११ कात्तिक, काठमाडौं । हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले २ दशकमा ३ लाख बिरामीको उपचार गरेको छ ।
२०औं वार्षिकोत्सवको अवसरमा ६ कात्तिकमा आयोजित कार्यक्रममा अस्पतालले यस्तो जानकारी गराएको हो ।
अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा ३ लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ ।
सगरमाथा आरोहणको सम्झनामा स्थापना गरिएको यस सामुदायिक अस्पतालले हिमाली क्षेत्रका बासिन्दादेखि स्वदेशी र विदेशी पर्यटकसम्मलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको शेर्पाले बताए ।
अस्पतालले मातृस्वास्थ्य, बालस्वास्थ्य, आपत्कालीन उपचारदेखि हड्डी र आँखासम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरी नियमित सेवा प्रदान गर्दै आइरहेको अस्पतालका निर्देशक शेर्पाले बताए ।
उनका अनुसार, हिमाल आरोहण र ट्रेकिङका क्रममा घाइते हुने पर्यटकहरूलाई तत्काल रेस्क्यु गरी उपचार गर्ने व्यवस्था गरिएको छ ।
सोलुखुम्बुका चौंरीखर्क, लुक्ला, सेर्कु र नाम्चेसम्मका बासिन्दाले पनि यसै अस्पतालबाट उपचार लिँदै आएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि स्विस राजदूत डानिएला भेरोनिक मोलीले उक्त अस्पताललाई स्विस–नेपाली मित्रताको प्रतीक भन्दै प्रशंसा गरिन् ।
उनले भनिन्, ‘हिमालको मुटुमा अवस्थित यो अस्पतालले दुई दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जुन स्विट्जरल्यान्ड र नेपालको मैत्री सम्बन्धको उज्यालो उदाहरण हो।’
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले अस्पतालले स्थानीय तथा पर्यटक दुवैका लागि जीवनरक्षक भूमिका खेलेको बताए ।
‘यो अस्पतालले प्रसूति सेवा, गर्भाशय उपचार, निःशुल्क औषधि वितरण र हिमाली स्वास्थ्य सचेतनामा अमूल्य योगदान पुर्याएको छ,’ उनले भने।

स्विट्जरल्यान्डबाट आएकी अस्पतालकी संस्थापक निकोल निक्कीले २० वर्ष कसरी बित्यो पत्तै नपाएको बताउँदै स्विस दाताद्वय रब र राल्फको सहयोगमा स्थापना भएको ‘जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’ ले अस्पतालमा जन्मिएका प्रत्येक बालबालिकालाई १० कक्षासम्म वार्षिक २२० स्विस फ्राङ्क छात्रवृत्ति उपलब्ध गराइँदै आएको जानकारी दिइन् । उनका अनुसार यो वर्ष मात्रै २६१ बालबालिकाले छात्रवृत्ति प्राप्त गरेका छन्।
२५ शय्या क्षमताको यो अस्पतालमा दुई चिकित्सकसहित २५ जना कर्मचारी कार्यरत छन् ।
अस्पतालले आफ्नो २१ किलोवाटको हाइड्रोपावर र ९ किलोवाटको सोलार प्रणालीबाट विद्युत् उत्पादन गरी स्वावलम्बी रूपमा सञ्चालन गरिरहेको छ ।
आर्थिक अभाव भएका बिरामीहरूको निःशुल्क उपचार गर्ने तथा काठमाडौं रिफर गर्नुपर्ने अवस्थामा समेत आर्थिक सहयोग गर्ने परम्परा अस्पतालले निरन्तरता दिएको छ।
कार्यक्रममा पासाङल्हामु फाउन्डेशनकी अध्यक्ष तथा पूर्वराजदूत दावाफुटी शेर्पा, पासाङल्हामु शेर्पाका दाजु क्याप्टेन आङ गेलु शेर्पा, स्विसका पूर्वराजदूतसहित तीन दर्जनभन्दा बढी स्विस नागरिक उपस्थित थिए ।
यसरी भयो अस्पतालको स्थापना
राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले हिमाली समुदायका लागि अस्पताल निर्माण गर्ने सपना देखेकी थिइन् । तर, सगरमाथा आरोहणकै क्रममा उनको निधन भएपछि त्यो सपना अपूरो रह्यो ।
त्यही बेला स्विट्जरल्यान्डकी पहिलो महिला ट्रेकिङ गाइड निकोल निक्की हिमालय आरोहणको क्रममा दुर्घटनामा पर्दा लुक्लामा उनको भेट पासाङ ल्हामुका भाई आङ गेलु शेर्पासँग भयो । पछि आङ गेलु निकोलसँगै स्विजरल्याण्डमा पनि साथ रहे ।
निक्कीले पासाङ ल्हामुको अपूरो सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै करिब २५ वर्षअघि लुक्लामा अस्पताल निर्माणको पहल गरेकी थिइन् ।
फलस्वरूप दुवै महान महिलाको नाममा पासाङल्हामु निकोल निक्की अस्पताल स्थापना भयो, जसले अहिले २० वर्ष पूरा गरेको छ।
प्रतिक्रिया 4