थप चर्चामा ल्याएको थियो। यस घटनामा छानबिन समिति समेत बनेको थियो।
भर्खरै देशको सत्ता पल्टाउन सफल दुईदिने ‘जेनजी आन्दोलन’ को अग्रपंक्तिमा पनि बब्लु गुप्ता देखिएका थिए। माइतीघर मण्डलादेखि बानेश्वरसम्म भएको भ्रष्टाचारविरोधी मार्चमा सक्रिय उनले घाइतेलाई अस्पतालसम्म लैजाने, रगत व्यवस्थापन गर्ने लगायतका काममा सहजीकरण गरे।
जेनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जाल प्रतिबन्ध लगायत थियो । बब्लुका अनुसार, जेनजीको मुख्य माग आफ्नो पुस्ता स्वदेशमै बस्ने वातावरण बन्नुपर्छ भन्ने हो । उनी जेनजी आन्दोलनमा घुसेका घुसपैठियाहरूले देशको सम्पत्ति जलाएकोमा छानबिन हुनुपर्नेमा जोड दिँदै आएका थिए ।
अब उनी आफैं छानबिन गर्ने कामको नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन् । चुनावी सरकारको युवा तथा खेलकुद मन्त्री बनेका उनीसँग धेरै समय छैन तर पनि आफ्नो कार्यकालमा युवा पलायन रोक्ने, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र खेलकुद क्षेत्रको सुधारमा केही नयाँ सुरुवात भने गर्न सक्नेछन् ।
प्रतिक्रिया 4