+
+
Shares
विचार :

एयरपोर्ट गेट, जेनजी आन्दोलन र नेपाली भविष्य

‘नेता खराब भए’ भनेर गाली गर्नु सबैभन्दा सजिलो हो। तर ‘असल नेता’ छान्ने विवेक प्रयोग गर्नु सबैभन्दा गाह्रो काम हो। अबको चुनाव, केवल सरकार बदल्ने होइन। यो हाम्रो ‘विवेक’ को परीक्षा हो।

 प्रकृति ढकाल  प्रकृति ढकाल
२०८२ कात्तिक १४ गते ९:५३

हरेक दिन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान गेटमा एउटा सानो नेपाल छुटिरहेको देखिन्छ। आमा आँसु पुछ्दै हुनुहुन्छ। एक युवा काँधमा जिम्मेवारीभन्दा भारी झोला बोकेर उभिएको छ। अन्तिम पटक फर्केर हात हल्लाउँदा उसको अनुहारमा आशाभन्दा बढी अनिश्चितता र मौन प्रश्न देखिन्छ: ‘के मेरो देशले मलाई यति पनि दिन सक्दैनथ्यो ?’

अब यस्तो दृश्य हाम्रो लागि सामान्य भइसकेको छ। यो हाम्रो वास्तविकता हो, जुन सधैं चलिरहन्छ। हामीले यसलाई चुपचाप स्वीकार गरेका छौं। हामी त्यही युवाले पठाएको रेमिट्यान्समा टिकेर, चियापसलमा ‘देश विकास भएन’ भनेर गफ हाँक्छौं।

तर कहिलेसम्म ?

यो प्रश्नको एउटा विस्फोटक जवाफ हामीले गत भदौ २३ र २४ गते राजधानीदेखि देशका गाउँ–शहरहरूको सडकमा देख्यौं। त्यो कुनै राजनीतिक दलको ‘शक्ति प्रदर्शन’ थिएन। त्यो त वर्षौंदेखि थुप्रिएको, दबिएको र थिचिएको आक्रोशको विस्फोट थियो जुन ‘जेन-जी’ (Gen-Z) पुस्ताको अग्रसरतामा भयो।

त्यो भीडमा ती युवाहरू थिए जोसँग दुईवटा मात्र विकल्प थिए: एन.ई.बीबाट एन.ओ.सी लिने वा रोजगार विभागको श्रम स्वीकृति लिने अनि एयरपोर्टको त्यही ‘प्रस्थान’ गेटको लाइनमा लाग्ने, वा सडकमा आएर ‘सिस्टम’ लाई नै प्रश्न सोध्ने र चुनौती दिने। उनीहरूको यो पुस्ताले आँट गरेर यो पटक दोस्रो बाटो रोजे।

यो एउटा यस्तो पुस्ताको विद्रोह थियो, जसले पुराना नेताहरूका ‘त्याग’ र ‘बलिदान’ का कथाहरू पत्याएन। किन ? किनभने उनीहरूले भोगेको यथार्थ फरक थियो। उनीहरूले भोगेको त केवल नेताहरूको ‘भ्रष्टाचार’, ‘अक्षमता’ र एउटा पूरै ‘सिस्टम’ को असफलता थियो।

उनीहरूले भोगेको त के थियो भने वैधानिक प्रशासनिक कामका लागि र आफ्नो सर्टिफिकेट बमोजिमकै सामान्य जागिरका लागि समेत भोग्नुपरेको ‘सोर्स-फोर्स’ को प्रताडना थियो। उनीहरूले देखेको त ठूला-ठूला भ्रष्टाचारका काण्डहरूमा नेताहरूले एक-अर्कालाई गरेको ‘लेनदेन’ र ‘उन्मुक्ति’ थियो। र पछिल्लो दशकको सरकार गठनको म्युजिकल चेयर अनि जो जिते पनि दिने चाहिं चर्को अनि छुद्रता समेतको खोक्रो आश्वासनले भरिएको भाषण।

#ExposingNepoKids मार्फत जब भ्रष्टाचारको नाङ्गो छताछुल्ल भयो, उनीहरूले आफ्नो वर्तमान र भविष्यमाथिको अन्याय देखे, उनीहरूमा चिन्ता जाग्यो र उनीहरूले भ्रष्टाचार रहित सुशासनको माग गरे, अनि राज्यले उनीहरूलाई सुन्नुको साटो उनीहरूकै आवाज दबाउन खोज्यो।

भदौ २३ र २४ को त्यो घटनाले एउटा कुरा स्पष्ट पारेको छ: हाम्रो वर्तमान नेतृत्व र नयाँ पुस्ता बीचको खाडल हामीले सोचेभन्दा धेरै गहिरो रहेछ। नेतृत्वले त्यो आक्रोशलाई बुझ्नै सकेन र बुझ्न पनि खोजेन। उनीहरूले त्यसलाई ‘बाह्य शक्तिको चलखेल’ वा ‘केही अराजक तत्वको भीड’ भनेर खारेज गर्न खोज्नु नै उनीहरूको ‘राजनीतिक दिवालियापन’ को सबैभन्दा ठूलो प्रमाण थियो।

उनीहरू एउटा यस्तो भाषा बोलिरहेका थिए, जुन नयाँ पुस्ताले बुझ्दैनथ्यो। र, नयाँ पुस्ताले जुन भाषामा प्रश्न गरिरहेको थियो, त्यो सुन्ने ‘इच्छाशक्ति’ नेतृत्वसँग थिएन।

यो केवल अर्को चुनावमा अर्को अनुहार छान्ने कुरा होइन। यो देशको ‘अपरेटिङ सिस्टम’ नै फेर्ने कुरा हो। र, त्यो सिस्टम फेर्न सक्ने ‘अपरेटर’ को खोजी हो।

यो अवस्थाको जिम्मेवार को हो ?

आज हामी जहाँ छौं, यो कुनै आकस्मिक दुर्घटना होइन। यो हाम्रा नेताहरूको दशकौं लामो ‘कर्मफल’ हो। यो देशमा जे-जति राम्रो भयो – गणतन्त्र, संघीयता, समावेशिताको संवैधानिक स्वीकारोक्ति – त्यसको श्रेय उनीहरूलाई जाला। तर, ठीक त्यसैगरी, आज देशले भोगिरहेको हरेक पीडा, हरेक असफलता र हरेक भ्रष्टाचार काण्डको पहिलो र अन्तिम जिम्मेवार पनि यही नेतृत्व वर्ग नै हो।

उनीहरूले व्यवस्था त बदले, तर अवस्था बदल्ने ‘इच्छाशक्ति’ कहिल्यै देखाएनन्। उनीहरू सधैं ‘सत्ता’ को ‘म्युजिकल चेयर’ मा व्यस्त रहे। एउटालाई ढाल्ने, अर्कोलाई चढाउने र फेरि उसैलाई ढाल्न गठबन्धन बनाउने खेलमा उनीहरू यति मग्न भए कि जनताको जीवन, युवाको भविष्य र देशको अर्थतन्त्र उनीहरूको प्राथमिकतामा कहिल्यै परेन।

बीपी कोइरालाले भन्नुभएको थियो, “देश भन्नुहोस् वा राष्ट्र, त्यो भूगोल होइन, त्यो यथार्थमा जनता हो।” तर हाम्रो नेतृत्वले सधैं सत्तालाई प्रेम गर्‍यो, ‘जनता’ लाई लोकतान्त्रिक पद्धतिको वैधानिकीकरणको निम्ति भोट बैंकको रूपमा मात्र प्रयोग गर्‍यो। जनतालाई स्वास्थ्य, शिक्षा र रोजगारी दिनुको सट्टा उनीहरूलाई ‘आफ्नो/नजिकको मान्छे’ र ‘कार्यकर्ता’ बन्ने तालिम दिइयो। ‘सिस्टम’ बलियो बनाउनुको सट्टा ‘नेता’ बलियो बनाउने होड चल्यो र नीतिगत भ्रष्टाचार मौलाउँदा त त्यो ‘सिस्टम’ नै नेताको खल्तीमा अटाउन खोजियो।

परिणाम ? देश आर्थिक रूपमा परनिर्भर, सामाजिक रूपमा विभाजित र राजनीतिक रूपमा अस्थिर छ। युवाहरूमा देशप्रति चरम ‘वितृष्णा’ छ। ‘राम्रो चालकले पुरानो गाडी पनि गन्तव्यमा पुर्‍याउँछ, तर खराब चालकले नयाँ गाडी पनि दुर्घटनाग्रस्त बनाउँछ’ भने झैं, हाम्रोमा व्यवस्था जतिसुकै राम्रो भने पनि, चालक (नेता) को नियत र क्षमतामाथि सधैं प्रश्न उठ्यो तर कहिलै सच्चिएनन्। भदौ २३ र २४ को घटना त्यही असफल ड्राइभिङको ‘टिपिङ पोइन्ट’ हो।

अब प्रश्न उठ्छ: “अबको नेता कस्तो?” यो प्रश्नको उत्तर त्यही भदौ विद्रोहको मागमा लुकेको छ। त्यो सडकको विद्रोहले एउटा कुर्सी खाली गरेको छ, एउटा ‘भ्याकुम’ (राजनीतिक शून्यता) पनि सिर्जना गरेको छ। र गम्भीर र जरूरी प्रश्न पनि छोडेको छ, त्यो कुर्सीमा बस्ने ‘अबको नेता’ कस्तो हुनुपर्छ? उसको ‘क्यारेक्टर’ (चरित्र) र ‘भिजन’ (दूरदृष्टि) कस्तो हुनुपर्छ ?

यो केवल अर्को चुनावमा अर्को अनुहार छान्ने कुरा होइन। यो देशको ‘अपरेटिङ सिस्टम’ नै फेर्ने कुरा हो। र, त्यो सिस्टम फेर्न सक्ने ‘अपरेटर’ को खोजी हो।

हामीलाई ‘सुनाउने’ नेता धेरै भए, अब ‘सुन्ने’ नेता चाहिएको छ।

पहिलो, धैर्य

हामीलाई ‘सुनाउने’ नेता धेरै भए, अब ‘सुन्ने’ नेता चाहिएको छ। हामीले भाषण गर्ने, आश्वासन बाँड्ने र ‘मैले यसो गरें’ भनेर आफ्नो गुणगान गाउने नेताहरू धेरै भोग्यौं। अब हामीलाई एउटा यस्तो नेता चाहिएको छ, जोसँग बोल्ने ‘कला’ भन्दा धेरै सुन्ने ‘धैर्य’ होस् र त्यसलाई बुझ्ने ‘सामर्थ्य’ पनि।

जसले जेन-जीको आक्रोशलाई सुन्न सक्छ। जसले उनीहरूको ‘किन?’ भन्ने प्रश्नको सम्मान गर्न सक्छ। जसले पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्न सक्छ। र, सबैभन्दा महत्वपूर्ण, जसले यी दुई पुस्ताबीच ‘संवाद’ को पुल बन्न सक्छ।

अबको नेताले एउटा यस्तो “राज्य जसले सुन्छ” को अवधारणा स्थापित गर्न सक्नुपर्छ। जहाँ नागरिकको गुनासो सुन्नका लागि सहज वातावरण होस्। जहाँ नीतिनिर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता होस्। जहाँ सडकमा उत्रिनुअघि नै नागरिकको आवाज ‘सिस्टम’ भित्र सुनियोस्, जसले सदनलाई ‘शून्य’ र सुत्ने ठाउँ होइन जनताको आवाज सुन्ने-सुनाउने ठाउँ बनाओस् कार्यपालिकालाई झक्झकाउने ठाउँ होस्। केवल ‘लोकतन्त्र’ विचारमा मात्र होइन एक्सनमा पनि देखियोस्।

दोस्रो, ‘साहसी’

शायद सबैभन्दा महत्वपूर्ण, हामीलाई इमान र त्यो इमान आफू र आफ्नो मातहतमा लागू गर्ने ‘साहस र बुद्धि’ भएको नेता चाहिएको छ।

भ्रष्टाचार हाम्रो राष्ट्रिय दीर्घरोग हो। यो कुरा सबैले भन्छन्। यो यति धेरै पटक दोहोरिएको छ कि यो एउटा ‘क्लिशे’ भइसकेको छ। तर अबको नेताले ‘म भ्रष्टाचार गर्दिनँ’ भनेर मात्र पुग्दैन। त्यो त ‘बेसिक’ योग्यता हो। उसले ‘भ्रष्टाचार गर्नेलाई छोड्दिनँ’ भन्ने साहस देखाउनुपर्छ र त्यसलाई कानूनी कारबाही समेत गराउने बौद्धिक सामर्थ्य हुनुपर्छ, चाहे त्यो व्यक्ति आफ्नै पार्टीको किन नहोस्, आफ्नै नातेदार वा आफ्नो फन्ड डोनर नै किन नहोस्।

यो रोगको उपचार ‘सर्जरी’ले मात्र सम्भव छ। र, त्यो निर्मम ‘सर्जरी’ गर्ने आँट भएको नेता हामीलाई चाहिएको छ। उसले ‘आफ्ना मान्छे’ होइन, ‘कामका मान्छे’ रोज्नुपर्छ। उसमा यतिको राजनैतिक बोध हुन जरूरी छ कि राज्य सञ्चालन र संगठन सञ्चालन फरक विषय हुन् जसकारण यिनमा फरक–फरक क्षमता र प्रकारका व्यक्तित्वको खाँचो पर्न सक्छ। त्यसैले राज्य सञ्चालन प्रक्रियामा छाती ठूलो राखेर क्षमतालाई हेर्न सेलेक्सन पुल राज्यलाई बनाउनुपर्छ र संगठन सञ्चालनको लागि सेलेक्सन पुल संगठनलाई वा भनौं कार्यकर्तालाई प्राथमिकता दिन पनि सक्छन् वा अझ छाती चौडा नै राखी ल्याट्रल इन्ट्रीको अभ्यास गर्दै संगठन पनि बलियो समयसापेक्ष बनाउन सक्छन्।

हामीले बुझ्न जरूरी छ कि दीर्घकालमा चुस्त लोकतान्त्रिक संगठनले मात्र लोकतान्त्रिक राज्यको लागि नेतृत्व दिन सक्छ। यो त्यतिबेला मात्र सम्भव छ, जब नेताले ‘योग्यता प्रणाली’ र ‘समावेशिता’ लाई सँगसँगै हिंडाउन सक्छ। दुःखद् तर यथार्थमा हाम्रोमा समावेशितालाई ‘आरक्षण’ र ‘पार्टीको कोटा’ मा सीमित गरियो। तर अबको नेताले बुझ्नुपर्छ कि ‘समावेशिता’ भनेको ‘आफ्नो’ मान्छेलाई नभई देशको हरेक कुना र हरेक समुदायबाट ‘उत्कृष्ट’ प्रतिभालाई उजागर गरी सही स्थानमा नेतृत्व जिम्मेवारी उपलब्ध गराउने हो। यो नैतिकता र इमानको राजनीतिको सुरुवात हो।

तेस्रो, ‘भिजनरी’

हामीलाई नेपालको माटो सुहाउँदो ‘भिजन’ र ‘रोडम्याप’ भएको नेता चाहिएको छ। यो ‘भिजन’ शब्द हाम्रा नेताहरूले बोलेर निकै ‘सस्तो’ भइसकेको छ। हरेक चुनावमा ‘युरोप र सिंगापुर’ का सपना बाँडिन्छ।

अबको नेताले यहाँको माटो–ढुङ्गामा टेकेर, उत्तर-दक्षिण तथा पश्चिम-पूर्वको वायुलाई महसुस गरेर, यहाँको धान, फापर, कोदो, अदुवा, अलैंची, चियाकफी चाखेर, पालमदेखि देउडा सुनेर, थोराङ्ला, शे–फोक्सुन्डो, बडिमालिका, जानकी नगरी, कन्चनजङ्घा देखेर, अविरल बहने नदीको र विदेशिएको ऊर्जा जोखेर, खासा-सुनौली जोडेर, पैयुँ, प्यागोडा, त्रिपिटक, गोपालदेखि राणाहुँदै २००७ सालदेखि २०६३ देखि जेन-जेडसम्म, सुगौलीदेखि बेत्रावतीदेखि किरीबाटीसम्म बुझेर, देवनगरीदेखि तिब्बतियन-बर्मोलाई आत्मसात् गरेर नेपाल, नेपाली र संसार सुहाउँदो विकासको भिजनबाट अब भने हाम्रो नेपाल सगरपारिको राष्ट्र, मरेपछिको स्वर्ग हैन, समृद्ध नेपाल बन्नुपर्छ हाम्रै पालामा।

आजको सबैभन्दा ठूलो समस्या आर्थिक वा राजनीतिक मात्र होइन, ‘मनोवैज्ञानिक’ पनि हो। ‘यो देशमा केही हुँदैन’ भन्ने जुन गहिरो ‘वितृष्णा’ छ, त्यो सबैभन्दा खतरनाक छ।

तर अबको नेतासँग सपना मात्र होइन, त्यो सपना पूरा गर्ने ‘रोडम्याप’ हुनुपर्छ र टिम पनि हुन उत्तिकै जरूरी छ। व्यक्तिगत र राष्ट्रियस्तरमा आर्थिक समृद्धिको स्पष्ट खाका हुनुपर्छ।

रेमिट्यान्सले देश लामो समयसम्म चल्दैन र चलाउनु पनि हुँदैन भन्ने उसलाई थाहा हुनुपर्छ। उसले ‘उत्पादनशील अर्थतन्त्र’, ‘ज्ञानमा आधारित समाज’ र ‘हरित ऊर्जा’ को विषय बुझ्नुपर्छ। उसले परम्परागत सोचभन्दा बाहिर गएर, स्रोतको सिर्जनाको लागि इनोभेसन र परिचालनका लागि लोकतान्त्रिक विधि अनुसरण गर्न सक्नुपर्नेछ।

यसको सानो उदाहरण हो, ‘स्टार्ट-अप’ खोल्न खोज्ने युवालाई ‘लाइसेन्स’ को लागि कोठा कोठा दौडाउने वर्ष एक जति कुराउनुको सट्टा, उसलाई ‘ट्याक्स छुट’ वा ‘पेमेन्ट डिले’ लगायतको सुविधा दिएर प्रोत्साहन गर्ने। ‘इनोभेसन’ लाई भाषणमा होइन, बजेटमा र नीतिमा स्थान दिनु।

चौथो, विश्वसनीय

ऊ हालको निराशालाई चिर्दै व्यक्तिगतदेखि राज्य तहसम्म ‘विश्वास’ स्थापित गर्न सक्ने आशावान् हुनुपर्छ।

आजको सबैभन्दा ठूलो समस्या आर्थिक वा राजनीतिक मात्र होइन, ‘मनोवैज्ञानिक’ पनि हो। ‘यो देशमा केही हुँदैन’ भन्ने जुन गहिरो ‘वितृष्णा’ छ, त्यो सबैभन्दा खतरनाक छ।

अबको नेताको पहिलो काम भनेको यही गुमेको विश्वासलाई पुनर्स्थापित गर्नु हो। उसले राजनीतिक ‘सिस्टम’ र व्यक्तिगत तथा राष्ट्रिय ‘भविष्य’ माथिको विश्वास फर्काउन सक्नुपर्छ।

यो काम भाषणले हुने जति हिजोका नेताहरूले गरिसके तर अब ‘डेलिभरी’ ले मात्र हुन्छ विकल्प छैन। उसले जेन-जी क्रान्तिको साँचो माग— ‘भ्रष्टाचाररहित सुशासन’ — लाई सम्बोधन गर्न सक्नुपर्छ। उसले देखाउन सक्नुपर्छ कि ‘इमानदार’ भएर नै हो राजनीति गर्ने र ‘सफल’ पनि हुन सकिन्छ। महात्मा गान्धीले भने झैं, “तिमी संसारमा जुन परिवर्तन देख्न चाहन्छौ, त्यो आफैं बन।” अबको नेताले त्यो ‘परिवर्तन’ को भार बोक्न, सम्प्रेषण गर्न र प्रतीक हुन सक्नुपर्छ।

उसले आफू मात्र बलियो बन्ने होइन, ऊ जहाँ उभिएको छ, त्यहाँ रहेका अरू नेता र संस्थाहरूलाई पनि बलियो बनाउन सक्नुपर्छ। उसले अदालत, अख्तियार र प्रहरी जस्ता संस्थाहरूलाई ‘आफ्नो’ बनाउने होइन, ‘जनताको’ बनाउन मद्दत गर्नुपर्छ। त्यस लगायत विभिन्न संस्था र निकायहरूलाई पनि समयसापेक्ष बनाउनुपर्छ, अप-ग्रेड गराउनुपर्छ र सबै भन्दा महत्वपूर्ण स्वतन्त्र स्वचालित बनाउनु र रहन दिनुपर्छ। फोकटको राजनीतिक हस्तक्षेप र कार्यकर्ता भर्तीकेन्द्र बन्नुबाट सदाका लागि अन्त्य गरिनुपर्छ, त्यस्तो व्यवस्था स्थापित गर्नुपर्छ।

अन्त्यमा, ‘स्वाभिमान’ पुनःस्थापन गर्न सक्ने

उसले हाम्रो ‘स्वाभिमान’ फर्काउन सक्नुपर्छ। अन्तर्राष्ट्रिय मञ्चमा बोल्दा ‘नेपाली हुँ’ भन्दा गर्व लाग्ने बनाउनुपर्छ। सन्तुलित र परिपक्व कूटनीति उसको हतियार हुनुपर्छ। यो ‘भूराजनीतिक’ जटिलताको फाइदा उठाउँदै, देशको ‘स्वार्थ’ लाई केन्द्रमा राखेर अघि बढ्न सक्ने हुनुपर्छ, कुनै ‘क्याम्प’ मा लागेर होइन। अहिले नेपालका प्रतिनिधिहरू यु.एन. लगायतमा आफ्नो विचार राख्दा त्यो सभा खाली देख्दा हामीलाई लज्जा महसुस हुन्छ तर त्यही यु.एन. को शान्ति सेनाबारे कुरा हुँदा हामी गमक्क पर्छौं।

हो त्यस्तै अब गुर्खा र खुकुरीको पहिचान मात्र होइन ती हाम्रो पुर्खाले कमाए अब यस शताब्दीमा हाम्रो पहिचान जीवनयापनको इनोभेसन गर्ने मुलुक, संसारलाई विचार र विज्ञको मुलुक भन्ने पहिचान निर्माण गर्नुछ। ‘ज्ञान नपाए नेपाल जानु’ भन्ने एक गुरु राष्ट्रको स्थापना गर्नु छ अनि त्यसबखत बल्ल इतिहास र वर्तमानमा हामीले गर्व गर्न सक्ने एक राष्ट्र नेपाल बन्ने छ। हाम्रो स्वाभिमान पुनः स्थापित हुनेछ।

उसले परिवर्तनको चाहना राख्ने तर नेतृत्व नपाएका पुरानो र नयाँ दुवै पुस्तालाई सँगै हाँक्न सक्नुपर्छ। उसले पुरानो पुस्ताको ‘अनुभव’ र नयाँ पुस्ताको ‘ऊर्जा’ लाई जोड्न सक्नुपर्छ।

नेता आकाशबाट झर्दैन

हामी एउटा नयाँ इतिहासको सँघारमा उभिएका छौं। भदौ २३ र २४ ले पुरानो अध्यायको अन्त्य र नयाँ अध्यायको सुरुवातको घोषणा गरेको छ। यो बुझ्ने, बुझाउने र नबुझ्ने जिम्मा सबै हाम्रै हो।

तर यो नयाँ अध्याय लेख्न ‘अबको नेता’ कुनै आकाशबाट झर्ने ‘अवतार’ भने पक्कै होइन। ऊ हामी जस्तै नागरिक हो। ऊ यही समाजको उत्पादन हो। तर उसको सोच, उसको इमान, उसको साहस र उसको भिजनले, उसको विश्वसनीयता लगायतले उसलाई ‘नेता’ बनाउँछ।

जननेता मदन भण्डारीको एउटा भनाइ छ, “सिद्धान्तलाई व्यवहारमा लागू गरिंदैन भने तिनीहरूको दुईपैसाको मोल हुँदैन।” हामीले सिद्धान्तका ठूला कुरा गर्ने होइन, व्यवहारमा साना तर महत्वपूर्ण परिवर्तन गर्ने नेता खोजेका हौं। भदौ २३ ले एउटा अध्याय बन्द गरेको छ। अबको चुनावले नयाँ अध्याय लेख्ने पालो हाम्रो हो।

तर, यस्तो नेता खोज्ने, चिन्ने र स्थापित गर्ने अन्तिम जिम्मेवारी फेरि पनि हामी मतदाताकै हो। यदि हामीले फेरि पनि पुरानै गल्ती दोहोर्‍यायौं, यदि हामी फेरि पनि पूर्व संगठनमै अड्कियौं र क्षणिक लाभमा बिक्यौं भने ‘अबको नेता’ को यो खाका केवल कागजको पानामा सीमित हुनेछ।

‘नेता खराब भए’ भनेर गाली गर्नु सबैभन्दा सजिलो हो। तर ‘असल नेता’ छान्ने विवेक प्रयोग गर्नु सबैभन्दा गाह्रो काम हो। अबको चुनाव, केवल सरकार बदल्ने होइन। यो हाम्रो ‘विवेक’ को परीक्षा हो।

प्रश्न नेताको मात्र होइन, प्रश्न हाम्रो विवेकको पनि हो। भ्रष्टाचाररहित सुशासन दिनेलाई भोट दिन तयार रहौं, जिम्मेवार नागरिक बनौं।

– वैकल्पिक राजनीति र सामाजिक काममा रुचि राख्ने ढकाल सिस्टम थिंकिङ ट्रेनर हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?