News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा अग्रपंक्तिमा रहेका बब्लु गुप्ताले भ्रष्टाचारविरुद्ध र अभिव्यक्ति स्वतन्त्रताका लागि शान्तिपूर्ण प्रदर्शनको माग राखेका थिए।
- आन्दोलनका क्रममा १९ जनाको मृत्यु भयो र घाइतेलाई अस्पताल पुर्याउन १०० ग्रुपले राहत तथा रगत व्यवस्थापनमा सहयोग गरेको थियो।
- आन्दोलनपछि नयाँ सरकार बनेको छ र जेनजीले चुनावी सरकारबाट क्रमशः आफ्ना माग पूरा हुने अपेक्षा राखेका छन्।
देशको सत्ता पल्टाउन सफल दुईदिने जेनजी आन्दोलनको अग्रपंक्तिमा रहनेमध्येका थिए, बब्लु गुप्ता (२६) । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित भएको मार्चमा एउटा गाडीमाथि चढेका उनी खोपडीअंकित जापानी एनिमीको तस्वीरसहित नारा लगाइरहेका थिए ।
दिउँसो प्रहरीले संसद् भवनभित्रबाट गोली चलाइरहँदासमेत उनी बानेश्वर चोकमै थिए । दोस्रो दिन पनि त्यहीँ खटिए । परोपकारी समूह १०० ग्रुपसँग आबद्ध उनले घाइतेलाई अस्पतालसम्म लैजाने काममा समेत सहजीकरण गरे ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसकेको परिस्थितिमा अरू जेनजी जंगीअड्डा र राष्ट्रपति कार्यालय धाउन थाले । नागरिक सरकार गठनको बहसमा जोडिन थाले । तर बब्लु निरन्तर अस्पतालहरूमै भेटिए, घाइतेलाई सहयोग गर्दै ।
प्रस्तुत छ, कोभिडका बेला खुलामञ्चमा खाना खुवाउने अभियान, जाजरकोट भूकम्पदेखि बाढी-पहिरोका पीडितलाई निरन्तर सहयोग गर्दै आएको १०० ग्रुपका संयोजक बब्लु गुप्तासँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानी :
जेनजी आन्दोलनमा अंग्रपंक्तिमा रहेका अरू जेनजी जंगीअड्डा, शीतलनिवास वार्ता र नयाँ सरकार गठनको दौडधुपमा देखिए । तर तपाईं ती सबैमा देखिनु भएन नि ?
मुख्य कुरा, हाम्रो आन्दोलन भ्रष्टाचारविरुद्ध थियो । हामीले युवालाई स्वदेशमै रोजगारीको कुरासमेत उठाएका थियौं । र, अर्को मुख्य माग, सरकारले प्रतिबन्ध लगाएका सामाजिक सञ्जाल फुकुवा गर्नुपर्ने थियो । अभिव्यक्ति स्वतन्त्रतालाई खुम्चिन दिनु हुँदैन भन्ने हाम्रो प्रमुख उद्देश्य थियो ।
हामी कसैले सत्ताको लोभ गरेर गरिएको आन्दोलन थिएन । जेनजीले आफ्नो माग राखेका थिए, त्यो माग प्रणालीबाट सम्बोधन हुने हो । त्यसका लागि हामी लडेका थियौं ।
जेनजी आन्दोलनलाई विभिन्न व्यक्तिले फरकफरक रूपमा अहिले विश्लेषण गरिरहेका छन् । तर जेनजी जुन उमेर समूह हो, त्यो उमेर समूहका अधिकांश युवा शिक्षित छन् । त्यसैले हाम्रो कर्तव्य, दायित्व भनेको समस्यामा परेका साथीभाइलाई सहयोग गर्ने पनि हो ।
हाम्रा साथीभाइ गोली लागेर हस्पिटलमा छन् । उनका लागि हामी कुद्ने कि नकुद्ने ? उनका घर परिवारका आफन्त यहाँ छैनन् । हामीले आवश्यक कुराको व्यवस्थापन गर्ने कि नगर्ने ? त्यस्ता कतिपय साथीहरूका लागि हामीले खानादेखि लिएर सबै कुरा व्यवस्थापन गर्ने मेरो प्राथमिकता रह्यो ।
अरू साथीहरू ती स्थानमा भएका छलफलमा समेत सहभागी भइरहेका थिए । हाम्रा केही प्रतिनिधिलाई समेत पठाएका थियौं ।
जेनजी आन्दोलन तपाईंहरूको नियन्त्रणभन्दा बाहिर जाला, यति धेरै क्षति होला भनेर अपेक्षा गर्नुभएको थियो ?
यस्तो अपेक्षा थिएन । हामीलाई लागेको थियो, यो शान्तिपूर्ण नै हुन्छ । किनभने, माइतीघर मण्डलामा भेला हुँदै हामीले यसलाई शान्तिपूर्ण प्रदर्शन भनेका थियौं । पछि बानेश्वरसम्म आइपुग्दा अझ धेरै साथीहरूको उपस्थिति रह्यो ।
जनसहभागिता धेरै भएपछि त्यसको धेरै अनुमान नै लगाउन सकिँदैन । केही साथीहरूको अगाडि रहेका पुलिससँग धकेलाधकेल भयो । त्यसबेला हामी गाडीमै थियौं, ‘तपाईंहरू कृपया शान्त बसिदिनुस्’ भन्दै मसहित साथीहरूले अपिल गरिराखेको थियौं । तर, भिड यति धेरै थियो कि स्थिति नियन्त्रणमा राख्न निकै गाह्रो थियो ।
त्यो संख्यामा जेनजीको सहभागिता हुनुको कारण के हुनसक्ला ?
त्यसलाई दुईवटा दृष्टिकोणबाट हेर्न सकिएला । एउटा, जनतामा एकदमै नैराश्यता थियो । देशमा विदेशबाट कहिले १२००, कहिले १५०० मान्छे बाकसमा प्याक भएर आउँछन् । विद्यार्थीहरू प्लस टु र ब्याचलरसम्म मात्र पढ्छन् ।
गाउँघरतिरका निम्नवर्गीय परिवारका सदस्य आफ्नो घरखेत बिक्री गरेर छोराछोरी पढाउँछन् । तर स्वदेशमा रोजगारी पाउने अवस्था छैन । भ्रष्टाचार व्याप्त छ । नेपोबेबी अभियान चल्यो, त्यसमा नेताका छोराछोरीको जीवनशैली कस्तो थियो भन्ने देखियो । ती सबै दृश्य त आममान्छेका लागि डिप्रेसन भन्ने कि फ्रस्ट्रेसन भन्ने, त्यो स्थिति थियो ।
राजनीतिक दलले स्थायित्व दिन सकेनन्, न उनीहरूमा दायित्वबोध नै छ । हालसालै एकजना मन्त्रीको गाडीले बच्चालाई ठक्कर दियो । रोक्दै नरोकी गाडी हुइँकियो । यदि बच्चालाई ठक्कर दिने व्यक्ति सर्वसाधारण हुन्थ्यो भने राज्यले कारबाही गर्थ्यो । तर मन्त्रीको गाडी सामान्य रूपमा गयो । त्यो त विधिको शासन भएन नि । यो कुराबाट पनि जनतामा एकदमै आक्रोश थियो ।

आन्दोलनको दुवै दिन एकैपटक धेरै मानिस घाइते भए, पहिलो दिन १९ जनाको मृत्यु नै भयो । तपाईंहरूले मोटरसाइकलमा हालेरसमेत अस्पताल लैजानुभयो । १०० ग्रुपबाट पहिले गरेको राहत र उद्दारका कामले पनि त्यसका लागि प्रेरित गरेको हो ?
आन्दोलनका बेला हाम्रा साथीहरू प्रत्येक अस्पतालमा तत्काल घाइतेको सहयोगका लागि खटिएका थिए । त्यसपछि रगत व्यवस्थापनको कुरा पनि आयो । रगत व्यवस्थापनका लागि ट्रमादेखि सिभिल, केएमसीलगायत प्रत्येक अस्पतालमा गयौं ।
ट्रमामा सहयोग गर्न जाँदा त प्रहरीसँग झडप पनि भयो । उहाँहरूले छिर्न पाउनुहुन्न भन्नुभयो । हामीले भित्र रगत व्यवस्थापन नहुँदा मान्छे मर्ने स्थिति छ भन्यौं । पहिले पनि हामीले रगत व्यवस्थापनको काम गरेकाले सहज भयो ।
कतिपयले आन्दोलनमा घुसपैठ भएको हुनसक्ने आशंका गरेका छन्, तपाईंलाई के लाग्छ ?
आफ्नो व्यक्तिगत स्वार्थका लागिसमेत मानिसहरू आन्दोलनमा छिरे । जो ओरिजिनल जेनजी छ, उसका माग भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जाल प्रतिबन्धमाथि फुकुवा लगायतबाहेक अरू थिएन ।
हामीले माइकिङ गर्दा कसैले संसद् भवनमा गएर यो गर, त्यो गर भनेका थिएनौं । मान्छेलाई हान, पुलिसलाई हान भनेका छैनौं । बरू शान्तिपूर्ण रूपमा प्रदर्शन गर्नुपर्छ भनेका थियौं ।
‘ओरिनिजल’ जेनजी भन्नुभयो, त्यो भनेको के हो ?
ओरिजिनल जेनजी त्यो हो, जो शान्तिपूर्ण रूपमा देशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने माग राखेर सडकमा उत्रिए । देशमा राम्रो होस् भन्ने विचार राख्दै आए ।
यो आन्दोलनको पृष्ठभूमि सम्झिऔं । आन्दोलन पहिले सीडीओ कार्यालयमा पनि पुरुषोत्तम यादव, सबल गौतम लगायत भाइहरू गएर त्यहाँ कार्यक्रम गर्न अनुमति लिनुभएको थियो । त्यसबेला शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने भनेका थियौं । र, त्यो प्रदर्शन २८ वर्षमुनिका युवाले गर्ने भनेर दर्ता गराइएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले समेत घुसपैठ भएको संकेत गर्दै अभिव्यक्ति दिनुभएको छ, त्यसमा संलग्नहरूमाथि कसरी कारबाही होला ?
अवश्य पनि जसले देशको सम्पत्ति जलाएको उनीहरूमाथि छानबिन हुनुपर्छ । तर अर्को कुरा के ख्याल गर्नुपर्छ भने, हेर्न गएका व्यक्तिलाई समेत घुसपैठियाको ट्याग लगाउनु हुँदैन ।
कसैले आफ्नो व्यक्तिगत स्वार्थ राखेर अड्डा-अदालतहरू जलाएको छ । अहिले झट्ट हेर्दा अरू पार्टीहरूले जेनजीले मात्र यस्तो गर्यो भनेर भनिरहेका छन् । तर कतिपय ठाउँमा उहाँहरूकै पदाधिकारी समेत उपस्थित भएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि नयाँ सरकार बनेको छ । यो सरकारले तपाईंहरूले उठाएको विषय कत्तिको सम्बोधन गर्ला ?
पहिलो कुरा त जनतालाई कसरी शान्तिको अनुभूति दिलाउने भन्ने हो । प्रहरी चौकी जलेका छन्, तिनको पुनर्निर्माण कसरी गर्ने भन्ने विषय हो । नभए परिस्थिति झन् बिग्रिन सक्छ ।
अहिले काठमाडौंको कुनै ठाउँमा प्रहरीको फोर्स आउनुपर्यो भने हेडक्वार्टरदेखि आउनुपर्ने स्थिति छ । दिउँसो उहाँहरूको बेस स्टेसन बनाएर मात्र गाडीमा बस्न पाउनुभएको छ । त्यही भएर अहिले पहिलो प्राथिमकता शान्ति सुरक्षा व्यवस्थापनलाई दिनुपर्ने छ ।
अर्को कुरा, चुनावी सरकार भएकोले यसको मुख्य उद्देश्य चुनाव गराउने हो । सँगै अरू मागहरू पनि क्रमशः पूरा हुँदै जानेछन् ।

६ महिनापछि चुनाव हुँदैछ, तर त्यसबेला फेरि पुरानै दल आउने हुन् कि भन्ने कतिपयलाई डर छ । फेरि तपाईंहरूसँग चुनाव लड्न नयाँ दल पनि छैन । यस्तोमा के सोचिरहनुभएको छ ?
अहिले देशभरि भ्रष्टाचारविरोधी एउटा अभियान उठिसकेको छ । गाउँगाउँका मानिसले आवाज उठाउन थालेका छन् । आउँदो दिनमा जेनजीले दल नै खोलेर जान सक्ने अवस्था छ । सँगै प्रणालीलाई समेत जेनजीले झक्झक्याइरहनु पर्नेछ । अनि, पुराना दलका नेताहरूले पनि जेनजीको व्यापक प्रतिनिधित्व गराउनुको विकल्प नै छैन ।
अब दुईवटा कुरा हुन्छ । पहिलो, जनतालाई पनि पार्टी ठूलो कि देश भन्ने चेतना भएको छ । त्यो परिस्थितिमा जनताले प्रश्न गर्छन्, पुराना पार्टीलाई चुन्दैनन् । दलमा पनि कतिपय राम्रा मान्छे छन् । तर अब जनता आफैंले अझ नयाँ र राम्रा मानिस छान्छन् ।
तपाईंहरूलाई समेत दलका मानिसले पार्टीमा आउनुपर्यो भनेर प्रस्ताव गरिरहेको सुनिन्छ । त्यो सम्भावना कत्तिको छ ?
मलाई लाग्छ, अब उपयुक्त मान्छे उपयुक्त ठाउँमा हुनुपर्छ । त्यो भयो भने देश सप्रिन्छ । पुराना दल भनिसकेपछि मान्छेले विविध कुरा खेलाउँछ । भोलिका दिनमा देशलाई निकास दिने गरी जनताको अपेक्षालाई कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने कुरा पनि हो ।
त्यस्तोमा नयाँ पार्टी पनि खुल्न सक्छ, कतिपय व्यक्तिहरू पुरानो पार्टीमा गएर पनि चुनाव लड्न सक्छन् । कतिपय पुराना पार्टीहरूले नयाँ पुस्तालाई पनि ल्याएर फेस बनाएर अगाडि लैजान सक्छन् । त्यो त जनताले पनि चाहेको हो । तर, जुनसुकै पार्टी खुलोस्, त्यसमा नेतृत्व गर्ने व्यक्ति इमान्दार होस् ।
भर्खरै सानो आकारको मन्त्रिपरिषद् विस्तार भएको छ । त्यसमा जेनजीको प्रतिनिधित्वको कुरासमेत कतिपयले उठाइरहेका छन् । तपाईंहरूसँग छलफल भएको छ कि छैन ?
हाम्रो टिमसँग सम्पर्क भइरहेको छ । हामी अहिले जेनजीको प्रतिनिधि छनोट गर्ने क्रममा मधेश, सुदूरपश्चिम, कर्णाली सबै क्षेत्र समेटेर समावेशी ढंगले अघि बढ्न खोजिरहेका छौं । जो आन्दोलनमा एक्टिभ हुनुहुन्थ्यो, जो सक्रिय रूपले लागिरहनुभएको थियो, उहाँहरूले नै एउटा नाम सिफारिस गर्नुहुन्छ अनि पृष्ठभूमि समेत हेरेर छानेर पठाउने हो ।
तपाईं घाइतेहरूलाई अस्पताल गएर भेटिरहनुभएको छ, उहाँहरूको अपेक्षा के छ ?
उहाँका केही अपेक्षा छन्, त्यो सरकारले पूरा गर्छ भन्ने लाग्छ । जति पनि युवा अस्पतालमा हुनुहुन्छ, उहाँहरूले आफू देशमै बस्नलाई चाहन्छु भन्नुभएको छ । आमाबुवासँगै बस्न चाहन्छु, यही देशमा दशैं मनाउन मन छ भन्नुभएको छ ।
यो घटनामा जतिले ज्यान गुमाउनुभयो, उहाँहरूको बलिदान इतिहासकै धेरै ठूलो बलिदान हो । उहाँहरूको बलिदान जेका लागि भएको थियो, त्यो पूरा गराउन बाँचेकाहरूले सधैँ झक्झक्याइरहनु पर्छ ।
खासमा हामीलाई सत्ता, शक्तिभन्दा पनि ती हजारौं युवा सडकमा किन आएका थिए, उनीहरूको माग के थियो भन्ने कुरा मुख्य हो ।

अझै कतिको घाइतेको उपचार भएको छैन । कतिपयको जिन्दगी नै गएको छ, आमा रोएर बसेकी छन् । कतिको आर्थिक अवस्था एकदम कमजोर छ ।
अब राजनीति गर्नेले बोल्दा सजिलै भन्छौं, सहीद भए, देशका लागि अमर भए, तर त्यो बोल्ने कुरा एक ठाउँमा छ । परिवारको पीडा अर्को तहमा छ, जुन जोकोहीले बुझ्न सक्दैनन् ।
कतिपय जेनजी अगुवाहरूले आफूलाई सुरक्षा जोखिम भएको बताइरहनुभएको छ । कोबाट तपाईंहरूलाई जोखिम छ ?
सर्लाहीको मलंगवातिर जेनजी आन्दोलनका युवालाई कुटिएको रहेछ । पुराना दलका व्यक्तिबाट टोली बनाएर छिर्ने अनि पिट्ने काम भएको छ । काभ्रेको पनौतीदेखि पनि म्यासेज आएका थिए । बोलाएर कार्यकर्ताले पिटेको अवस्था पनि छ । यो विषयमा गृहमन्त्रालयमा पनि कुरा भएको छ । त्यसमा त्यहीँबाट केही होला ।
उहाँहरूले अझै दमन गर्नुहुन्छ भने भोलि झन् हामी उदाएर आउँछौं । प्रतिशोध साध्ने हिसाबले जाँदा कसैलाई पनि फाइदा हुँदैन । त्यसैले देशमा छिटोभन्दा छिटो विधिको शासन चाहिएको छ ।
प्रतिक्रिया 4