+
+
Shares

आन्दोलन छाडेर वार्तामा बस्न दुर्गा प्रसाईं तयार, सरकारलाई पठाए पत्र

सीडीओसहितको छलफलमा भने- तत्काल कुनै आन्दोलन छैन

ललितपुरका सीडीओ सुमन घिमिरेका अनुसार, छलफलमा प्रसाईंलाई कात्तिक १५ गतेबाट हुने भनिएको आन्दोलनको आधिकारिकता खोजी भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते २२:१०

९ कात्तिक, काठमाडौं । आगामी कात्तिक १५ गतेबाट आन्दोलन घोषणा गरेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आइतबार उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) का सीडीओसहित सुरक्षा निकायका अधिकारीहरूले छलफल गरेका छन् ।

छलफलका लागि भक्तपुरका सीडीओ नमराज घिमिरेले प्रसाईंलाई डाकेका थिए । यसअघि हिजोमात्रै प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिवलाई ब्रिफिङ गरेका थिए ।

निर्वाचन सुरक्षाको विषयमा छलफल गर्न बोलाइएका सुरक्षा निकायका प्रमुखहरूले विशेषगरी प्रसाईंले गर्ने भनेको आन्दोलन र सुरक्षा चुनौतीबारे लामो ब्रिफिङ गरेका थिए ।

सुरक्षा निकायको ब्रिफिङ सुनेपछि सरकारले आन्दोलन घोषणा गरेका सबै पक्षलाई औपचारिक रुपमै वार्तामा आउन आग्रह गर्‍यो ।

त्यसपछि आज भएको सुरक्षा निकायसहितको छलफलमा प्रसाईंले आफ्नो आन्दोलन तत्कालका लागि रोक्ने जानकारी गराएका छन् ।

ललितपुरका सीडीओ सुमन घिमिरेका अनुसार, छलफलमा प्रसाईंलाई कात्तिक १५ गतेबाट हुने भनिएको आन्दोलनको आधिकारिकता खोजी भएको थियो ।

‘उहाँको अभियानले सञ्चालन गर्ने भनेको प्रदर्शन, आन्दोलन आधिकारिक हो कि होइन भन्ने हामीले सोध्यौं,’ सीडीओ घिमिरेले भने, ‘कात्तिक १५ बाट घोषणा भएको आन्दोलन अहिले होइन भनेर उहाँले भन्नुभयो ।’

प्रसाईंले यसबीचमा सरकारसँग वार्ता गर्न आफू तयार रहेको पनि छलफलमा बताएका थिए ।

छलफलमा प्रसाईंले कतिपय राजनीतिक विषयवस्तु पनि निकालेका थिए । तर, राजनीतिक विषय आफूहरूले हल गर्ने विषय नभएको र त्यसका लागि सरकारसँग वार्ता र संवाद नै विकल्प रहेकोबारे आफूहरूले सुझाएको भक्तपुरका सीडीओ नमराज घिमिरेले बताए ।

सीडीओ घिमिरेका अनुसार प्रसाईंले कात्तिकबाट गर्ने भनेको आन्दोलन तत्काल नगर्ने र मंसिरपछि भने आन्दोलनमा नै जाने उनले बताएका थिए ।

‘कतिपय राजनीतिक कुरा छन् । कतिपय सेन्टिमेन्ट लिने खालका कुरा पनि छन् । हामीले पोलिटिकल कन्सनबारे कुरा गरेनौं,’ सीडीओ घिमिरेले भने, ‘माग पूरा गराउनका लागि जे गर्छु भनिरहनुभएको छ, त्यसले समाजमा एउटा डर सिर्जना गर्छ ।’

उनले थप भने, ‘उहाँ संवादका लागि तयार हुनुहुन्छ । अहिले प्रदर्शनको कार्यक्रम होइन भनेर भन्नुभयो । शान्ति, सुरक्षाको विषयलाई कसरी व्यवस्थापन गर्ने भन्नेतिर नै छलफल केन्द्रित भयो ।’

प्रधानमन्त्री र गृहमन्त्रीलाई पठाए पत्र

प्रसाईंले आइतबारको छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीलाई एउटा पत्र पनि पठाएका छन् । आफ्ना माग सम्बधमा भन्दै उनले ज्ञापनपत्र बुझाउनका लागि समय मिलाइदिन भन्दै सीडीओमार्फत उक्त पत्र पठाएका छन् ।

‘प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्र पनि ल्याउनुभएको रहेछ, हाम्रो माग सम्बन्धमा ज्ञापनपत्र पठाउनका लागि समय पाउँ भनेर,’ ललितपुरका सीडीओले भने, ‘गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । त्यहाँ गएर आफ्ना माग पूरा गर्न भन्नका लागि भन्नुस् भन्यौं ।’

काठमाडौंका सीडीओ ईश्वर राज पौडेलले उक्त पत्र आजै साँझ गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष बुझाइसकेका छन् । पौडेलका अनुसार, प्रसाईंले अहिले कुनै आन्दोलन घोषणा नभएको र कुनै तयारी पनि रहेको जानकारी गराएका छन् ।

तत्कालका लागि प्रसाईंले आफ्ना आन्दोलन अघि नबढाउने र वार्तापछि पनि समाधान नभए अन्तत: आन्दोलनकै बाटो रोज्ने निष्कर्ष सीडीओसहितका सुरक्षा अधिकारीहरूलाई सुनाएका छन् ।

‘त्यो आन्दोलन तत्काल नगर्ने नै कुरा भयो । एकैपटक हामी मंसिर पछाडि आन्दोलन गर्छौं भन्नुभयो,’ सीडीओ घिमिरेले भने, ‘तर यसबीचमा सरकारसँग वार्ता र छलफल गर्ने सहमति भएको छ ।’

काठमाडौंका सीडीओ पौडेलले बताए अनुसार, विषम परिस्थितिलाई ध्यानमा राख्दै अहिले कुनै पनि प्रकारका आन्दोलनका कार्यक्रम गर्न नदिने नै सरकारको रणनीति छ ।

सोही अनुसार, प्रसाईं समूहका विभिन्न गतिविधि निगरानीमा राख्दै आजको छलफल आयोजना भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?