+
+
Shares

अस्पतालसँग सहमति भएसँगै मिनाश्रीको शव खोटाङ लैजाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १४:००
फाइल तस्वीर

१३ कात्तिक, काठमाडौं । अस्पतालसँग सहमति भएसँगै मिनाश्री राईको शव खोटाङ लैजाने तयारी भएको छ ।

सुत्केरी गराउने क्रममा गत शुक्रबात राति मिनाश्रीको ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गर्दा अस्पतालमा तनाव ग्रस्त भएको थियो । आक्रोशित भीडले अस्पताल तोडफोड समेत गरेका थिए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको थियो ।

अस्पताल प्रशासनले मृतक मिनाश्रीको दुई वटा बच्चालाई १२ कक्षासम्म निःशुल्क पढाइदिने, मृतकको परिवारलाई १५ वर्षसम्म स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने सहमति भएको मृतकका दाजु देवेन्द्र राईले अनलाइनखबरलाई जानकारी दिए ।

अस्पतालसँग सहमति भएसँगै अन्तिम संस्कारका लागि मिनाश्रीको शव गाउँ लैजाने तयारी भइरहेको उनले बताए ।

उनले भने, ‘अन्तिम संस्कारका लागि बहिनीको शव खोटाङ लैजाने तयारी भइरहेको छ । हेलिकप्टरको व्यवस्था पनि मिलाइसकेका छौं । तर मौसम खराब भएका कारण अहिलेसम्म जान सकिरहेका छैनौं ।’

घटना के थियो ?

चिकित्सकले दिएको समयमै सुत्केरी गराउन मिनाश्री गत शुक्रबार बिहान ९ बजे किष्ट अस्पताल पुगेकी थिइन् ।

तर, साँझ साढे ५ बजेसम्म पनि मिनाश्रीलाई सुत्केरी बेथा नलागेको उनका दाजु देवेन्द्र राई बताउँछन् । राति साढे ९ बजेतिर एक्कासि इन्टर्नसिप गरिरहेका चिकित्सकले जबरजस्ती नर्मल डेलिभरी गराउँदा ब्लिडिङ नरोकिएर बहिनीको मृत्यु भएको देवेन्द्र बताउँछन् ।

आफूहरूसँग सल्लाह नै नलिई आफू खुसी इन्टर्नसिप गरिरहेका डाक्टरले सिकाइका लागि आफ्नो बहिनीलाई नर्मल डेलिभरी गराउँदा मिनाश्रीले ज्यान गुमाउनु परेको उनले दुखेसो पोखे ।

देवेन्द्रले भने, ‘मिनाश्रीले गर्भवती अवस्थामा नियमित किष्ट अस्पतालमै चेकअप गराएकी हुन् । उनी नियमित हेर्ने चिकित्सकको सल्लाहबमोजिम नै ९ कात्तिकमा डेलिभरी गराउन अस्पताल भर्ना भएकी हुन् । बहिनी र बच्चाको स्वास्थ्य अवस्था राम्रै थियो । तर बहिनी अस्पतालको चरम लापरबाहीको सिकार बन्न पुगिन् ।’

ओभर ब्लिडिङकै कारण बहिनीको मृत्यु भएको भन्दै देवेन्द्र भने, ‘हामीलाई झुक्याउन राति दुई पटकसम्म अस्पतालले अपरेसनको नाटक समेत गर्‍यो । यो त चरम लापरबाही होइन र ?’

बहिनीको अपरेसनमा पनि सिनियर चिकित्सकहरू सहभागी नभएको उनको आरोप छ । उनले भने, ‘ओभर ब्लिडिङ भइरहेको छ । पहिलो अपरेसनमा पनि ब्लिडिङ रोकिएन । फेरि अर्को अपरेसन गर्नुपर्छ भने । बहिनीको ज्यान बच्छ भने गर्नुस् भन्यौं । अनेकौं प्रयास गरेर रातरात नै फ्रेस ब्लडको व्यवस्था पनि गर्‍यौं । तर बहिनीलाई बचाउन सकेनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?