News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारी वर्षाको सम्भावना भएकाले किसानलाई कृषि कर्म गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
- मन्त्रालयले धान काट्ने र बीउ भण्डारण गर्ने कार्य स्थगित गर्न र सुरक्षित स्थानमा राख्न सुझाव दिएको छ।
- किसानलाई बीउ छर्नुअघि सतर्क रहन र क्षतिबाट बच्न प्लास्टिक छापो लगाउन मन्त्रालयले निर्देशन दिएको छ।
११ कात्तिक, काठमाडौं । देशभरि अचानक मौसममा आएको बदली र आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना मध्यनजर गर्दै किसानहरूलाई कृषि कर्म गर्दा विशेष सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको छ ।
पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले मंगलबार विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई दिन देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले मौसमको पूर्ण जानकारी नलिई तत्कालका लागि कुनै पनि कृषि कार्य नगर्न किसानलाई सुझाएको छ । विशेषगरी धान काट्ने र बीउ भण्डारण गर्ने कार्यमा सचेत रहन भनिएको छ ।
भोलि बुधबारसम्म पानी पर्ने सम्भावना रहेकाले धान काट्ने कार्य केही दिनका लागि स्थगित गर्न र यदि धान काटिसकेको छ भने धान र पराल सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरिएको छ ।
त्यस्तै तरकारी, तोरी र आलुको बीउ छर्ने वा रोप्ने किसानलाई बीउ छर्नु वा रोप्नुअघि सतर्कता अपनाउन र विशेष ध्यान दिन भनिएको छ ।
ठूलो वर्षाका कारण भर्खरै रोपिएका बीउ बगाउन सक्ने वा माटोबाट उखेलिन सक्ने जोखिम रहने हुनाले बीउ र बालीको क्षतिबाट बच्न केही दिन पर्खिन र रोपिसकेको भए ब्याडमा प्लास्टिक छापो लगाउन उपयुक्त हुने मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयले सम्भावित क्षतिबाट बच्न किसानलाई स्थानीय सञ्चारमाध्यमहरू र सामाजिक सञ्जाल मार्फत पनि यस्ता सचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको छ ।
किसानलाई स्थानीय मौसम पूर्वानुमान र कृषि सल्लाहका लागि सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया 4