१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारबाट फेरि सुरू हुँदैन । १ कात्तिकमा पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतम गौतमको निधनका कारण शोक प्रस्ताव पारित गर्दै बैठक १२ दिनका लागि स्थगित भएको थियो ।
गत २८ असोजदेखि सुरू भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा ३० असोजदेखि एजेन्डासहित छलफल सुरु भएको थियो । विभिन्न १० वटा एजेन्डासहित छलफल सुरु भएको बैठक दुई दिनसम्म चलेको थियो ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिरहेका थिए ।
बिहीबारदेखि सुरू हुने बैठकमा बाँकी नेताहरूले बोल्ने क्रम सुरु हुने कांग्रेसले जनाएको छ ।
बैठकमा बोल्न हरेक सदस्यलाई ११ मिनेटको समयावधि छुट्टयाइएको छ ।
यसैबीच लामो समय स्थगित भएर फेरि बैठक सुरु हुने भएपछि कांग्रेसको संस्थापन पक्षले आज (बुधबार) छुट्टै बैठक गरिरहेको छ ।
ललितपुरको धोबिखोलास्थित एक होटलमा दिउँसो १ बजे बैठक बस्ने संस्थापन पक्षीय एक केन्द्रीय सदस्यले जानकारी दिए ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसअघि सोही होटलमा ३० असोज, ८ कात्तिक र हिजो (मंगलबार) संस्थापन पक्षीय नेताहरूसँग छलफल गरेका थिए ।
कांग्रेसमा आगामी मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने माग चर्कोसँग उठिरहेको छ ।
कांग्रेसमा झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेर लिखित निवेदन पनि परेको छ ।
प्रतिक्रिया 4