१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका हुन् ।
देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो ।

सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए । देउवालाई भेटेका कांग्रेस नेताहरूका अनुसार उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए ।

निकटस्थ स्रोतका अनुसार, सिंगापुरमा देउवा दम्पतीले केही समय बसेर उपचार गर्नेछन् ।
यसअघि पनि देउवा दम्पती उपचारका लागि सिंगापुर पुगिरहेका हुन्थे ।

प्रतिक्रिया 4