११ कात्तिक, पोखरा । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र म्याग्दीले हिमाली क्षेत्र तथा यो क्षेत्र हुँदै पदयात्रा नगर्न आग्रह गरेका छन् ।
मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा हिमपात भएको छ । ती क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने प्रक्षेपण छ ।
त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । ‘भारी हिमपातको सम्भावना छ आगामी तीन दिन पदयात्रा नगर्नुहोला,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले पनि मंगलबारदेखि उच्च हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अपिल गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि तीन दिन हिमपातको सम्भावनालाई औंल्याएको भन्दै प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले धौलागिरी पदमार्ग, अन्नपूर्ण बेसक्याम्प, खोप्रा, खयरलेक सहित उच्च हिमाली क्षेत्रसँग जोडिएका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेका हुन् ।
मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुलाई मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ ।
तिहारको छेकोमा मुस्ताङसहित हिमाली क्षेत्रमा पदयात्रामा जाने ह्वात्तै बढेका छन् । छठसम्म बिदा भएकाले पदयात्रीको संख्या ह्वात्तै बढेको तर अब कार्यालयहरू खुलेसँगै बिस्तारै कम हुने अनुमान गरिएको छ ।
मौसम प्रतिकुल हुनसक्ने देखिएकाले सचेत गराउन र हेलचेक्र्याइँ नगर्न प्रजिअ भुसालको आग्रह छ । गण्डकी प्रदेशका केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र वर्षा हुने देखिएको छ । ‘हिमपातर वर्षाका कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमासमेत असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउनुहुन अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।
प्रतिक्रिया 4